रास्वपाका प्रमुख सचेतक परियारले भेटे प्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर परियारले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्रीसँग नेता परियारले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको बताइन्छ ।
‘उहाँहरूले प्रधानमन्त्रीसँग पहिलादेखि नै समय मागिराख्नुभएको थियो । के राख्न खोज्नुभएको थियो होला । हिजो आएर राखेर फर्किनुभएको हो’ स्रोतले भन्यो ।
यसअघि पनि सभापति रवि लामिछाने पक्राउ परेपछि उपसभापति डीपी अर्याल र नेता परियारले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
सभापति लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै प्रधानमन्त्रीसँग रास्वपा नेताहरूले चर्को असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । रास्वपाका नेताहरूले आफ्नो चर्को आलोचना गरेको भन्दै प्रधानमन्त्री ओली रुष्ट सुनिदै आएका छन् ।
यसअघि पनि प्रधानमन्त्रीलाई सभापति लामिछानेसहितको विषयमा केन्द्रित रहेर ज्ञापनपत्र बुझाउने तयारी गरेको भएपनि प्रधानमन्त्रीले समय नदिएको भन्दै रास्वपा नेताहरूले गुनासो गरेका थिए ।