०७९ मा ३९ मतले पराजित गुल्मीको मुसिकोट १ मा कांग्रेससँग सत्ता खोस्ने एमालेको तयारी
नेकपा एस, विप्लव नेतृत्वको माओवादीबाट साझा उम्मेदवार बनाएको माओवादी र रास्वपाले काट्ने मतमा दिक्दारी
रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिकाको वडानम्बर १ को वडाध्यक्षमा हुने उपनिर्वाचनका लागि यहाँ क्रियाशील दलहरूले सबै शक्ति लगाएर नतिजा आफ्नो पोल्टामा पार्ने प्रयास गरेका छन् । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसकै मुख्य प्रतिस्पर्धा भए पनि त्यो बेला कांग्रेसको उम्मेदारलाई साथ दिएको नेकपा माओवादी केन्द्रको उम्मेदवारीले यहाँको निर्वाचन थप पेचिलो बनेको छ ।
८ जनाले उम्मेदवारी दिए पनि ५ वटा दलबाट र तीन जना डमी उम्मेदवारका रूपमा देखिएका छन् । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मुसिकोट नगरपालिकामा रिक्त वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्री मैदानमा छन् । ५ जना राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले बताए ।
स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । स्थानीयका अनुसार उनीहरू दलहरूबाटै उठाइएका डमी उम्मेदवार हुन् । ०७९ मा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति नजिकिन थालेसँगै दलहरूले चुनाव लक्षित कार्यक्रमहरू बिहानदेखि रातीसम्म गरिरहेका छन् ।
दलहरूले वडामा घरदैलोसहितका चुनाव लक्षित कार्यक्रमहरू गरिरहेको स्थानीयको भनाइ छ । दलहरूले पहिलो चरणको घरदैलो पूरा गरिसकेको र अब छुटफुट भेट्न बाँकी रहेकाहरुलाई भेटिरहेको बताएका छन् । वडामा ४ हजार ५१ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ ३ वटा मतदानस्थल र ५ वटा मतदान केन्द्र तय गरिएको छ ।
यहाँ एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ । २०७९ को निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए । चार वडा सदस्य एमालेबाटै जिते पनि वडाध्यक्षमा थोरै मतले एमालेका उम्मेदवार पराजित भएका थिए । तर कांग्रेसबाट उम्मेदवार बनेका घिमिरे युवा भएको र माओवादी, नेकपा एस, जनमोर्चासहित ५ दलको गठबन्धनको साथ पाएकाले जितेका थिए ।
अहिले यहाँ माओवादीको अलग्गै उम्मेदवार छन् उनलाई नेकपा एसले साझा उम्मेदवार मानेको छ भने विप्लव नेतृत्वको नेकपा माओवादीले पनि माओवादीका उम्मेदारलाई साथ दिएका छन् । त्यसैले गत निर्वाचनमा पाएको मत पुराउन नेपाली कांग्रेसलाई चुनौती देखिएको गुल्मीका पत्रकार अनिल खत्री बताउँछन् ।
नेकपा माओवादी केन्द्रले ०७९ को निर्वाचनमा आफूहरुले गठबन्धनका कारण कांग्रेसलाई मत दिएको अहिले आफ्नै उम्मेदवार भएकाले जिताउनका लागि बलियो बन्दै गएको दाबी गरेको छ । माओवादी जिल्ला सचिव अशोक थापाले एमाले, कांग्रेस र माओवादीबीच नै त्रिपक्षीय प्रतिस्पर्धा रहेको बताउँदै रास्वपाबाट उम्मेदवार बनेका विकास थापाले एमालेका मत काट्ने र आफ्नो पार्टीबाट उम्मेदवार रहेका दुर्गा बिक सो क्षेत्रमा लामो समय शिक्षक रहेका, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा निर्वाचन जितेको व्यक्ति भएकाले पनि तटस्थ मत तानेर जित निकाल्ने बताए ।
‘एमालेभित्रका मत पनि रास्वपामा जान्छन्, कांग्रेसभित्र पनि समस्या छ, हामीलाई नेकपा एसले साझा उम्मेदवारका रूपमा अगाडि सारेको छ, विप्लव नेतृत्वको माओवादीको पनि साथ छ, उम्मेदवारको हिसाबले पनि शैक्षिक क्षेत्रमा लामो समय अनुभव भएको रहेकाले स्थानीयले सहजै पत्याउने आशा छ’ उनले भने ।
नेकपा एमालेका नेता कृष्ण सुनारले मुसिकोट १ एमालेको बलियो क्षेत्र भएकाले र गत निर्वाचनमा कांग्रेसलाई ५ दलको गठबन्धनको साथ भएर एमाले एक्ले भएकाले अध्यक्षमा मात्रै थोरै मतले नजितेको र अन्य ४ जना सदस्यले जितेकाले यो पटकको जित सहजै भएको बताए ।
‘३९ मत थोरै आएको हो ५ दल मिल्दा, अहिले त कांग्रेस एक्लै छ नि, त्यसमाथि अहिले उम्मेदवार बनेका दलबहादुर थापा ०७४ कै निर्वाचित वडा सदस्य अनुभवी व्यक्ति हो, त्यसैले सहजै जित निकाल्न सकिन्छ, अब माओवादीले आफ्नो दलको प्रतिष्ठा राख्न मत सुरक्षित नगरे त फरक विषय हो, त्यसो भए पनि समस्या हुँदैन, त्यो समयमा नेकपा एसमा भएका धेरै साथीहरू पनि एमालेमा आइसक्नुभएको छ’ उनले भने ।
निर्वाचन लक्षित कार्यक्रम लिएर पुगेका एमाले नेता तथा प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले मुसिकोट पहिलेदेखि नै एमालेको आधार क्षेत्र भएको र गत निर्वाचनमा एमालेबाहेकका सबै शक्ति मिल्दा पनि चार जना वडा सदस्य एमालेबाटै विजयी भएको र अध्यक्षमा थोरै मतले पराजित भएकाले अहिले सबै एक्ला एक्लै भएकाले कुनै समस्या नभएको बताउँछन् । उनले त्यो निर्वाचनपछि एमालेमा प्रवेश गरेको संख्याले पनि त्यो बेला हारेको ३९ मत धेरै पछाडि परिसकेको तर्क गर्छन् ।
नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आफू अहिले मुसिकोटमै रहेको र निर्वाचन तयारीका विषयमा छलफल गरिरहेको बताए । उनले गत निर्वाचनमा पार्टीले जितेको स्थान सुरक्षित गर्नेगरी रणनीति बनाएको बताए ।
‘गत निर्वाचनमा पनि हामीले युवा उम्मेदवार नै अगाडि सारेका थियौँ, अहिले पनि युवालाई नै अघि सारेका छौँ, ०७९ मा माओवादीको साथ थियो तर अहिले एक्लै छौँ तर उम्मेदवार युवा र स्थानीयसमक्ष भिजेकाले सहजै जित निकाल्ने छौँ’ उनले भने । उनका अनुसार उम्मेदवारले एक चरणको घरदैलो सकेर अब दोस्रो चरणको भेटघाटलाई तीव्रता दिएका छन् ।