समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्समा व्यवस्थापक माग, तलब एक लाख माथि
काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीको व्यवस्थापक समूहमा कर्मचारी माग गरिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले यस कम्पनीको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक योग्य नेपाली नागरिकबाट पुस २ गते मंगलबार कार्यालय समयभित्र दरखास्त फाराम पेश गर्न आह्वान गरिएको छ । दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, अनुभवका कागजात एवम् छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्नेछ ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी लेखा सम्बन्धी कार्यमा न्यूनतम १० (दश) वर्षको अनुभव प्राप्त गरेको वा चार्टड एकाउण्टेन्सी पास गरी ५ (पाँच) वर्षको कार्य अनुभव हासिल गरेको लेखा विज्ञ हुनुपर्नेछ ।
एक वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिनेछ ।
उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्नेछ भने परीक्षाको किसिम कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।
एक लाख तीन हजार छ सय रुपैयाँ मासिक पारिश्रमिक पाइनेछ । त्यसबाहेक दशैं खर्च बापत एक महिनाको पारिश्रमिक बराबरको रकम र भैपरिआउने बिदा वार्षिक १२ दिन सम्म प्रदान गरिने सूचनामा उल्लेख छ ।