सिनामंगलको होटलमा मृत भेटिएका जोडी श्रीमान-श्रीमती, क्यानडाबाट हिजै आएका थिए – Nepal Press

सिनामंगलको होटलमा मृत भेटिएका जोडी श्रीमान-श्रीमती, क्यानडाबाट हिजै आएका थिए

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलमा आज मृत भेटिएका युवा र युवती पति-पत्नी भएको खुलेको छ । प्रहरीका अनुसार उनीहरू हिजोमात्रै क्यानडाबाट फर्किएर होटलमा बसेका थिए ।

सुनसरीको दुहवी-८ घर भएका ३४ वर्षीय रमेश माझी र उनकी पत्नी मोरङ घर भएकी २९ वर्षीया शर्मिलाकुमारी माझी होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । हिजो बेलुका करिब साढे ६ बजे होटलमा आएका उनीहरू रमेश माझीको नामबाट चौथो तल्लाको कोठा नम्बर १२० बुक गरी बसेका थिए ।

आज बिहान साढे ७ बजे सोही कोठा पछाडि बार्दलीमा रहेको स्टिलको रेलिङमा दुवैजना एउटै पासाेमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । दुवैजना एउटै सलको पासो लगाई १२० नम्बरको कोठाको बाहिरपट्टि रहेको बरण्डाको बार्दलीमा झुण्डिएको अवस्थामा अनुसन्धान टोलीले फेला पारेको हाे ।  उक्त कोठा भित्रबाट लक/चुकुल लगाइएकाे थियाे ।

उनीहरु दुवै सन् २०२२ मा क्यानडा गएकाे राहदानीबाट देखिएको छ । दुवैजना गत ८ गते कतार एयरलाइन्सको QR646 मार्फत नेपाल आएका थिए ।

थप अनुसन्धानको लागि दुवै शवलाई पाेस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। परिवार सुनसरीबाट काठमाडौको लागि प्रस्थान गरेको प्रहरीले बताएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर