महिलाको निम्ति महिला मञ्च नेपालले सार्वजनिक गर्यो चेतनामूलक दोहोरी गीत (भिडिओ)
काठमाडौं । महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)ले सचेतीकरणसम्बन्धी लोक दोहोरो गीत सार्वजनिक गरेको छ ।
सातौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीत ज्वलन्त सामाजिक सवाल र असंगठित क्षेत्रका श्रमिकका सवालमा केन्द्रित छ । साथै सामाजिक सुरक्षा कोषको महत्व र यसका फाइदाका विषयमा गीतमार्फत् जानकारी दिइएको छ । ‘बुझ्दै जाँदा सुविधा लाख रैछ, सामाजिक सुरक्षा आमाको काख रैछ !’ थिममा गीत बनाइएको छ ।
महिलाको निम्ति महिला मञ्च नेपालको युट्यूव च्यानल वुफोवन (WOFOWON)मा गीत सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोषकी उप निर्देशक सुशीला पौडेल, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी शाह र वरिष्ठ लोक तथा दोहोरी गायिका शिला आलेलगायत अन्य कलाकारहरको उपस्थिति थियो । गीतमा वोफोवन सांस्कृतिक समूहका कलाकारहरूले आवाज दिएका छन् ।
‘श्रमको पहिचान सुरक्षा र सम्मान : सांस्कृतिक अभियानमार्फत असमान सोच रुपान्तरणको आव्हान’ नाराका साथ गीत सार्वजनिक गरिएको हो ।
वोफोवन मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा/मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूको नेतृत्वमा काठमाडौं जिल्ला प्रशासनमा १७ वर्षअघि गठन भएको गैरसरकारी संस्था हो ।
मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवर्द्धन तथा सुनिश्चिताका लागि यो संस्था निरन्तर अभियानमा छ ।