राष्ट्रिय अनुसन्धानको जागिर छोडेर ‘लाइफ सेभिङ स्किल’ ट्रेनर बनेका भुवनराज – Nepal Press

राष्ट्रिय अनुसन्धानको जागिर छोडेर ‘लाइफ सेभिङ स्किल’ ट्रेनर बनेका भुवनराज

काठमाडौं । काठमाडौं महानगरपालिकाको पुरानो बानेश्वरका भुवनराज लामिछानेको डेढ दशकअघि र अहिलेको दैनिकी फेरिएको छ । त्यो बेला जागिरे दैनिकी बिताइरहेका उनी अहिले व्यवसायी बनेका छन् । पढे-लेखेका अधिकांशहरुको जागिर खाने उद्देश्य हुन्छ, तर उनी जागिर छोडेर व्यवसायमा रमाइरहेका छन् ।

लामिछानेले राष्ट्रिय अनुसन्धान विभागमा उप-अनुसन्धान निर्देशकको रुपमा लामो समय काम गरे । डेढ दशकको जागिरे जीवन त्यागेर उनले व्यवसाय रोजे । उनी आफूले गरेको काममा भन्दा व्यवसायमा आकर्षित भए । लामिछानेलाई जागिरभन्दा व्यवसाय ठीक लाग्यो । र, जागिरबाट राजीनामा दिएर उनी व्यवसायमा होमिए ।

‘सुख्खा तलबमा काम गर्नुपर्ने जागिरभन्दा आफ्नै व्यवसाय ठीक हो भन्ने लाग्यो । त्यसपछि जागिरबाट राजीनामा दिएर व्यवसायमा होमिए’, लामिछानेले भने ।

जागिर छोडेपछि उनी बजाज मोटरसाइकलको डिलरसिपमा आवद्ध भए । त्यसपछि उनले काठमाडौंको जोरपाटीमा मारुती–सुजुकीको डिलर राखे, तर त्यो डिलरलाई भने लामो समयसम्म निरन्तरता दिएनन् । त्यसपछि उनी ‘लाइफ सेभिङ’ व्यवसाय अर्थात स्वीमिङ तथा फिटनेस सेन्टरको व्यवसायमा होमिए ।

डिलरसिप छोडेर खोले रिफ्रेस रि-क्रियसन सेन्टर

काठमाडौंकै बौद्ध-जोरपाटीमा उनको मारुती सुजुकीको डिलरसिप थियो, जुन उनले छोडे । त्यसपछि उनलाई के गर्ने भन्ने भइरहेको थियो । उनलाई एक साथीले यही ठाउँमा इन्डोर स्वीमिङ पुल बनाउन सल्लाह दिए ।

‘अब नयाँ के गर्ने भन्ने भइरहेको थियो । एक साथीले यहाँ इन्डोर स्वीमिङ बनाउन सल्लाह दिए’, उनले भने ।

साथीको सल्लाहअनुसार उनले विभिन्न ठाउँमा गएर स्वीमिङ पुलहरु हेरे । सबैजसो ठाउँमा आउटडोर स्वीमिङ पुलमात्रै देखे, तर इन्डोर त खासै भेटिएनन् । त्यसपछि उनले यसबारे देश-विदेशको प्राक्टिसबारे रिसर्च गरे ।

नेपालमा पनि यस व्यवसायको सम्भावना छ भनेर सल्लाह दिने साथीहरुसँग नै मिलेर रिफ्रेस रि-क्रियसन सेन्टर सञ्चालन गर्ने निर्णयमा पुगेको उनले बताए । प्रारम्भमा उनीसहित तीन जना साथी मिलेर रिफ्रेस रि-क्रियसन सेन्टर निर्माण गर्न थाले । पछि उनीहरु बाहिरिएपछि उनी एक्लै भए ।

अहिले परिवारको साथ सहयोगमा उनले यो व्यवसाय सञ्चालन गरिरहेका छन् । ‘चार जना मिलेर यो व्यवसाय प्रारम्भ गरियो । उनीहरुले छोडेर गए । अहिले मेरो परिवारको साथ र सहयोगसहित मैले चलाइरहेको छु’, उनले भने ।

जाडोमा पौडीदेखि ज्याकुजीसम्मको सेवा

सुरुमा इन्डोर स्वीमिङ सञ्चालन गरे पनि यतिमा मात्रै उनलाई चित्त बुझेन । उनले थप लगानी गरेर एकेडेमिक रुपमा यसलाई सञ्चालन गर्ने निधो गरे । उनले थप लगानी गरेर अहिले इन्डोर स्वीमिङसँगै हट हब सेवा, फिजिकल फिटनेस सेन्टर, जिम, कार्डियो, ज्याकुजी, साउना, क्याफ्टेरियासमेत सञ्चालन गरिरहेका छन् ।

इन्डोर स्वीमिङ पुलमा जाडोमा पनि पौडी खेल्न सकिन्छ, जसका लागि उनले तातो पानीको व्यवस्था मिलाएका छन् । ‘धेरैले स्वीमिङ गर्मीमा मात्रै गर्ने हो भन्ने बुझ्नुहुन्छ । यस किसिमका व्यवसाय त्यहीअनुसार पनि खोलिएका छन्, तर हामीले जाडोमा पनि स्वीमिङ गर्न मिल्ने गरी सञ्चालनमा ल्याएका छौं’, लामिछानेले भने ।

‘लाइफ सेभिङ स्किल’को घोषणा गरेका उनले बेसिक स्वीमिङ कोर्ससमेत सञ्चालन गरिरहेका छन् । उनले सञ्चालन गरेको यस सेन्टरमा व्यक्तिगत र समूहमा स्वीमिङ सिक्न सकिन्छ । जसका लागि उनले ७०० देखि २० हजार रुपैयाँसम्म शुल्क तोकेका छन् । स्वीमिङ सिकाउन तीन जना प्रशिक्षक खटाएका छन् ।

‘यहाँ स्वीमिङ सिकेका विद्यार्थीहरुलाई राष्ट्रियस्तरको खेलाडी बनाउने सोच बनाएर उनीहरुलाई त्यहीअनुसारले सिकाइरहेका छौं’, उनले भने ।

यो व्यवसाय सञ्चालनमा ल्याएको आठ महिनाको अवधिमा सेवाग्राहीको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिएको उनी बताउँछन् । लामिछाने भन्छन्, ‘योबीचमा हामीले सेवाग्राहीको संख्या बढाउन फोकस गरेनौं । जति पनि आउनुभएको छ, उहाँहरुलाई गुणस्तरीय सेवा दिन नै हामी केन्द्रित भयौं । सेवा लिएकाहरुले सन्तुष्ट भएको प्रतिक्रिया दिनुभएको छ ।’

हिटेड स्वीमिङ पुलमा इनार र बोरिङको पानी प्रयोग गर्ने गरिएको छ । जसलाई हरेक दिन अत्याधुनिक मेसिनबाट फिल्टर गरिन्छ । पानी शुद्धीकरणका लागि उनले विभिन्न देशबाट अत्याधुनिक मेसिनहरु ल्याएका छन् ।

पिकअप एण्ड ड्रपको सुविधा

सेवा लिन चाहने ग्राहकहरुलाई सेन्टरले यातायातको सुविधा अर्थात ल्याउने र लैजानेसमेत व्यवस्था गरेको छ । लामिछाने भन्छन्, ‘सेवाग्राही सबैसँग सवारीसाधन हुन्छ भन्ने छैन । जोसँग साधन छैन, उनीहरुलाई हामीले ल्याउने र लैजाने व्यवस्था मिलाएका छौं ।’

वृद्धवृद्धा, गृहिणीहरुलाई समेत आफ्नो सेन्टरमा आउन उनको आग्रह छ ।

‘स्वीमिङ भनेको जीवनमा जान्नैपर्छ । स्वीमिङले मानिसलाई स्वस्थ पनि राख्छ । स्वीमिङसहित हामीले स्वस्थ राख्न भरपुर प्याकेज सञ्चालन गरिरहेका छौं । सबै उमेर समूहले आफूलाई स्वस्थ राख्न ध्यान दिनुपर्छ’, लामिछाने भन्छन्, ‘हामीले पैसाभन्दा स्वास्थ्यलाई ख्याल गर्नुपर्छ । जति नै पैसा भए पनि शरीर स्वस्थ रहेन भने त्यसको कुनै अर्थ रहँदैन । त्यसैले हामीले जोसुकैले पनि पहिला आफू स्वस्थ राख्न ध्यान दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर