मार्की खेलाडीको पालैपालो प्रशंसा गर्दै ओलीले भने- मेरो ‘फेभरेट’ दीपेन्द्रसिंह ऐरी (भिडिओ)
काठमाडौं । मंसिर १५ देखि काठमाडौंमा सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ ।
सोमबार धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी अनावरण गरे । ओलीले नेपाल प्रिमियर लिगको शुभकामना दिँदै आगामी दिनमा महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न पनि क्यानका पदाधिकारीसँग आग्रह गरेका छन् ।
क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको भन्दै प्रधानमन्त्री ओलीले क्रिकेट खेलमात्र नभई राष्ट्रिय जागरुकता, अनुशासनको प्रतीक पनि बनेको बताए । उनले ८ वटै टीमका मार्की खेलाडीको प्रशंसा गरेका छन् । उनले सन्दीप लामिछानेलाई क्रिकेटको ब्राण्ड एम्बेस्डर जस्तै रहेको भनेका छन् । दीपेन्द्र सिंह ऐरी आफ्नो मनपर्ने खेलाडी भन्दै उनले ऐरीलाई ‘बाघ’ को संज्ञा दिए
प्रधानमन्त्रीको भनाइ जस्ताको तस्तै
क्रिकेट हाम्रो युवा पुस्ताको एउटा सपना बनेको छ । एउटा गौरव बनेको छ । यो हाम्रो खेल मात्र नभइ हाम्रो राष्ट्रिय जागरुकता, अनुशासनको प्रतिक पनि बनेको छ । जनकपुर बोल्ड्सका कप्तान आसिफ शेखले स्पोट्सम्यानसिप देखाउँदै आयरल्याण्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ ।
आसिफ सेखलाई क्याप्टेन, कुल, शान्त भनेर नाम, उपनाम दिएपनि हुन्छ । काठमाडौं गोर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन ब्वाइ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा लिएको छु । पोखरा एड्भेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् की ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ । यस पटक ९९ मा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ ।
हाम्रो साथीहरुले चितवन राइनोज भन्ने गर्नुभएको छ, म चाहीँ चितवन गैडाज भन्ने गर्दछु । त्यति पनि अंग्रेजी नजान्ने भनेर फेरि भन्लान् । अंग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन, तपाईंहरुकाे क्रिकेट चाहीँ राम्रो खेलाडी होस् । चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानोसानो जस्तो लाग्थ्यो । ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो की मलाई गर्व लाग्छ ।
रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्राण्ड एम्बेस्डर जस्तै रहे । बिबिएलदेखि आइपिएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ । कर्णाली याक्सका सोमपाल कामीका ति योर्करहरुलाई कसले भुल्नसक्छ । सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखाउनेछन् ।
अन्तिममा हिरोको पालो आउँछ । मेरो फेब्रेट नै भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्र सिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ । एनपिएलमा यस्ता धेरै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि मेरो शुभकामना छ । एनपिएलले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्दछ भन्ने मलाई विश्वास छ । क्यानका पदाधिकारीहरूले आगामी दिनमा महिला विशेष एनपिएल लिग आयोजना गरोस् भन्ने इच्छा छ, शुभकामना छ ।
प्रधानमन्त्री ओलीले सबै टीमहरुलाई शुभकामना दिँदै एनपीएलले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।