भन्सार दर घटेसँगै सस्तो भयो सुन- एकैदिन तोलामा झण्डै १६ हजार घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको छ । आइतबार १ लाख ६७ हजार २ सय रूपैयाँ तोलाले कारोबार भएको सुनको मूल्य सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३ सय रूपैयाँ कायम भएको छ । सुनको भन्सार दर घटाएका कारण नेपाली बजारमा सुनको मूल्य घटेको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् ।
उनी भन्छन्, ‘सरकारले बजेट मार्फत लगाएको भन्सार दर घटायो । सोही अनुसार सुनको मूल्य समायोजन गरिएको हो ।’
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीका अनुसार सुनमा लगाइएको भन्सार दर घटाइएको छ ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बढाएर २० प्रतिशत पुर्याएको सुनको भन्सार दर १० प्रतिशतमा झारिएको हो । बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्याइएको थियो । तर, भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो थियो ।
त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ । बजेटमार्फत १५ प्रतिशत पुर्याएको भन्सार दर १० प्रतिशतमा झारिएको छ । दर घटाएपछिको मूल्य समायोजन गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।