वैदेशिक रोजगारबाट फर्केकालाई व्यवस्थापन गर्ने मागसहित प्रधानमन्त्रीलाई रिटर्नी फेडेरेसनको १६ बुँदे ज्ञापन पत्र – Nepal Press

वैदेशिक रोजगारबाट फर्केकालाई व्यवस्थापन गर्ने मागसहित प्रधानमन्त्रीलाई रिटर्नी फेडेरेसनको १६ बुँदे ज्ञापन पत्र

रिटर्नी हेर्ने छुट्टै सरकारी संरचना र सहुलियत कर्जाको माग

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरुको सामाजिक, आर्थिक, राजनीतिक समायोजन र पुनर्स्थापनाका लागि क्रियाशील फेडेरेसनले आइतबार प्रधामन्त्री ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

जसमा विदेशबाट फर्केकालाई व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्न भनिएको छ । सातै प्रदेश, ६३ जिल्ला र २५४ पालिकामा आफ्नो सञ्जाल विस्तार गरेर रिटर्नीहरुको पहुँच विस्तार गरिरहेको फेडेरेसनले प्रधानमन्त्री समक्ष रिटर्नीहरुले गरेका उद्यमहरुलाई स्टार्टअप सपोर्ट उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ । त्यस्तै, विभिन्न १६ बुँदामा रिटर्नीहरुले कसरी देशलाई योगदान गर्न सक्छन् र उनीहरुले आफ्नो र परिवारका लागि कसरी स्थापित हुन सक्छन् भन्ने माग र सुझावसहित फेडेरेसनले ज्ञापन पत्र बुझाएको हो ।

फेडरेसनका अध्यक्ष उत्तम अधिकारीले नेपालको श्रम आप्रवासनको चक्र अपुरो रहेको उल्लेख गर्दै त्यसको पूर्णताका लागि रिटर्नीको व्यवस्थापनको विषय थप गरि श्रम आप्रवासनको राष्ट्रिय नीतिलाई पूर्णता दिनुपर्ने बताए ।

ओली नेतृत्वको सरकारले इतिहासमै पहिलो पटक रिटर्नीलाई सम्बोधन गरेर २०७५/०७६ को बजेटमा ब्यबस्था गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रचण्ड नेतृत्वको सरकारले रोकेर रिटर्नीहरुको उद्यमशीलताको यात्रालाई प्रहार गरेकोले सहुलियत कर्जा कार्यक्रमको निरन्तरताको माग गरेको छ ।

त्यसैगरी, अध्यक्ष अधिकारीले उद्योग मन्त्रालयले व्यवस्था गरेको स्टार्टअप कर्जा कार्यक्रममा रिटर्नीहरुलाई निश्चित संख्या तोकेरै कर्जा उपलब्ध गराउन आग्रह गरे ।

फेडेरेसनले राजदुत तथा अन्य कर्मचारी पठाउँदा दलिय आस्थाका आधारमा नभई श्रम कूटनीतिका जानकार, श्रममैत्री, योग्य, सक्षम र दक्ष व्यक्ति पठाउने संस्कारको थालनी गर्न पनि माग गरेको छ । त्यस्तै, रिटर्नीलाई सम्बोधन गर्न छुट्टै संरचना बनाउन पनि फेडेरेसनले आग्रह गरेको छ ।

नेकपा (एमाले) केन्द्रीय सदस्य तथा फेडेरेसनका इन्चार्ज डा. कृष्ण बहादुर केसीको नेतृत्वमा भएको भेटघाटमा फेडेरेसनको विशेष प्रकाशन रिटर्नी जागरण हस्तान्तरण गरेका थिए । कार्यक्रममा फेडेरेसनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, प्रदेश अध्यक्षहरु, उपत्यकाका जिल्लाबाट प्रतिनिधित्व रहेको थियो। मङ्सिर ७ र ८ मा सम्पन्न फेडेरेसनको चौथो केन्द्रीय कमिटीको बैठकले लिएका महत्वपूर्ण निर्णयहरु समेत फेडेरेसनले एमाले अध्यक्ष समेत रहेका प्रधानमंत्री ओलीलाई जानकारी गराएको छ ।

यस्तो छ ज्ञापन पत्रः

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *