जितपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत काफ्लेको रिट खारेज, नयाँ पठाउने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले बाराको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेलेको रिट खारेज गरिदिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतले नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विरुद्धमा दिएको अदालतको अवहेलनाको अर्को रिट माग दाबी नपुगेको भन्दै अदालतले खारेज गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ३ माकाफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । उक्त निर्णयका विरुद्धमा काफ्लेले सर्वोच्च अदालतमा दिएको रिटको सुनवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले खारेज गरेको हो ।
त्यसैगरी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रिक्त सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्र भारतीलाई भदौ २७ मा पठाउने निर्णय गरेको थियो । सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव उर्मिला काफ्लेले उक्त निर्णयको विरुद्धमा पनि सर्वोच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन । उक्त रिटको सुनवाई गदै रिटमा मागदावी नपुगेको भन्दै सर्वोच्च अदालतले खारेज गरेको हो । दुबै रिट न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले नै खारेज गरेको हो ।
सर्वोच्च अदालतले रिट खारेज गरेसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि बाटो खुला भएको छ भने उपसचिव उर्मिला काफ्लेले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी छोडेर फर्किनुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो निर्णयले बिरेन्द्रदेव भारतीलाई सहसचिबको दरबन्दिमा पठाउने निर्णय गरेकोले मन्त्रालयले पुनः भारतीलाई पठाउने सम्भावना छ ।