उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गर्न लागेको छ : मुख्यमन्त्री कार्की (भिडिओ)
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताएका छन् ।
सोमबार विराटनगरमा आयोजना गरिएको उखु खेती प्रजर्द्धन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा नै उखु उत्पादनमा जोड दिने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रदेश सरकारले उखु कृषक र चिनी मिल उद्योगी बीचको समस्या समाधान गर्न सहजिकरण गरिदिन कार्यक्रम राख्न लागेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले तराई र पहाडको नगदे र खाद्यवाली प्रवद्र्धनका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा छुट्टै शाखा बनाउन लागेको पनि जानकारी दिए ।
कार्यक्रममा किसानहरुले समयमा मल नपाएका कारण सिचाइ नहुदा उखु उत्पादनमा कमिआउने गरेको गुनासो गरेका थिए । उनीहरुले विउ मलको लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।
त्यस्तै अन्य सहभागीहरुले वार्षिक करिब ३७ लाख मेट्रिक टन उखु उत्पादन भइरहेकोमा अहिले घटेर २७ लाख मेट्रिक टन उत्पादन झर्नुको कारण खोज्नु पर्ने जिकिर गरेका थिए । उनीहरुले उखु विकास बोर्ड गठन गरेर उखु खेतीको समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरेका थिए ।