जनकपुर बोल्ट्सको लोगोमा विवाद, फ्रेन्चाइज मालिक भन्छन्- जनकपुर मन्दिरकै आकृति हो – Nepal Press

जनकपुर बोल्ट्सको लोगोमा विवाद, फ्रेन्चाइज मालिक भन्छन्- जनकपुर मन्दिरकै आकृति हो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज जनकपुर बोल्ट्सको लोगोलाई लिएर सामाजिक सञ्जालमा विवाद सिर्जना भएको छ । जनकपुरको प्रख्यात जानकी मन्दिर देखाउने नाममा मस्जिदको चित्रअंकित लोगो बनाइएको दाबी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरेका छन् ।

जनकपुर बोल्ट्सको फेसबुक पेजमा धेरैले लोगो गलत भएको टिप्पणी गर्दै सच्याउन सुझाव दिएका छन् । मस्जिद शैलीको लोगोले जनकपुरको प्रतिनिधित्व नगर्ने उनीहरूको टिप्पणी छ ।

नेपाल टेलिभिजनकी पूर्वसमाचारवाचिका रमा सिंहले खेलमा धर्मको जालझेल गरिएको भन्दै आलोचना गरेकी छन् ।

उनले लेखेकी छन्, ‘कसले भन्छ जानकी मन्दिर मुगल शैलीमा बनेको थियो ? के यो लोगोले मिथिला संस्कृतिलाई प्रतिनिधित्व गर्छ ? लोगो बनाउनेले मन्दिरका तस्बिरहरू हेरेर कि हेरेनन् ?’

लोगोमा झट्ट हेर्दा मस्जिदको आकृति देखिन्छ । तर, नियालेर हेर्ने हो भने जानकी मन्दिरको माथिल्लो भागसँग मिल्दोजुल्दो छ । माथिल्लाे भागमा पछाडि रहेका थुम्काहरु भने लाेगाेमा छैनन् ।

यस विषयमा नेपाल प्रेसले जनकपुर बोल्ट्सका मालिक निरोज खतिवडासँग कुराकानी गर्दा उनले उत्पन्न विवादप्रति दु:ख प्रकट गरे । लोगोको आकृति जानकी मन्दिरकै मोहडाबाट सर्लक्क उतारिएको उनको भनाइ छ ।

खतिवडाको भनाइ जस्ताको तस्तैः

यो लोगो हामीले जानकी मन्दिरको फ्रन्ट फेसबाट कट गरेको हो । आईसीसीको प्रोटोकलअनुसार कुनै पनि धार्मिक सम्पदाको पूरा आकृति लोगोमा राख्न मिल्दैन । त्यही भएर सिंगै जानकारी मन्दिर नदेखाइएको हो । माथिको पार्टमात्रै राख्दा धेरैलाई भ्रम पर्न गयो । नियालेर हेर्दा चाहीँ स्पष्ट थाहा हुन्छ कि हुवहु जानकी मन्दिरकै फ्रन्ट पार्ट हो ।

हाम्रो फ्रेन्चाइजले मात्रै हो लोगोमा स्थानीय धार्मिक सम्पदालाई यसरी समेटेको । सुरूमा धार्मिक कुरा नराख्ने कि भन्ने सोचिएको थियो । तर, जनकपुरलाई जानकी मन्दिरले नै सबैभन्दा राम्रो प्रतिनिधित्व गर्न सक्छ भनेर यो निर्णय लिइयो । अहिले गल्ती गरेको फिल पनि भएको छ । जानकी मन्दिरको फ्रन्ट पार्ट कसरी लोगोमा राखिएको छ भनेर बुझाउनलाई हामी एउटा भिडिओ पनि बनाएर देखाउनेछौं ।

जानकी मन्दिरको चित्रमा कुनै पनि छेडछाड गरिएको छैन । सुरूमा हामीले पनि फिल गरेको हो, मस्जिद जस्तो देखियो कि भनेर । तर, मन्दिर सिंगै हाल्न नमिलेको भएर यस्तो देखिन गयो । मान्छेहरूले हेर्दा त्यस्तो फिल गरे । हामी दु:खी छौं । अर्को वर्ष सायद लोगोमा पुनर्विचार पनि गर्न सकिन्छ होला । तर, यो वर्ष चाहीँ हामीले परिवर्तन गर्न सक्ने अवस्था छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर