दाङमा चार लेनको सडक बन्ने : तुलसीपुर-घोराही खण्ड विस्तारका लागि करिब ४ अर्ब सुनिश्चित
दाङ । तुलसीपुर-घोराही सडक खण्ड चार लेन विस्तार हुने निश्चित भएको छ ।
अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेसँगै सडक विस्तारको काम नेपाल सरकारकै लागतमा हुने निश्चित भएको हो । यसअघि भारतीय एक्जिम बैंकको लगानीमा निर्माण हुन थालेको सो सडक लामो समयसम्म अलपत्र पर्दा सर्वसाधारणले हैरानी खेप्नु परेको थियो ।
सरकारले यसअघि नै उक्त ठेक्का सम्झौता तोडिसकेको थियो । अर्थ मन्त्रालयले यही मंसिर ११ मा राष्ट्रिय योजना आयोगलाई पत्र लेखी घोराही-तुलसीपुर सडक खण्ड चार लेन विस्तारका लागि बजेट सुनिश्चित भएको जानकारी गराएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत ३ अर्ब ९९ करोड ४९ लाख रूपैयाँको वहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयसमक्ष पत्र पठाएको थियो ।
अर्थ मन्त्रालयले सोही बजेटमा आधारित रहेर बहुवर्षीय योजना अन्तर्गत घोराही तुलसीपुर सडक खण्ड विस्तारका लागि सहमति प्रदान गरेको छ । यो सडक खण्डको २१ दशमलब ५८ किमी क्षेत्रमा काम हुनेछ ।
लामो समयसम्म सडक विस्तार अलपत्र परेपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री कार्यालय तथा अर्थमन्त्रालयमा पहल गरिरहेका थिए ।
´अब तत्काल ठेक्का प्रक्रिया शुरु भएर चारलेन विस्तारको काम हुनेछ`, महासचिव पोखरेलले भने,´लामो समयसम्म दाङबासीले दुःख पाउनुपर्यो । अब समयमै काम सम्पन्न गर्नेगरी काम गर्नुपर्छ ।`