सिनामंगलमा अमंगल : कच्छु माझीलाई के आइपर्‍यो यस्तो ! – Nepal Press
ब्लग

सिनामंगलमा अमंगल : कच्छु माझीलाई के आइपर्‍यो यस्तो !

क्यानडाबाट खबरै नगरी आएका छोराबुहारीको काठमाडौंमा लास भेटिएपछि....

विराटनगर । ‘ओ भाइ दोकानमा माल सकिएन ? कि अर्कैलाई सामान बोकाउन थालिस् ?’

सफारी (विद्युतीय रिक्सा) को ड्राइभर सिटमा कोल्टे पर्दै भेटेपिच्छे सोध्थे कच्छु माझी ।

‘बुढा, अब कति बोक्नु हौ सामान ? घरमा बस्नु नि नाति खेलाएर’ मैले जवाफ फर्काउँदा होचो कदका मोटा कच्छु भन्थे, ‘छोराको कमाइले हुँदैन, सकुन्जेल आफैले काम गर्नुपर्छ । बरु भन कहिले सामान पुर्‍याइदिउँ ?’

उनी सफारीमा मान्छे मात्रै बोक्दैनथे । छिमेकीका सरसामान पनि गन्तव्यसम्म पुर्‍याउँथे । धान कुटाउन मिल पुर्‍याउने होस् या गाईभैँसीका दाना । बोक्ने उनैको सफारी थियो ।

सुनसरीको दुहबी ८ रनीगाँउ घर भएका कच्छु माझीको अलि अलि जग्गा–जमिन छ । सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरको पानी लाग्ने खेतमा खेती पनि गर्छन् ।

उनले सफारी चलाउन थालेको झन्डै ६ वर्ष जति भयो । सुरूका दिनमा तरकारीको व्यापार गरे । बिहानै उठेर सफारीमा तरकारी ल्याउँथे । तरकारी बेच्थिन् उनकी श्रीमती ।

सफारी कुदाएर र तरकारी बेचेर उनले राम्रो शिक्षा दिए छोरा रमेशलाई । रमेशले मोरङको दुलारीमा रहेको इटहरी इन्टरनेसनल कलेजबाट कम्प्युटर साइन्समा डिप्लोमा गरे ।

भेटमा भन्थे, ‘छोरो विदेश जान्छु भन्छ के पो गरौँ ?’

‘जान्छ भने पठाइ दिनु न त, यहाँ बसेर के गर्छ र ?’ पंक्तिकारले यस्तो सुझाव दिँदा कच्छु भन्थे, ‘यो विदेश गएर गर्छ पो के, कसैसँग बोल्दा त बोल्दैन । ’

क्यानडाबाट फर्किएका छोराबुहारीको मुखै हेर्न नपाई दाहसंस्कार गरेर काठमाडौंबाट फर्किएका कच्छुको घरमा मंगलबार बिहान छिमेकीहरू ।

पढ्नमा जेहेन्दार रमेश माझी धेरै बोल्दैनथे । साथीभाइसँग खास सङ्गत थिएन । उनी पढाइमै मेहनत गर्थे । अढाई वर्षअघि रमेशको क्यानडाको भिसा लागेपछि कच्छुले सुनाए, ‘छोरो जाने भयो । बुहारी पनि लाने कुरा भएको छ ।’

‘अब दिन फिर्ने भए त । यो सफारी बेच्दिनु अनि आफू पनि जानु क्यानडा,’ मैले भनेँ ।

‘धैत म त के जान्थे अहिले ?’ कच्छुले हाँस्दै जवाफ दिए ।

रमेश पढ्न गएको ६ महिनापछि श्रीमती शर्मिला पनि क्यानडा उडिन् । उनीहरूको अढाई वर्षको छोरो हेरेर कच्छुकी श्रीमती घर बस्थिन् ।

रमेश र शर्मिलाको सानै उमेरमा विवाह भएको थियो । शर्मिला विदेश जानुभन्दा अगाडिसम्म घरैमा बस्थिन् ।

‘मेरो बुहारी देवीजस्ती छ,’ कच्छुकी श्रीमती सुनाउँथिन्, ‘छोरा–बुहारी गइहाले, म नातिले गर्दा घरैमा बस्छु । अब सफारी नकुदाऊ भन्दा काका मान्दैन ।’

जवाफमा कच्छु भन्थे, ‘म त सकुन्जेल कामै गर्छु ।’

कच्छुकी छोरीको पनि विवाह भएको थियो । उनी भन्थे, ‘अब मलाई छोरीको पीर छ ।’

उनले छोरीको पीर सुनाएको दुई महिनापछि उनको जीवनमा अर्कै बज्रपात थपियो ।

क्यानडा पुगेका छोराबुहारी थाहै नदिई काठमाडौं आए । तर, घरमा आइपुगेनन् । सिनामङ्गलको एउटा होटेलमा दुवैजना मृत भेटिए ।

कच्छुकी श्रीमतीलाई प्रहरीको फोन आयो ।

प्रहरीले भने, ‘एउटा सानो घटना भएको छ । काठमाडौंमा को छ, आफन्तको नम्बर दिनु ।’

‘के घटना ? मेरा छोराबुहारी त क्यानडामा छन्,’ अत्तालिँदै उनले भनिन् ।

प्रहरीले अहिले काठमाडौंमा भएका आफन्तको नम्बर दिन भनेपछि कच्छुकी श्रीमतीले देवरानीलाई भनेर भतिजाको नम्बर टिपाइन् ।

उनका भतिजा नवराज माझी काठमाडौंमा बसेर पढ्छन् । सानोतिनो जागिर पनि खान्छन् । नवराज होटेलमा पुगेर दाजु-भाउजूको लास देखेपछि फोन गरेर बेलिबिस्तार सुनाए ।

विक्षिप्त हालतमा आइतबार केही छिमेकीसहित काठमाडौं पुगेका कच्छु दम्पतीले छोराबुहारीको मुख पनि नहेरी पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरेका छन् ।

सोमबार राति गाउँ फर्केका उनीहरू बिहान छिमेकीबाट घेरिएका थिए । छापो टालो बाँधेर बसेका कच्छुसँग छोरा बुहारीको मृत्यु हुनुको कारणबारे केही अनुमानै थिएन ।

उनी भन्दै थिए, ‘मलाई केही थाहा छैन ।’

नाति छाडेर आँगनमा आएकी कच्छुकी श्रीमतीले भनिन्, ‘शुक्रबार बिहान छोरासँग कुरा भएको थियो । केही भनेन । बुहारी खोइ भन्दा गाडीमा सँगै देखायो । बुहारीसँग कुरा भएन । अहिले बाटोमा छु, डेरामा पुगेपछि फोन गर्छु भनेको थियो ।’

त्यसपछि न रमेशले आमालाई फोन गरे, न आमाले गरेको फोन उठ्यो । छोरा र बुहारी सम्झनामा मात्रै बाँकी रहे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *