वीआरआई लक्षित प्रधानमन्त्रीको भनाइ- चीन भ्रमणमा ऋणसँग सम्बन्धित कुनै योजना सम्झौता हुँदैन – Nepal Press

वीआरआई लक्षित प्रधानमन्त्रीको भनाइ- चीन भ्रमणमा ऋणसँग सम्बन्धित कुनै योजना सम्झौता हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा वीआरआईलाई लक्षित गर्दै ऋणसँग सम्बन्धित कुनै योजनामा सम्झौता नहुने बताएका छन् ।

चीन भ्रमणबारे परामर्श लिनको लागि सिंहदरबारमा भएको पूर्वप्रधानमन्त्री र सरोकारवालासँगको छलफलमा लोनसँग सम्बन्धित कुनै सम्झौता नगर्ने प्रधानमन्त्रीले जानकारी गराएको एकीकृत समाजनवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले यो भ्रमणमा लोनसँग सम्बन्धित कुनै सम्झौता गर्दिनँ भन्नुभयो । तर, हामीले ठिक छ यो भ्रमणमा लोन सम्झौता गर्नुहुन्न भने यो तपाईंको कुरा भयो । तर, चीनसँग लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो असाध्यै आपत्तिजनक कुरा हो भन्ने राखेका छौं ।’

उनले वीआरआईबाट लोन लिनै हुँदैन भन्ने कुरा पूर्वाग्राही भएको टिप्पणी गरे । उनले विश्वका दुईतिहाइ देशलाई लाभदायिक भएको वीआरआई नेपाललाई मात्रै अहित नहुने तर्क गरे ।

बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही विषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ ।

कांग्रेस वीआरआई अन्तर्गत कुनै पनि हालतमा ऋण स्वीकार नगर्ने पक्षमा छ ।

यो विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रधानमन्त्रीलाई देशको हितमा भएको भन्दै नेपालले लाभ लिनुपर्ने बताएका थिए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले देश र जनताको आवश्यक्ता छिमेकी मुलुकसँग ऋण लिनुपर्ने बताए ।

बीआरआई ऋणमा लिने कि अनुदानमा भन्ने सन्दर्भमा अनुदान भनेर नेपालले टोपी नै थाप्न नहुने उनको भनाइ छ । उनले अहिले यो सम्झौतामा हस्ताक्षर नभएपनि सरकारले नीतिगतरूपमा सम्झौता नै नगर्ने भन्ने निर्णय गर्न नहुने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर