गुल्मीमा धान उत्पादन बढ्यो – Nepal Press

गुल्मीमा धान उत्पादन बढ्यो

गुल्मी । जिल्लामा यस वर्ष धान उत्पादन बढेको छ । गत वर्ष २४ हजार ४२६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार १४३ मेट्रिक टन धान फलेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादन बढे पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ । गत वर्ष ७ हजार ४३९ हेक्टरमा धानखेती गरिएकामा यो वर्ष ७ हजार २८८ हेक्टरमा त्यो सीमित रह्यो ।

समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको प्रमुख धितालको भनाइ छ ।

गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ । यस वर्ष बर्खे धान एक हजार २८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रुपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन् । मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ, मनबागलगायत फाँटमा पनि अधिक धान उत्पादन हुने गरेको छ ।

यहाँ हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातो मार्सी र मार्सीलगायत जातका धान उत्पादन हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर