ओलाङचुङगोला डायरी : हुकर सर ! ओलाङचुङगोला चिटिक्क सफा भएको छ है
काठमाडौं । कोही आउनुपर्ने समयमा नआएमा भनिन्थ्यो- ‘के ओलाङचुङगोलाबाटै आएको हो ?’ यसरी बाल्यकालबाटै दुर्गमताको बलियो बिम्ब थियो ओलाङचुङगोला ।
सायद यही भएर होला फालुथाङ्काको ४,६०० मिटर उचाइबाट ओर्लंदै ३,२०० मिटर हाराहारीको ओलाङचुङगोला गत कात्तिक ५ को साँझमा आउँदा थकान थकान जस्तो लागेन । दाहिने खुट्टा पोलेर दुई वटा ट्रेकिङ पोलमा दुःखले गरेको यात्राका सबै कुरा बिर्सिएर मैले गोलामात्रै सम्झिएँ । गोलाका रैथाने डाक्टर सन्दुक रुइत सम्झिएँ । गोला क्षेत्रमा कुनै बेला बसेका खाम्पा लडाकु सम्झिएँ । ढिला बन्दै गरेको त्रिदेशीय मार्गको मुकाम सम्झिएँ । २०१६ सालमा खुलेको आधारभूत विद्यालय, २०४५ सालमा स्थापना भएको प्रहरी चौकीदेखि २०५५ सालमा स्थापना भएको स्वास्थ्य चौकीसम्मका धेरै कुरा सम्झिएँ ।
सबैभन्दा धेरै चैँ हुकरलाई सम्झिएँ । हुकर अर्थात् चार्ल्स डार्विनका मित्र तथा यो क्षेत्रमा १७६ वर्ष अगाडि आएका जोसेफ डाल्टन हुकर । चाल्र्स डार्विनले ल्याएका सिद्धान्तहरु ‘थ्योरी अफ नेचुरल सेलेक्सन’ र ‘अन दि ओरिजिन अफ स्पेसिस’को कडा प्रतिरक्षा गर्नेमा एक थिए हुकर । उनले दक्षिण एसियाली वनस्पति क्षेत्रको अध्ययनमा धेरै नाम कमाएका छन् । उनको अध्ययनको एक क्षेत्र गोला थियो ।
उसो त गोला मेरो कल्पनामा मात्रै सीमित थिएन । मैले बोकेको किताबमा पनि गोला आएको थियो । सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’मा पनि गोला मसँगै गोलाकै कुरा गरिरहेको थियो । पुस्तकको पेज नम्बर २८ मै भनिएको छ, ‘अझ पूर्वको ओलाङचुङगोला चल्तीको नाका थियो ।’
हुकर सर पुस्तक अद्यावधिक गरौं : ओलाङचुङगोला सफाचट छ
हुकरको कुरा गोला पुग्नु अगाडि नै हाम्रो यात्राका पायोनियर तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर तथा चर्चित लेखक अर्जुनबाबु माबोहाङले निकालेका थिए । यात्रामा जानु अगाडि उनले मलाई फोनमै भनेका थिए, ‘हुकरको किताब चैँ बोक्नु है ! गोलाबाट हुकरकै रुट होला जस्तो छ ।’
सन् १८४८ अक्टोबर २७ मा ५६ जनाको लावालस्कर लिएर हुकर बेलायत शासित दार्जिलिङबाट इलाम हुँदै पूर्वी नेपाल छिरेका थिए । नोभेम्बर २३ मा हुकर गोला आएका थिए । यो भनेको हामी पुगेको (सन् २०२४ अक्टोबर २१) भन्दा १७६ वर्ष १ महिना २ दिन अगाडि । त्यो बेला हुकरले गोलाबारेमा तीतो टिप्पणी गरेका थिए । नोभेम्बर २३ को डायरीमा गोलाबारेमा हुकरले भनेका छन्, ‘यस गाउँका असल व्यवहार भएका, तर शरीर नै गन्हाउने गरी मैलाधैला भएर बसेका तिब्बती जातिको भीड छ ।’
हुकरको यो टिप्पणी म गोला पुग्दा केही संकेत पाइएन । चिटिक्क परेको लुगाफाटो लगाएकाहरु थिए । ठाउँठाउँमा धारा थिए भने पानी घट्ट पनि बस्तीको बीचमा थियो ।
अरु त अरु, फालुथाङकाबाट गोला पुग्दापुग्दै बस्तीको सुरुमै कुहिने र नकुहिने फोहोर छुट्याएर राखिने काला र निला भाँडा राखिएको थियो । भाँडाको माथि बोर्डमा लेखिएको थियो, ‘फोहोर मलाई ।’
सफा गाउँले र सफा गाउँ देखेपछि हुकरलाई भन्नैपर्यो- ‘हुकर सर ! ओलाङचुङगोला चिटिक्क सफा भएको छ है ।’
हुकरले पूर्वी नेपालका वनस्पतिको पुस्तक निकाले । र, सन् १८५० मा जंगबहादुर बेलायत यात्रा जाने क्रममा कोलकाता पुग्दा त्यो किताब उपहार दिए । जंगबहादुरका पुत्र पद्मजंगले लेखेको जंगबहादुरको जीवनी ‘लाइफ अफ महाराजा श्री जंगबहादुर अफ नेपाल’ पुस्तकमा उल्लेख भएअनुसार हुकरले सन् १८५० मार्च २० मा पूर्वी नेपालको वनस्पति अध्ययनको पुस्तक हस्तान्तरण गरेका थिए । उनले ओलाङचुङगोलाको बारेमा तीतो लेखेको जंगबहादुरले पढ्ने कुरै भएन । उनलाई अंग्रेजी आउँदैन थियो । अंग्रेजले अनुवाद गरेर त्यो पक्कै सुनाएनन् । सुनाएको भए जंगबहादुरको प्रतिक्रिया के हुन्थ्यो होला ? यो अनुमान अनुमानमै रह्यो ।
१७४ वर्ष अगाडि जंगबहादुरको हातमा परेको हुकरको अंग्रेजी भाषाको पूर्वी नेपालको वनस्पतिको पुस्तक नेपाली भाषामा आउन १७२ वर्ष कुर्नुपर्यो । दुई वर्ष अगाडि बुक हिल प्रकाशनले छापेको किताबलाई हस्त गुरुङले अनुवाद गरेर नेपाली भाषामा ल्याएका छन् । हाम्रो ज्ञानको यात्रा कति ढिलो हुन्छ भन्ने एक ज्वलन्त उदाहरण यो किताबको अनुवाद यात्रा हो ।
तमोरले निलेको डाक्टर रुइतको घर, आफन्त भन्छन्- गरिब होइनन् उनी
नेपालका विश्वविख्यात डाक्टर सन्दुक रुइतको जन्मगाउँ हो फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ को ओलाङचुङगोला । सन्दुक रुइतको पुस्तक ‘बेयरफुट सर्जन’मा अस्ट्रेलियाली पत्रकार अलि ग्रिपरले लेखेको पढेर जानकारी पाएको मलाई गोलामा आउनासाथ सोधेको पहिलो ठेगाना उनै रुइतको थियो । रोचक कुरा, धेरैले रुइत चिनेनन् । आँखाको डाक्टरभन्दा चिनेका केहीले गलत घर देखाए ।
अन्ततः भेटियो रुइतको घर । रुइत जन्मेको घर तमोरले निलेर बाँकी रहेको पुर्ख्यौली घर हेरियो । तस्बिर खिचियो । घरमा भेटिए रुइतका आफन्त छेतेन शेर्पा । पहिलो स्थानीय चुनावमा वडा नम्बर ७ का अध्यक्षमा एक भोटले जितेका उनी नेपाली कांग्रेसका युवा नेता हुन् ।
नेपाल-भोट व्यापारमा जोडिएका उनलाई मैले ‘डाक्टर रुइतलाई अलि ग्रिपरको किताबमा गरिब भनिएको छ, त्यसो हो’ भन्दा उनले सीधै नकारे । उनले डाक्टर रुइत जन्मजात धनी भएको र गाउँ नबिर्सेको बताए । केही वर्ष अगाडि आएर गुम्बामा सहयोग गरेको छेतेनले सुनाए । रुइतका आँखा शिविरका सवाल सुनाए ।
ओलाङचुङगोलाको फेदीबाट बग्छ तमोर । तमोरले क्रमशः हात लम्ब्याउँदै गोलाको जग्गा तान्दै गयो । तान्दा पीडित हुनेमा डाक्टर रुइतको घर पनि पर्यो । कुनै बेला २०० परिवार भएको बस्तीमा अहिले ५५ घरमात्रै भएको स्थानीयले सुनाए । गोलालाई जोगाउन गोलाको शीरमा भएको ङाग्युर दिकी छ्योलिङ गुम्बाका बुद्ध प्रार्थनाले मात्रै पुग्ने छनक छैन । यसमा त स्थानीय सरकार, प्रदेश र संघ सरकारले आड भरोषा दिनुपर्छ, तर दुःख त यो छ कि चुनावमा भोट माग्न पनि आएका थिएनन् पालिका अध्यक्ष । आफ्नै आँगनको सरकारले चुनावमा त ख्याल गरेनन् । अरु ठूल्ठूला र परपरका सरकारहरुले के गर्लान् ?
धेरैजसो गोलाका स्थानीय काठमाडौं, दार्जिलिङ र अमेरिका गएको भन्दै छेतेन भन्छन्, ‘यहाँ चुनाव खर्च धेरै लाग्छ । त्यही भएर यो पालि सर्वसम्मत गरियो ।’
गत वर्ष एक भोटले चुनावमा हराएका उम्मेदवारलाई नै सर्वसम्मत बनाउन छेतेनले सहयोग गरे । देशमा कांग्रेस र एमाले फरकफरक कित्तामा जाँदा किन सर्वसम्मत गर्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘दाजुभाइहरु राजनीतिक कारणले किन झगडा गर्नु ? किन धेरै खर्च गर्नु भनेर हो ।’
यस्तो लाग्छ अहिले सिंहदरबार चलाउन मिलेका कांग्रेस-एमाले पहिल्यै मिलेको एक सानो उदाहरण छेतेनहरुले चुनावताकै देखाइसकेका थिए ।
गुम्बामा भेटिएका जर्मन वैज्ञानिकसँग राजनीतिक गफ
उनी वैज्ञानिक । म पत्रकार । उनी जर्मन । म नेपाली । फरक पेशा र फरक राष्ट्रियता भए तापनि राजनीतिले हामीलाई जोड्यो । जर्मनीका वैज्ञानिक स्टेफेन रुसेन्सचुक क्यामेरासहित ओलाङचुङगोलाको ङाग्युर दिकी छ्योलिङ गुम्बामा भेटिए । अभिवादन आदानप्रदानपछि कुन देशको भन्दा उनले जर्मनीको भने । जर्मनी सुन्नासाथ सन् २००२ बाट निरन्तर जर्मनीको फुटबल फ्यान भएको भन्न मैले छुटाउने कुरै भएन ।
जर्मनीका निवर्तमान नेतृत्व र वर्तमान नेतृत्वको तुलना गरेर सोधिहाले, ‘मर्केल सही थिइन् कि सोल्ज ?’ उनले मर्केलको खासै तारिफ गरेनन् । सोल्जको कडा आलोचना गरे । अक्टोबर २२ मा गुम्बामा वैज्ञानिक स्टेफेनले व्यक्त गरेको भावना एक सर्वेमै पनि व्यक्त भएको थियो । एक महिना अगाडि (सेप्टेम्बरमा) यूरोन्यूजले एक सर्वेक्षण साभार गर्दै लेखेको थियो- जर्मनीका चान्सलर ओलाफ सोल्जलाई मन पराउने जर्मनहरुको प्रतिशत १८ मात्रै थियो । इन्फ्राटेस्ट डिम्यापले गरेको सर्वेक्षणले यो भन्थ्यो कि हरेक १०० जर्मन नागरिकमा ८२ जनाले सोल्जलाई पटक्कै मन पराउँदैनन् । १८ जनाले मात्रै मन पराउँछन् । त्यही ८० प्रतिशतभन्दा धेरै मन नपराउने हिस्साका एक अनुहार थिए वैज्ञानिक स्टेफेन ।
सोल्जबारेमा हाम्रो समान धारणा बुझेपछि मैले धक नमानी भने- ‘मलाई पनि जर्मनीकी परराष्ट्रमन्त्री एनालेना बाइरबोक पटक्कै मन पर्दैन । उनी ग्रिन पार्टीकी हुन्, तर कार्बन उत्सर्जन गर्ने एकल जहाज लिएर हिँड्छिन् । रुस र चीनलाई गाली गर्न चैँ माहिर छिन् ।’
वैज्ञानिक स्टेफेनले स्थानीय समाचार आएको कुरा जोड्दै भने, ‘उनको मेकअपमै जर्मनीका करदाताको धेरै रकम खर्च भएको छ ।’
जर्मनीको विश्व च्यानल डीडब्ल्यू हेर्दाको जानकारीलाई भरपूर प्रयोग गरेर मैले जर्मनीको राजनीतिबारेमा सोधिरहें । उनले टिप्पणी गरिरहे । मैले पनि टिप्पणी गरिरहे । गुम्बामा हामीले गुम्बाको कुरा गर्न बिर्सियौं । उनको गुम्बा भ्रमणको खास कारणबारेमा धेरे गफिन पनि भ्याइएन । जे होस्, राजनीतिले मान्छे विभाजनमात्रै गर्दैन, जोड्छ पनि । जस्तो फरकफरक देश, महादेश र सभ्यताका जर्मन वैज्ञानिक स्टेफेन र नेपाली पत्रकारलाई यो गुम्बामा जोडिरहेको थियो ।
भोटे-शेर्पा गाउँका नेवार लामा
प्रेम कहानीहरु उपन्यास र चलचित्रहरुमा मात्रै हुँदैनन् । हाम्रै आसपास पनि हुन्छन् । मलाई अञ्जान मान्छेका प्रेम कथा सुन्न मज्जा लाग्छ । विवाहका सवाल सुन्न रोचक लाग्छ । यसै मेसोमा गोलाको मध्य बस्तीको दर्ता नम्बर ७० को टिप्ताला होमस्टेका साहु र साहुनीको प्रेम जिज्ञासा सुरु भयो । लजालु साहुनी छिलामु आगन्तुकको सत्कार र सेवामा उदार थिइन् । प्रेमकथा भन्नमा अनुदार ।
रौसे उनका पति लोप्साङ भने उदार भए । उनले आफ्नो मात्रै कथा भनेनन् । आफ्ना हजुरबासम्मको भने । श्रीमतीले नभन्न भन्दाभन्दै उनले आफ्नो पहिलो विवाह असफल भएर दोस्रो सफल भएको भन्न भ्याए । पहिलो विवाह सोलुमा पर्यटकसँग जाँदा उतैको महिलासँग भएको र त्यो बेला गाउँकै प्रेमिका छिलामुलाई धोका दिएको कन्फेसन गरे उनले । पछि सोलुको श्रीमतीसँग औपचारिक पारपाचुके गरेर गाउँमा आएर माफी मागेर छिलामुसँग फेरि जोडिएर विवाह गरेको उनले हाकाहाकी सुनाए ।
यसरी सुनाउने लोप्साङको स्वर, आफन्त, छरछिमेकी, ससुराली र मामल सबै भोटे समुदाय हो । उनी आफैं चैँ नेवार समुदायका हुन् । उनले आफ्ना प्रहरी हजुरबा यता आएर प्रेम विवाह गरेर यतै बसेको सुनाए । नागरिकतामा श्रेष्ठ लेख्ने उनलाई आफ्नो श्रेष्ठ जरो दोलखातिर भएको भन्नेसम्म सामान्य सूचना छ, तर उनी भोटे संस्कृतिमा मिसिइसके । काठमाडौं पुगेर लामा पढेका उनी त गाउँकै ङाग्युर दिकी छ्योलिङ गुम्बाका लामा हुन् । लामा हुन पनि विभिन्न उम्मेदवारहरुमा चिट्ठा गर्दा उनी परेका थिए । उनको वेतन व्यवस्था गर्ने डाक्टर सन्दुक रुइत नै हुन् ।
सांसारिक जीवनमा विवाह गरेको, पारपाचुके गरेको र फेरि विवाह गरेर होमस्टे चलाउने लामा बन्न मिल्छ भन्ने प्रश्न खस्न नपाउँदै चुलोको आगो लाइन राखेर ताप्ने आगन्तुकहरुलाई लोप्साङले एकै लाइनमा भने, ‘कतिपय गुम्बामा मिल्दैन । यहाँको गुम्बामा मिल्छ ।’
गोलासँग चिनियाँ साइनो : व्यापार र विकासमा उदार, विवाहमा अनुदार
ओलाङचुङगोला चीनसँगको भूगोल र भावनाले नजिक भएको गाउँ भन्न त्यहाँ पुग्दा थाहा भैहाल्छ । गोलामा उभिएका चिनियाँ नम्बर प्लेटका डोजर, तेल ट्याङ्कीदेखि स्थानीय पसलमा पाउने चुरोटदेखि चाउचाउसम्ममा चिनियाँ अक्षर देखिन्छ । धेरैका नातेदार चीनमा छन् । जस्तैः ओलाङचुङगोला गाविस हुँदाका उपाध्यक्ष चुम्बे शेर्पाको ससुराली चीन हो ।
हामी बसेको होमस्टेकी साहुनी छिलामोको मावली चीन हो । मावली देशसँग हर्ष र विस्मात दुवै छ छिमाको । उनले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दिएको सीमाका बासिन्दाको लागि प्रवेश पास लिएर चीनको बजार जाँदा चिनियाँले राम्रो व्यवहार गर्छन् । सीमामा इन्ट्री गरेर बजारमा बेच्न लगिएका सामान नबिके चिनियाँ सुरक्षाकर्मीले किन्दिछन्, तर विवाह र कुटुम्ब बनाउने मामिलामा भने अब चिनियाँ अनुदार देखिएका छन् । चीनसँग विवाह गर्ने बाटो सन् २०१२ पछि बन्द भएको छ ।
अचम्मै लाग्ने कुरा चैँ यो छ कि विराटनगरको मान्छेले बेइजिङ र सप्तरीको मान्छेको सांघाईको अनुहारसँग विवाह हुनसक्छ । यस्ता टाढाटाढाका प्लेनबाट पुगिने गन्तव्यमा विवाह गर्न उदार चीन पैदलबाट पुगिने गन्तव्यमा विवाह खुला गर्न राजी देखिएको छैन । जबकि नेपाल र चीनको रोटीबेटीको सम्बन्धको शताब्दीऔं पुरानो विरासत बोक्ने यिनै सीमाका गाँउहरु हुन् । ती गाउँहरुले बनाएका विवाहका कुटुम्बेरी सम्बन्धहरु हुन् ।
अब चिनियाँलाई माइत, मावल र ससुराली बनाउने दिन सकिएको छ । चीन ससुराली भएका चुम्बेका अनुसार पहिले पहिले सबैजसो खानेकुरा नेपालबाट जाने र नेपालीहरुसँग विवाह गर्ने रुचि सीमा क्षेत्रका चिनियाँलाई थियो । उनी भन्छन्, ‘नेपालभन्दा कम विकास भएकोले नेपालमा विवाह गर्न खोज्ने धेरै हुन्थे । अहिले त उल्टो भयो ।’
चीन सरकारले जनता पालेको, तर नेपालमा जनताले सरकार पालेको भन्दै चुम्बेले भने, ‘सरकारबाट पालिएपछि सरकारले भनेको मान्नुपर्छ । जनताबाट पालिएपछि सरकारले जनताले भनेको मान्नुपर्छ ।’
छिलामुले कोभिडपछि चीनमा आफन्त भएर जान पनि सकस भएको सुनाइन् । जान त पाइन्छ । आफ्न्तसँग भेट पनि हुन्छ, तर हुने तरिका छिलामोलाई मनपरेको छैन । उनी भन्छिन्, ‘क्वारेन्टाइन जस्तो ठाउँमा राखेर आफन्तसँग भेट हुन्छ । घरमा जान दिँदैन ।’
पूर्ववडा अध्यक्ष छेतेनले चीनले विकासमा खुलेर सहयोग गरेको बताए । डोजर दिने, तेल दिने र ट्रयाक खोल्न चीनले उदारता देखाएको भन्दै उनले भने, ‘चीनले त ठूलो बाटो बनाउन प्रस्ताव लेउ नै भनेको छ, तर नेपालतर्फबाटै काम भएको छैन ।’
नेपाली सीमा बल : सडक, सञ्चार र सुविधाका दुर्बल
२०७७ असोजमा गोलामा सशस्त्र प्रहली बल बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भयो । निरीक्षकको कमान्डमा चल्ने बीओपीका सात हाकिममा अहिलेका नयाँ हाकिम माधव खत्री छन् । असोजमा आएका उनी नयाँ हुन् । गुम्बा जाने बाटोमा रहेको अस्थायी मुकाममा घाम ताप्दै थिए खत्री । भन्दै थिए, ‘खास स्थायी बीओपी त माथि मौवाटारमा हो । यहाँबाट १२ किलोमिटर माथि छ ।’
खत्रीले चिनियाँ सीमाबाट पनि मौवाटार १२ किलोमिटर हाराहारी नै भएको बताए । उनले आफू कमान्डमा आएपछि सीमा गस्तीमा गएको सुनाए । चिनियाँ पक्षलाई जानकारी नदिइकन गएका थिए । उनीहरुले ७९ नम्बरको पिल्लर हेर्दा सरर चिनियाँहरु गाडीमा आए । जानकारी नदिइकन जाँदा चिनियाँहरु आएको बारेमा खत्रीले भने, ‘उहाँहरुको २४ घण्टा निगरानी गर्ने सीसीटीभी क्यामेरा हुँदोरहेछ । हामी पुगेको देखेर आउनुभयो ।’
चिनियाँ समकक्षीले राम्रो व्यवहार गरेको भन्दै खत्रीले केही सहयोग चाहिए खुलेर माग्न चिनियाँले भनेको सुनाए । खासमा यस्तो वचन सशस्त्र प्रहरी बलको बीओपी टोलीले चिनियाँबाट होइन, आफ्नै सरकारबाट पाउनुपर्ने हो, तर त्यस्तो देखिएन । स्तरीय सडक, २४ घण्टा निगरानी हुने खालका सीसीटीभी, बलियो टेलिफोन तथा इन्टरनेट सेवा टड्कारै आवश्यक देखियो । निरीक्षक खत्री भन्दै थिए, ‘एउटा फोटो पठाउन धेरै कुनुपर्छ ।’
सडकको कुरै नगरौं । तमोर करिडोरको तल्लो धनकुटा र पाँचथरतर्फको भागमा केही पिच हुँदैछ, तर मासथ गोला क्षेत्र पुग्नै सकस छ । गोलाबाट ६ घण्टा हाराहारी पैदल यात्रामा आउने इलाडाँडासम्म मात्रै गाडी जान्छ । त्यहाँमाथिको बाटोमा गाडी कुद्ने स्तरको छैन । पहिरोले बाटो भताभुङ्ग छ । बाटोको हालत देख्दा यस्तो लाग्छ- यो नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छिटो पुग्ने त्रिदेशीय राजमार्गको ट्रयाक होइन । यो त एक वडाबाट अर्को वडा जोड्ने सबैभन्दा ढिलो ट्रयाक हो । सायद त्यही भएर होला सम्पादक तथा लेखक बसन्त बस्नेतले गोलाको यो यात्रा सकेपछि हेडलाइन बनाए, ‘प्रधानमन्त्रीकै पहल कुरिरहेको ओलाङचुङगोला सडक ।’