एनपीएलमा भित्रिए ३९ विदेशी खेलाडी, अब कति थपिन्छन् ? (सूचीसहित)
पोखराले पुर्यायो ६ विदेशी खेलाडीको कोटा, काठमाडौंले पनि नथप्ने
काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फेन्चाइच टोलीले धमाधम विदेशी खेलाडी भित्राइरहेका छन् । एनपीएलको प्रावधानअनुसार एक टोलीले अधिकतम ६ जना विदेशी खेलाडी राख्न पाउनेछन् । तीमध्ये अधिकतम ४ विदेशी खेलाडीलाई प्लेइङ-११ मा राख्न पाइनेछ । सोही बमोजिम टोलीले आफ्नो आवश्यकताअनुसार विदेशी खेलाडी भित्राइरहेका छन् ।
हालसम्म ३९ विदेशी खेलाडी एनपीएलका लागि अनुबन्ध भइसकेका छन् । अझै केही खेलाडी थप हुनेछन् । हालसम्म अनुबन्ध भएका सबैभन्दा ठूलो नाम भारतका शिखर धवन हुन् । भारतका पूर्व ओपनरसमेत रहेका धवनलाई कर्णाली क्याक्सले ठूलो रकममा टोलीमा भित्राएको हो । धवनले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले प्रत्येक खेलको ३० हजार अमेरिकी डलरको दरले पारिश्रमिक पाउने गरी सम्झौता भएको छ ।
लिगका लागि न्युजिल्याण्डका मार्टिन गप्टिल, जिमी निशम, नामिबियाका जान निकोल लोफ्टी इटन, नेदरल्यान्ड्सका माइकल लेभिट, स्कटल्यान्डका माइकल लिस्क र ब्रान्डन मक्मलेन जस्ता चर्चित खेलाडीहरु अनुबन्ध भएका छन् । तर, यी खेलाडीको पारिश्रमिक भने सार्वजनिक गरिएको छैन ।
पोखरा एभेन्जर्सले मात्र ६ विदेशी खेलाडी अनुबन्ध गरेको छ । विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्सले ५–५ र कर्णाली याक्स र सुदुरपश्चिम रोयल्सले ४–४ विदेशी खेलाडी अनुबन्ध गरेका छन् । पोखराको कोटा पुरा हुँदा काठमाडौंले थप खेलाडी नभित्र्याउने बताएको छ । अन्य टिमले भने खेलाडी भित्राउने विषयमा कुराकानी चलिरहेको प्रतिक्रिया दिए ।
‘५ खेलाडी भित्राइसकेका छौं । एक खेलाडीसँग छलफल त भएको छ । तर, आउने नआउने टुंगो लागेको छैन,’ लुम्बिनी लायन्सका मालिक ईश्वर जिसीले नेपाल प्रेससँग भने । ५ खेलाडी भित्राएका अन्य टोली पनि छलफल भएपनि टुंगोमा नपुगेको बताए । ४ खेलाडी भित्राएको कर्णाली याक्सले थप दुई खेलाडी भित्राउने तयारी छ ।
‘हामीले अब दुई खेलाडी भित्राउने तयारी गरेका छौं । एकजना शिखर धवनको रिप्लेसको रुपमा भित्राउछौं । अर्का एकजना पनि भित्राउछौं,’ कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेले भने । ४ विदेशी खेलाडी भित्राएको सुदूरपश्चिमले थप खेलाडी भित्राउने खासै तयारी नगरेको जनाएको छ । सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले भने, ‘हामीले अहिलेसम्म ४ खेलाडी भित्राएका छौं । थप खेलाडी भित्राएर बेन्चमा राख्ने हाम्रो योजना छैन । इन्जुरी भएको अवस्थामा खेल्ने गरी कुराकारी चाहीँ भएको छ ।’
यी हुन् एनपीएलका लागि भित्रिने ३९ खेलाडी
विराटनगर किंग्स
मार्टिन गप्टिल (न्युजिल्याण्ड), क्रिस सोल (स्कटल्याण्ड), निकोलस किर्तोन (क्यानडा), अकिव इल्यास (ओमान) र इस्मात आलम (अफगानिस्तान) ।
जनकपुर बोल्ट्स
शोएब मक्सुद (पाकिस्तान), जिमी निशम (न्युजिल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) र जोशुआ ट्रम्प (अमेरिका) ।
चितवन राइनोज
मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), रवी बोपारा (इंग्ल्यान्ड), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान) र जान निकोल लोफ्टी इटन (नामिबिया) ।
काठमाडौं गुर्खाज
नाथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स) र जेहार्ड एरासमस (नामिबिया) ।
पोखरा एभेन्जर्स
म्याट क्रिचली (इंग्ल्यान्ड), बास डे लिडे (नेदरल्यान्ड्स), एण्डरसन फिलिप (वेष्ट इन्डिज), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड) र आन्द्रेस गौस (अमेरिका) ।
लुम्बिनी लायन्स
बेन कटिङ (अस्ट्रेलिया), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), उन्मुक्त चन्द (अमेरिका) र साद विन जाफर (क्यानडा) ।
कर्णाली याक्स
शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), चाडविक वाल्टन (वेस्ट इन्डिज) र बाबर हायत (हङकङ) ।
सुदूरपश्चिम रोयल्स
सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), ब्रान्डन मक्मलेन (स्कटल्यान्ड) र रोहन मुस्तफा (युएई) ।