घुमौं र चिनौं लुम्बिनी प्रदेश – Nepal Press

घुमौं र चिनौं लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश : ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक एवम् पर्यटकीय गन्तव्य

२२ हजार २८८ वर्ग किमि क्षेत्रफलमा फैलिएको लुम्बिनी प्रदेशमा १२ जिल्ला छन् । तराईका फाँटदेखि पुथा हिमालसम्म यस प्रदेशमा समाहित छन् । शीतोष्ण, समशीतोष्ण र उष्ण जलवायु रहेको यो प्रदेशमा जातीय, धार्मिक विविधता छ । अनेकतामा एकता छ ।

प्रशासनिक राजधानी दाङको देउखुरी रहे तापनि आर्थिक राजधानीका रुपमा रुपन्देहीको बुटवल कायमै छ । राष्ट्रिय जनगणना २०७८ को अनुसार यहाँको जनसंख्या ५१ लाख २२ हजार ७८ रहेको र नेपालीको औसत आयु ७१.३ वर्ष कायम हुँदा लुम्बिनी प्रदेशमा रहेका नागरिकको औसत आयु ६९.५ वर्ष रहेको पाइन्छ । नेपाली जीवनस्तर सर्वेक्षण चौथो २०७९/०८० अनुसार नेपाली घरपरिवारको औसत वार्षिक आम्दानी ५ लाख ५१ हजार १४८ रहँदा लुम्बिनी प्रदेशको घरपरिवारको वार्षिक आम्दानी ५ लाख ७६ हजार ४६७ रहेको तथ्यांकले देखाउँछ ।

शान्तिको प्रतीकका रुपमा रहेका गौतम बुद्धको जन्मभूमि लुम्बिनी नै विश्वलाई आकर्षण गर्ने पवित्र भूमि हो । यो लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक, ऐतिहासिक, पुरातात्विक एवम् पर्यटकीय केन्द्र हो । विश्व सम्पदा सूचीमा समाहित गरिएको यो भूमिको सम्मानार्थ प्रदेशकै नाम लुम्बिनी राखिएको सत्य हो । मायादेवीको मन्दिर, अशोक स्तम्भ, लुम्बिनी बगैंचा र लुम्बिनी क्षेत्रभित्र रहेका विभिन्न देशका स्तूपा, मन्दिरलगायतले लुम्बिनीलाई सबैको आस्था केन्द्र बनाएको छ ।

मणिमुकुन्द सेन उद्यान (फूलबारी), वनबाटिका, हिलपार्क, मिलन पार्क, शान्ति पार्क, गौतमबुद्ध पार्क, यशोधरा पार्क, पाकरीको रुख, सैनामैना क्षेत्रका राजारानी कुवा, मलमलादेवी, सिद्धबाबा धाम, पर्रोहा परमेश्वरधाम, मुक्तिनाथ धामलगायतका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् पर्यटकीय गन्तव्यले रुपन्देहीलाई थप चिनारी दिने गरेको पाइन्छ । गैडहवा ताल, गजेडी ताल, लुम्बिनी क्षेत्रभित्र रहेको डुंगासहितको लुम्बिनी जलविहारले समेत रुपन्देहीको परिचय फराकिलो बनाएको छ । कोटहीमाई, समरीमाई र मर्चवारीमाईकै नामले गाउँपालिकाको नामकरण गरिएका छन् ।

अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलले यहाँको पर्यटनलाई धुरी चढाउनेछ । बुटवलमा रहेका जीतगढी किल्लाले संसारअघि नेपालीलाई शीर उँचो राख्न सिकाएको छ । बुटवल र पाल्पाको तिनाउलाई नुवाकोट र वसन्तपुरमा चल्ने केवलकारहरुले जोडेका छन् । औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, भन्सार, नाकाहरुले रुपन्देहीलाई साधन सम्पन्न जिल्लाको रुपमा परिभाषित गर्न सकिन्छ ।

आदि मानव रामापिथेकसको बंगारा पाल्पा तिनाउमा फेला परेको थियो । यो क्षेत्र आदि मानव विचरण क्षेत्र हो । सिद्ध पुरुष भर्तृहरिको तपोभूमिसमेत रहेको क्षेत्र भएकोले पुरातात्विक एवम् धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । लुम्बिनी प्रदेशकै पशुपतिनाथका रुपमा रहेको सिद्धबाबा मन्दिरमा वर्सेनि लाखौं भक्तजन भारतबाट समेत आउने गरेका छन् ।

रानीमहल, भैरवस्थान, शीतलपाटी, दरबार ढोका, नुवाकोट, श्रीनगर, सत्यवती मन्दिर, सुकेताल, वसन्तपुर, सत्यवती ताल, नन्दन ताल, तालपोखरा, केलाँदीघाट, अर्घली दरवार, दर्लाम कालिका मन्दिर, ऋषिकेश मन्दिर, रम्भादेवी मन्दिर, जन्तीलुङ, मरामकोट, पाटन, जल्पादेवी मन्दिर, ढोलीमारा होमस्टे, धवल पुस्तकालयलगायतका स्थानहरुले पर्यटकहरुलाई तानिरहेका छन् । रामपुरफाँट, माडीफाँट, कचलफाँट, निस्दी काउलेको अम्रिसो खेतीले पाल्पाको पहिचान झल्काएको छ ।

गुल्मी जिल्लालाई सामरिक महत्वको जिल्लाका रुपमा लिने गरिन्छ । पछिल्लो समय गुल्मी जिल्ला सबैको नजरमा पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । रुरुक्षेत्र, यहाँ रहेको तीनमुखे झोलुङ्गे पुलले सबैको मन खिचेको छ । पहिलो र दोस्रो विश्वयुद्धमा बहादुरी देखाएर भीसीसमेत प्राप्त गरेका लाहुरेहरुको किल्ला भनेर भार्सेलाई चिनिन्छ । यहाँ रहेको गोर्खा ग्यालरी नवीनतम सोचको उपज हो । यहाँ रहेको बौद्ध स्तूपा, किवी खेती, ठूलोपोखरा, होमस्टेले सबैलाई तानिरहेको छ । मुसिकोटको कोटेश्वर मन्दिर, चन्द्रकोटको दिब्रुङ धार्मिक क्षेत्र, मालिका मन्दिर, सालिमे दह, बुढी सत्यवती मन्दिर, भूस्वर्गको रुपमा परिचित ठूलो लुम्पेकले समेत पर्यटकलाई बोलाइरहेका छन् ।

गुल्मीको कफी खेतीले संसारभर नाम कमाएको छ । रेसुङ्गा पर्यटकीय क्षेत्र बनेर संसारलाई निम्तो दिइरहेको छ । तम्घासको किरण पुस्तकालयले शैक्षिक जागरण ल्याएको देखिन्छ । गुल्मेली लोक संस्कृतिले सबैलाई मनोरञ्जन दिएको छ । जलयात्रा, रहस्यमय गुफाहरु, मदानेको डाँडो गुल्मीका थप आयामहरु हुन् ।

सुपादेउराली मन्दिरले यतिबेला सिंगो अर्घाखाँचीलाई नौलो परिचय दिएको छ । धार्मिक गन्तव्य बनेको छ । हजारौंका संख्यामा स्वदेशी एवम् विदेशी भक्तजनहरु उक्त मन्दिरको दर्शन गर्न आइपुगेका छन् । मनोकामना पूरा गर्ने मन्दिरको रुपमा परिचित सुपादेउराली प्राकृतिक रुपमा समेत मनोरम देखिन्छ । डमरु ताल यहाँको थप परिचय हो । अर्घाखाँचीमा देखाइने सरायँले सबैको मन तानेको छ । अर्घामा लाग्ने मेलाले देशभरि चर्चा पाएको छ । पाणिनी तपोभूमि, दुर्वाशेश्वर गुफा, आलमदेवी मन्दिर, छत्र महाराज मन्दिर, अर्घाकोट, नर्तनाचल पर्वतले अर्घाखाँचीलाई नजिकबाटै चिनाएको पाइन्छ ।

प्यूठान जिल्ला धार्मिक, पर्यटकीय एवम् जैविक विविधताको दृष्टिले महत्वपूर्ण जिल्ला हो । यो जिल्लामा रहेको स्वर्गद्वारी मन्दिर सबैले चिनेको र जानेको पुरानो मन्दिर हो । यहाँ बैशाखे पूर्णिमा, माघे संक्रान्ति र कार्तिके पूर्णिमामा भव्य पूजाआजा र मेला लाग्ने गर्दछ । यो मन्दिरमा नेपालका सबै ठाउँ र भारतबाट पनि भक्तजनहरु आउने गरेको पाइन्छ । उच्च पहाडी भागमा रहेको यो मन्दिरमा पालिएका गाईको गोरससँगै फलेका साग, मूला र बनाएका सिन्कीसित भात खाँदा स्वर्गीय आनन्द आउने गर्छ ।

यसबाहेक दिव्यश्वरी मन्दिर, प्युठानको किल्ला, सिद्धेश्वर मन्दिरले समेत पर्यटकहरुलाई बोलाउन थालेका छन् । यस जिल्लामा भालेश्वर महादेव मन्दिर र गौरीशंकर मन्दिरसमेत छन् । झिम्रुक जलविद्युत आयोजनाले उज्यालो बनाएको छ । अल्लोबाट बनेका उद्यमहरु चलेका छन् । श्रीखण्डखेती राम्रो हुने यो जिल्लामा खयर, जडीबुटीसमेत प्रशस्त पाइने भएकोले आर्थिक उपार्जनको गतिलो क्षेत्रका रुपमा प्यूठानलाई लिन सकिन्छ ।

रोल्पा देशकै परिचित नाम हो । यसको सदरमुकाम लिवाङ । कचौरा आकारको यो ठाउँले पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । यतिबेला रोल्पाको ढुङ्गे बगैंचा, भ्यू टावरले सबैको मन खिचेको छ । सुलीचौर, घर्तीगाउँ, थवाङ, जलजलाले रोल्पालाई सबैका माझ चिनाएको छ । युद्ध संग्रहालय बनेका छन् । युद्ध मार्ग नामकरण गरिएका छन् । रोल्पालाई युद्ध पर्यटनको केन्द्र बनाइएको सन्देश संसारभर फैलाइएको छ । युद्ध साहित्य लेख्नेहरु पुगेका छन् रोल्पामा ।

तत्कालीन माओवादी पार्टीको उद्गमस्थलका रुपमा लिइने रोल्पाले यतिबेला शान्तिको पदमार्ग समातेर विकास र समृद्धिको नौलो गीत गाइरहेको छ । कृषि, पर्यटनका सहायतामा रोल्पाले समृद्धिको सपना साकार गर्दैछ । युद्धकालीन घाउमा माम्री लागेका छन् ।

पूर्वी रुकुम देशकै कान्छो जिल्लाका रुपमा परिचित छ । तीन वटामात्र स्थानीय सरकार रहेको उक्त जिल्ला भूगोलले सानो भए पनि पुथा हिमालको कारण अग्लो छ । प्राचीन कलात्मक घरहरु, पुराना संस्कार र संस्कृतिले धनी लुकुम, तकसेरा जस्ता एकीकृत ग्रामीण बस्तीहरुले लुम्बिनी प्रदेशकै शान बनेर उभिएको छ ।

ढोरपाटन शिकार आरक्षको ६० प्रतिशत भूभाग यही जिल्लाले ओगटेको छ । मगर जातिको घना बस्ती रहेको पूर्वी रुकुम जैविक विविधताको दृष्टिले मूल्यवान क्षेत्र हो । यहाँ पाइने ओखर, गाँजा, धुपी सल्ला, चिलाउने, कटुस र उत्तरबाहिनी गंगाका कारण सबैलाई नजिक ल्याउने प्रयास कायमै छ । पशुपालन, कृषि र पर्यटनका माध्यमले पूर्वी रुकुम लुम्बिनी प्रदेशकै नौलो गन्तव्य बन्नसक्छ । जिल्ला सदरमुकाम नजिकै रहेको कमल दहले प्राकृतिक सुन्दरता थपेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, त्यसमा पनि बाघको कारण संसारभरका पर्यटक बर्दिया पुग्छन् । जंगल सफारीका सहायताले वन, वातावरण र जैविक विविधता बुझ्न आएका पर्यापर्यटनका जानकारहरुले बर्दियालाई अत्यन्तै माया गरेको भेटिन्छ । डल्ला होमस्टे, थारु कला, संस्कृति र संस्कारले पर्यटकलाई लोभ्याएको छ । ठाकुरद्वारा मन्दिरले सबैलाई तानेको छ । समथर भूभाग, अन्न भण्डारको रुपमा रहेको बर्दिया नयाँ मुलुकको एक अंश हो । कृषि र पर्यटनका माध्यमबाट जिल्लामात्र होइन, लुम्बिनी प्रदेशलाई नै आत्मनिर्भर बनाउन सक्ने जिल्लाका रुपमा बर्दियालाई लिइन्छ ।

 

बाँके राष्ट्रिय निकुञ्ज, नेपालगञ्ज विमानस्थल, तत्कालीन कर्णालीको नून र सुन किन्ने प्रचलित थलो र वागेश्वरी मन्दिरका कारण बाँके अत्यन्तै नाम चलेको जिल्लामा लिन सकिन्छ । व्यापारिक एवम् औद्योगिक महत्वका रुपमा चिनिएको यो जिल्लाले आर्थिक गतिविधिमा समेत प्रत्यक्ष प्रभाव पारेको छ ।

औद्योगिक नगरीका रुपमा चिनिएको नेपालगञ्ज र आसपासका क्षेत्रहरुसँगै गाभार भ्यालीले पर्यटकीय पहिचान कायम गरिसकेको छ । नेपालगञ्ज बजारले कर्णाली प्रदेशसँगको साइनो कायमै राखेको छ । लुम्बिनी प्रादेशिक प्राविधिक विश्वविद्यालयले यहाँको शैक्षिक उन्नयनमा पक्कै पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

 

दाङ जिल्ला लुम्बिनी प्रदेशकै राजधानी हो । उपत्यकैउपत्यका रहेको यो जिल्लामा अनेकौं जातजाति र भाषाभाषी छन् । थारु कला, संस्कृतिले समेत नयाँ पहिचान दिएको पाइन्छ । नेपाल संस्कृत विश्वविद्यालय रहेको यो जिल्ला शैक्षिक जागरणको केन्द्रसमेत हो । चेपे ताल, जखेरा ताल, पाण्डवेश्वर महादेव धाम, बंगलाचुली लेक, छिल्लीकोट, गणेशपुर पार्क, पुरन्धारा झरना, चमेरे गुफा, कुलपानी हरित गृह, बाह्रकुने दहले ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेका छन् ।

राप्ती नदीको किनारमा रहेको भालुबाङ बजार यतिबेला प्रदेशकै मुख्य नाका बजार जस्तै बनेको छ । दंगीशरण राजाको सालिक, थारु कला, संस्कृति र सभ्यता झल्किने माटाका भाँडा, पुराना सिक्काहरु रहेको संग्रहालयसमेत दाङमा छ ।

कपिलवस्तु प्राचीन, ऐतिहासिक एवम् धार्मिक गन्तव्यको जिल्ला मानिन्छ । गौतम बुद्धको भग्नावशेष दरवार रहेको तिलौराकोट रहेको यो जिल्लामा तौलेश्वर महादेवको मन्दिर छ । जगदीशपुर ताल छ । मस्जिदहरु छन् । मदरसाहरु छन् । निग्लिहवा, गोटीहवा, सगरहवा, अररौराकोट, कुदानमात्र होइन, संग्रहालयसमेत रहेको यो सबैले चिनेको जिल्लासमेत हो ।

लुम्बिनीसँग जोडिएको यो जिल्लामा कपिलधाम, नन्दन नगर, लक्ष्मणघाटसमेत रहेका छन् । शान्ति र करुणाको सन्देश फैलाउने कपिलवस्तु यतिबेला ओझेलमा परेको हो कि भन्ने संकेत गरिरहेको छ ।

पश्चिम नवलपरामी धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जिल्ला हो । सुस्ताका कारण पनि बेलाबेलामा चर्चामा आउने यो सामरिक महत्वको जिल्लाभित्र पर्दछ । त्रिवेणी धाम, रामग्राम स्तूप, पाल्हीभगवती मन्दिर, अनुमाघाट, महल पोखरी, देवदह ताल र मदारथान यस जिल्लाका धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा परिचित छन् । पण्डितपुर, बाबा बर्दगोरिया जस्ता धार्मिक स्थलले समेत छिमेकी भारतीय पर्यटकहरुलाई खिचेको पाइन्छ । त्यतिमात्र होइन, नन्दन ताल, गैंडा ताल, घुमारीघाटले वातावरणीय रुपमा समेत धेरैको मन तानेको छ ।

लुम्बिनी प्रदेशले कृषि, धार्मिक, पुरातात्विक, सांस्कृतिक, शैक्षिक र पर्यटनमार्फत समृद्धिको सपना पूरा गर्नसक्ने अवस्था छ । यो प्रदेश औद्योगिक र व्यापारिक क्षेत्रका कारणले पनि प्रख्यात छ । पर्यापर्यटनका दृष्टिकोणले समेत लुम्बिनी प्रदेश विराट सम्भावना बोकेको गन्तव्य हो । लुम्बिनी प्रदेश सरकार, पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोष, पर्यटन विकास परिषद्, स्थानीय पर्यटन प्रवर्द्धन विकास समितिहरु र सचेत नागरिकहरुको संयोजन, सहभागिता, सहयात्रामा लुम्बिनी प्रदेशको पर्यटनसहित सबै क्षेत्रको विकास गरी आत्मनिर्भर लुम्बिनी प्रदेश बनाउन यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् पर्यटकीय क्षेत्रहरुको भूमिका महत्वपूर्ण हुने गर्दछ । यसका लागि सरकारी, निजी क्षेत्र, सरोकारवाला स्थानीय नागरिकको संलग्नतामा समृद्ध प्रदेश, सुखी प्रदेशवासीको सपना पूरा गर्न लामो समय कुरिरहन पर्ने देखिन्न ।

सबैभन्दा पहिला लुम्बिनी प्रदेशको भूगोल, भावना, कला, संस्कृति, सभ्यता, भाषालाई नजिकबाट बुझ्नुपर्छ । सबैले आफ्ना पैताला १२ वटै जिल्लामा पार्नुपर्छ । त्यहाँको वस्तुगत परिस्थिति बुझ्ने प्रयास गर्नुपर्छ । प्रदेशभरि रहेका नागरिकका रहनसहन, रीतिथिति, आनीबानी जान्नुपर्छ । त्यसले पक्कै पनि लुम्बिनी प्रदेशलाई चिन्ने अवसर प्रदान गर्नेछ । पहिला लुम्बिनी प्रदेशका १२ वटै जिल्ला घुमौं । चिनौं । यसका लागि पर्यटन प्याकेज तयार पारौं । पुग्न र घुम्न दिशानिर्देश गरौं । पथप्रदर्शकहरु तयार पारौं । घुमौं र चिनौं लुम्बिनी प्रदेशलाई नारा घन्काऔं । अनुशरण गरौं । व्यवहारमा उतारौं ।

लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सडक सञ्जाललाई व्यवस्थित गरौं । स्तरोन्नति गरौं । होटल, रिसोर्ट, लज, खाजा पसलहरुको सहज पहुँच कायम राखौं । यातायातका साधनहरुको उचित प्रवन्ध गरौं । स्थानीय पथप्रदर्शक तयार पारौं । सस्तो र भरपर्दो बसाइ र खुवाइका लागि ग्रामीण होमस्टेहरुलाई प्रोत्साहन दिऔं । आउने आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई स्वागत, सम्मान र सुरक्षासहित सेवामा ख्याल गरौं ।

पर्यटन मनोरञ्जनमात्र होइन, यो उद्यम हो, व्यवसाय हो । धूँवारहित उद्योग हो । हजारौंका संख्यामा रोजगार र स्वरोजगार सिर्जना गर्न सकिने विषयमा प्रदेश सरकारको ध्यान केन्द्रित हुनुपर्छ । यो प्रदेशलाई शिक्षा, संस्कृति, भाषा, रहनसहन, रीतिथिति, संस्कार, सम्पदा, कला, साहित्य र सिर्जनाले नै गहकिलो प्रदेश र आत्मनिर्भर प्रदेशका रुपमा परिभाषित गर्न सकियोस् । देशले एक पटक लुम्बिनीलाई अनुशरणयोग्य प्रदेश हो भनेर उदाहरणका रुपमा लिनसक्ने बनाउन सबैले हातेमालो गरौं ।

लुम्बिनी प्रदेशभित्र रहेको कृषिलाई निर्यातमुखी बनाऔं । शिक्षाको हब बनाउन गुणस्तरीय शिक्षामा सबैले सहयोग गरौं । यहाँको कला, साहित्य र संस्कृतिलाई ओजिलो बनाउन र प्रवर्द्धन गर्न प्रदेशवासी लागौं । पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचारप्रसारमा जुटौं । धार्मिक महत्वका क्षेत्रहरुलाई चिनौं । धार्मिक सहिष्णुतालाई कायम राख्दै अघि बढौं । पर्यटन क्षेत्रका पहिचान, प्रसिद्धि र प्रचारप्रसारमा प्रदेश सरकारको पूरै जोड पुराऔं । लुम्बिनी प्रदेश घुमौं र चिनौं भन्ने विराट उद्देश्यलाई साकार बनाउन सबैले हातेमालो र सहयोग गरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *