नौवस्ता औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अगाडि बढाउन प्रचण्डलाई ज्ञापन पत्र
काठमाडौं । बाँकेमा निर्माणधीन ‘नौवस्ता औद्योगिक क्षेत्र’को निर्माण प्रक्रिया अगाडि बढाउन बाँके बैजनाथको सर्वदलीय टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
सर्वदलीय टोलीले आज खुमलटार पुुगेर औद्योगिक क्षेत्र निर्माणका विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको यो योजना अहिलेको सरकारले अलपत्र पारेको भन्दै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पहल गरिदिन नेपाली कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले समेत आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
औद्योगिक क्षेत्र निर्माणको लागि आफ्नो पहल निरन्तर रहने प्रचण्डले प्रतिबद्धता जनाए ।