लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विदेशीसहित २८९ विद्यार्थी दीक्षित हुँदै – Nepal Press

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विदेशीसहित २८९ विद्यार्थी दीक्षित हुँदै

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

मंसिर १४ गते आयोजना हुने दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित गर्ने कार्यक्रम तय भएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए ।

दीक्षन्तसँगै विश्वविद्यालय सभाको १७औं बैठक हुने आचार्यले जानकारी दिए । उनका अनुसार दीक्षान्त समारोहमा लुम्विनी विश्वविद्यालयमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थी दीक्षित हुनेछन् ।

साथै विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधि उपाधिसमेत प्रदान गर्नेछ । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएका भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने यसअघि नै सभाले निर्णय गरिसकेको छ ।

त्यस्तै दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्ण पदकबाट सम्मान गरिने रजिष्ट्रार आचार्यले बताए । विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोहसँगै २०औं वार्षिकोत्सवसमेत मनाउँदैछ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले हाल विश्वविद्यालयमा ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको बताए । उनका अनुसार दुई हजार ३०८ विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयमा ९० जना विदेशी विद्यार्थी छन् ।

२०६१ साल मंसिर १४ गते स्थापित विश्वविद्यालय २० औं वर्षमा प्रवेश गरेको छ । विश्वविद्यालयमा बौद्ध अध्ययन, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् ।

लुम्बिनी, बुटवल, देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् । दाङ, काठमाडौं उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर