चीन भ्रमणको तयारीबारे सरोकारवालासँग परामर्श गर्दै प्रधानमन्त्री
काठमाडौं । आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गर्ने भएका छन् । अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले छलफलका लागि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई बोलाएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने गृहजिल्ला गोरखामा भएका कारण छलफलमा सहभागी नहुने भएका छन् ।
उनले प्रधानमन्त्रीलाई आफू सहभागी हुन नसक्ने भन्दै दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भू-रणनीतिक, भू-आर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्ने सुझाव दिएका छन् ।
भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आफ्नो सार्वभौमसत्तालाई भ्रमणका क्रममा पनि ख्याल राख्न पनि सुझाएका छन् ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् ।