माझी दम्पती नेपाल फर्किएको परिवारलाई थाहै थिएन, ६ वर्षका छोराले लाशमात्र भेटे
काठमाडौं । दुई वर्षअघि क्यानाडा गएका बाबुआमालाई ६ वर्षीय रिहान माझीले भेट्न त भेट्टाए, तर उनीहरुसँग न बोल्न पाए न त हाँस्न नै ।
दाउराको चाङमा फूलमालाले सजिएका रमेश र शर्मिला वल्लो र पल्लो चितामा पालैपालो सुताइएका छन् । साढे तीन वर्षको उमेरमा छोडेर हिँडेका छोरा बाबुआमा नबोलेको पिरले रोइरहेका छन्, तर सुन्नुपर्नेले प्राण त्यागिसेका छन् ।
यस्तो कारुणिक दृश्य देखिएको हो, सोमबार दिउँसो पशुपति आर्यघाटमा । त्यहाँ आइतबार काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलमा मृत भेटिएका रमेश माझी र शर्मिलाकुमारी माझीको अत्येष्टि हुँदै थियो ।
गत ८ गते कतार एयरलाइन्सको QR646 मार्फत नेपाल आएका माझी दम्पती विमानस्थलको मूलद्वार गोल्डेनगेट नजिकै रहेको जन्मभूमि होटलको कोठा नम्बर १२० मा बस्न पुगेका थिए ।
सुनसरीको दुहवी- ८ घर भएका ३४ वर्षीय रमेश र उनकी पत्नी मोरङ घर भएकी २९ वर्षीया शर्मिलाकुमारी आइतबार बिहान होटलमा झुण्डिएको अवस्थामा मृत भेटिए ।
परिवारले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृतकको शव बुझेको थियो । सोमबार दिउँसै पशुपति आर्यघाटमा शवको अन्त्येष्टि गरिएको मृतकका मामा नारद माझीले बताए ।
अन्त्येष्टिका क्रममा छोरा रिहानको पीडादायी रुवाइसँगै सबैका आँखा रसाएका थिए । छोराले मात्रै हैन, परिवारका कसैले पनि माझी दम्पती नेपाल आएको खबर पाएका थिएनन् ।
‘एक हप्ताअगाडि घरका मान्छेसँग कुरा त भएको रहेछ, आउँछु भनेका थिएनन्’, माझीले भने । आइतबार गौशाला प्रहरी वृत्तबाट फोन आउँदा आफू आश्चर्यमा परेको उनले बताए ।
माझीले भाञ्जा र बुहारी काठमाडौं आएर पनि होटलमा झुण्डिएको खबर सुनसरीमै बस्ने दिदी र भिनाजुलाई सुनाउन सकेनन् । ‘भनौं भनेर फोन डायल गर्न खोजें, फेरि के भन्नु भनेर धेरैचोटि फोन काटें’, उनले भने, ‘पछि प्रहरीकै साथीहरुले सुनाउनुभयो ।’
सन् २०२२ मा अध्ययनका लागि पहिला रमेश क्यानाडा गएका थिए । डिपेन्डेन्टका रुपमा पत्नीलाई लैजाने प्रक्रिया आफू जानुअघि नै शुरु गरेका थिए । रमेश गएको ६ महिनापछि पत्नी शर्मिला क्यानाडा पुगिन् । त्यसबेला छोरा रिहान साढे तीन वर्षका थिए । सुनसरीको दुहवी- ८ सोनापुरस्थित एक बोर्डिङ स्कुलमा छोरालाई भर्ना गरेर क्यानाडा गएकी शर्मिला दिनहुँजसो छोरासँग भिडियो कलमा कुरा गर्थिन्, तर पछिल्लो एक हप्तादेखि पतिपत्नी नै परिवारको सम्पर्कमा थिएनन् ।
आइतबार सिनामंगलस्थित जन्मभूमि होटलमा अरुले नै बुक गरिदिएको कोठामा उनीहरु बसेका थिए । प्रहरीले उनीहरु बसेको कोठाका सम्पूर्ण सामान अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ, तर सुसाइड नोट वा आत्महत्या गनुपर्नाको कारण खुल्ने केही पनि नभेटिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
होटल सञ्चालक रामजी कटवालले पानीको मेसिन खोल्न जाँदा बिहान साढे ७ बजे उनीहरु बसेको कोठा पछाडि बार्दलीमा रहेको स्टिलको रेलिङमा दुवैजना एउटै पासोमा झुण्डिएको देखेका हुन् ।
पीडामा होटल सञ्चालक
आत्महत्या गरिएको समाचारमा आफ्नो होटलको नाम आएपछि त्यसले आफूलाई मानसिक रुपमा तनाव भएको कटवालले बताए । सञ्चारमाध्यमले आफ्नो व्यवसायलाई धराशायी हुने गरी होटलको नाम उल्लेख गरेको भन्दै उनले प्रेस काउन्सिलमा उजुरी गरेको बताए ।
उनले भने, ‘मैले २० वर्षदेखि होटल व्यवसायमा कमाएको गुडविल मिडियोको एक लाइन समाचारले खत्तम पारिदियो ।’