कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा अस्वाभाविक चलखेल, सेबोन अध्यक्ष भन्छन्- बुझेर कारबाही गर्छौं
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा अस्वाभाविक चलखेल पाइएको छ । मंगलबार समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा बुधबार एकाएक सकारात्मक सर्किट लागेको हो ।
बुधबार यस बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४५ रुपैयाँ ९० पैसामा पुग्यो । बुधबार यस कम्पनीको २० करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
समस्याग्रस्त घोषणा भएको भोलिपल्टै कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर जोखिम बढाएको छ । समस्याग्रस्त घोषणा भएको कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुमा कम्पनीको शेयरमा चलखेल भएको शेयर लगानीकर्ताहरू नै बताउँछन् ।
‘समस्यामा रहेको कम्पनीहरूमा सकारात्मक सर्किट लाग्नु भनेको शेयरमाथिको धब्बा हो । यसले शेयर बजारलाई जोखिमयुक्त देखाएको छ । यसले नेपाली शेयर बजारप्रति नकारात्मक दिशामा उन्मुख गराउँछ’, शेयर लगानीकर्ता छोटेलाल रौनियार भन्छन् ।
राष्ट्र बैंकले गरेको कर्णाली डेभलपमेन्ट बैंकको निरीक्षणमा बैंक समस्यामा रहेको पाइएको छ । यस बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन तोके बमोजिमको न्यूनतम पूँजी कोष अनुपात कायम नभएको पाइएको छ । यस बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत रहेको छ ।
बैंक समस्यामा रहेकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने भन्दै राष्ट्र बैंकले कारबाही गरेको छ । ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।
समस्यामा रहेको कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्नु भनेको स्वाभाविक प्रवृत्ति होइन । यस्तो खालको वृद्धिले कम्पनीको शेयरमूल्य बढाएर अन्य लगानीकर्ताहरूलाई आकर्षित गराउँदा सोझा लगानीकर्ता फस्ने देखिन्छ । समस्याग्रस्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुले नेपाली पूँजी बजार विकृतिपूर्ण रहेको देखाउने लगानीकर्ताको तर्क छ ।
नेपाली शेयर बजार केही ‘शेयर खेलाडी’हरुको हातमा रहेको भनेर कर्णाली बैंकको शेयर मूल्यको सर्किटले प्रष्ट हुने रौनियारको तर्क छ । ‘यसले नेपाली शेयर बजार जोखिमपूर्ण रहेको देखाउँछ । केही व्यक्तिहरूको पकडमा बजार रहेको छ । उनीहरूले नै चलखेल गरेर यस बैंकको मूल्य बढाएका हुन सक्छन्’, उनले भने ।
समस्यामा रहेको कम्पनीमा सकारात्मक सर्किट लगाएर सोझा लगानीकर्ता फसाउन खोजिएको उनको आशंका छ ।
शेयरमा लगानी गर्दा सामान्यतया लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था हेर्ने गर्छन् । तर, बुधबार कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुले लगानीकर्ताहरूलाई भ्रमित पार्न खोजिएको देखिन्छ । कम्पनीको वित्तीय अवस्था नहेरी मूल्य बढेको देखेर लगानी गर्न आकर्षित हुने हो भने त्यस्ता लगानीकर्ताहरूको लगानी जोखिममा पर्ने लगभग निश्चित हुने जानकारहरु बताउँछन् ।
समस्यामा रहेको कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लाग्नुको पछाडिका कारण खोजेर सेबोनले अनुसन्धान गरेर कारबाही गर्नुपर्ने लगानीकर्ताको माग छ । तर, सेबोन भने यसबारे जानकार नै नभएको पाइएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यसबारे आफूलाई जानकारी नभएकोले प्रतिक्रिया दिए । उनले नेपाल प्रेससँग भने, ‘मैले आजैमात्र सेबोनका अध्यक्षमा पदभार ग्रहण गरेँ । नेप्सेमा भएको गतिविधि मैले हेर्नै भ्याएको छैन ।’
तर, उनले यसबारे बुझेर कारबाहीको कदम चाल्ने जानकारी दिए ।
बोर्डका सूचना अधिकारी नवराज अधिकारीले पनि आफू बिदामा भएकोले आइतबार कार्यालय गएर यसबारे बुझ्ने र थप कदम चाल्ने बताए ।