लुम्बिनी बौद्ध विश्वविद्यालयमा बढ्दै विदेशी विद्यार्थी – Nepal Press

लुम्बिनी बौद्ध विश्वविद्यालयमा बढ्दै विदेशी विद्यार्थी

रुपन्देही । उच्च शिक्षा अध्ययन गर्न धेरै नेपाली विद्यार्थी विदेश गइरहेको बेला लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने विदेशी विद्यार्थीहरुको चाप बढेको छ । लुम्बिनी विश्वविद्यालयमा चीन, म्यानमार, टर्की, श्रीलंका, थाइल्यान्ड र भारतका विद्यार्थीहरु पढिरहेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले प्रत्यक्ष र अनलाइनबाट अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको संख्या बढ्दै गएको बताए ।

‘विश्वका धेरै देशहरुमा बुद्ध शिक्षाको विषयमा चासो बढिरहेको छ, केहीले अहिले पनि प्रत्यक्ष कक्षा लिएरै पढिरहेका छन् । केहीले अनलाइनबाट पनि पढिरहेका छन्, यो अहिलेको अवस्थामा निकै सकारात्मक पक्ष हो’, उनले भने ।

उनका अनुसार अमेरिकामा विश्वविद्यालयको इकाइ सञ्चालन गर्ने विषयमा प्रारम्भिक छलफल भइसकेको छ । जापान र कोरिया पनि इकाइ सञ्चालन गरेर कक्षा सञ्चालनको तयारी भइरहेको छ । यी देशहरुमा विश्वविद्यालयको टोली नै पुगेर त्यसबारे अध्ययनसमेत भएको छ ।

‘अमेरिकामा बौद्ध शिक्षा पढ्न चाहनेको संख्या बढिरहेको छ, अनलाइनबाट यसको व्यवस्थापनका विषयमा सुझावहरु आइरहेपछि हामीले यसलाई प्रारम्भिक छलफल गरेर सञ्चालन गर्न सकिन्छ भन्ने निचोडमा पुगेका छौं’, उपकुलपति प्रा.डा. बज्राचार्यले भने, ‘त्यसका लागि सैद्धान्तिक पढाइ अनलाइनबाट गर्ने र प्रयोगात्मक कक्षा यही गराउनेगरी छलफल भएको छ । त्यसलाई दुई प्लस दुईको तरिकाले अगाडि बढ्न सकिन्छ, यसले यो क्षेत्रको शैक्षिक क्षेत्रलाई निकै सहज बनाउने छ ।’

उनले नेपालका विद्यार्थी पढ्न बाहिर गएर ठूलो धनराशी खर्चेको विषय यसलाई व्यवस्थित बनाएर जानसके केही क्षतिपूर्ति हुनसक्ने र यहाँको आर्थिक अवस्थालाई पनि सुधार गर्नसक्ने आधार देखिएको बताए ।

विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलले अहिले चीन, म्यानमार, टर्की, श्रीलंका, थाइल्यान्ड र भारतका ९० जना विद्यार्थी पढिरहेको र अमेरिका, जापान र कोरिया जस्ता देशहरुमा नै विश्वविद्यालयको इकाइ सञ्चालन गरेर जान माग आएको बताए ।

‘विगतका वर्षहरुमा भन्दा विदेशी विद्यार्थीको संख्या बढेको छ, यसले बौद्ध शिक्षामा विश्वका विद्यार्थीलाई यहाँ तान्न सकिन्छ भन्ने प्रस्ट देखिएको छ’, उनले भने, ‘सबै विश्वविद्यालयमा विद्यार्थीको संख्या घटिरहेको बेला यहाँ विदेशी विद्यार्थीको संख्या बढ्दै जानु र यहाँ पनि विद्यार्थीको संख्या बढ्दै जानुले सबैलाई ऊर्जा दिएको छ ।’

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले पछिल्लो केही महिनामा गरिएको विभिन्न देशहरुको भ्रमणले विश्वविद्यालयमा पढ्न चाहनेको रुचि बढ्दै गएको बताए ।

‘सबै देशबाट यहाँ आएर पढ्ने, अनलाइन पढ्नेको संख्या बढ्दै गएको छ, नेपाली विद्यार्थी बाहिर पढ्न जाँदा भएको आर्थिक रकम यो विश्वविद्यालयमार्फत केही प्रतिशत उठाउने गरी लागेका छौं’, उनले भने ‘सबैतिरबाट सकारात्मक सन्देश आएको छ, अहिले पनि ९० जना विदेशी विद्यार्थीहरुले पढिरहेका छन्, पीएचडीमा अझै बढी माग छ, त्यसलाई व्यवस्थापन गर्न सकेका छैनौ ।’

उनका अनुसार विदेशी विद्यार्थी यहाँ पढ्न आउँदा उसको परिवार, आफन्तसमेत यहाँ घुम्न आउनसक्ने भएकाले पर्यटन क्षेत्रमा पनि सकारात्मक सन्देश जाने भएको सबै मिलेर त्यो वातावरण बनाउनुपर्ने भएको छ ।

सहप्राध्यापक डा. सागर न्यौपानेले बौद्ध शिक्षाको लागि विश्वमा विश्वसनीयता बढेको सन्देश यसले दिएको बताए । ‘काउन्टर करेन्टका रुपमा लिनुपर्दछ, धेरै नेपाली विद्यार्थी पढ्न बाहिर गइरहेका छन्, विदेशी पनि नेपालमा आएर पढ्न लालायित छन् भन्ने निकै सकारात्मक सन्देश गएको छ’, उनले भने, ‘भौतिक र विद्युतीय रुपमा पढ्न विद्यार्थीलाई छुट दिइनुपर्दछ र यसले राष्ट्रियभन्दा पनि अन्तर्राष्ट्रिय छवि राम्रो भएको मान्नुपर्दछ ।’

उनले बौद्ध शिक्षालाई ब्रान्डिङ गरेर शिक्षामा विविधिकरण गरेर बाहिरबाट अझै विद्यार्थी ल्याउन सकिने योजना बनाउने गरी नियामक निकायले योजना बनाउनुपर्ने बताए ।

विदेशीसहित दुई सय ८९ जना विद्यार्थी दीक्षित हुँदै

बौद्ध विश्वविद्यालयले मंसिर १४ गते प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा प्रधान कार्यालय रहेको लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलका साथै शिक्षामन्त्री विद्या भट्टराईसमेत सहभागी हुनेछन् ।

विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थी दीक्षित हुनेछन् । पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न लागिएको छ । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पु¥याएका भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने तयारी भएको रजिष्ट्रार आचार्यले जनाएका छन् ।

दीक्षान्त समारोहमा विशेष अतिथिका रुपमा म्यानमारका भिक्षु सितगो सायडोको उपस्थिति रहनेछ । बौद्ध धर्म र बौद्ध शिक्षाबारे निकै धेरै अध्ययन गरेका भिक्षु हुन् उनी । त्यस्तै दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिने बताए ।

विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोहसँगै २० औं वार्षिकोत्सवसमेत मनाउँदैछ ।

कसरी अध्यापन भइरहेको छ ?

विश्वविद्यालयका उपकुलपति प्रा.डा. बज्राचार्यले हाल विश्वविद्यालयमा ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको बताए । उनका अनुसार दुईहजार ३०८ विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयमा ९० जना विदेशी विद्यार्थी छन् । गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रुपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न, शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिसहित अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्थाहरु सञ्चालन गर्न विश्वविद्यालयको स्थापना भएको हो ।

२०६१ साल मंसिर १४ गते स्थापित विश्वविद्यालय २० औं वर्षमा प्रवेश गरेको छ । लुम्बिनीमा औपचारिक रुपमा एक दशकअघि मात्रै विश्वविद्यालयले शैक्षिक कार्यक्रम शुभारम्भ गरेको थियो । केन्द्रीय कार्यालय लुम्बिनीमा स्थापनासँगै भौतिक पूर्वाधार निर्माण गर्दै शैक्षिक कार्यक्रम विस्तारमा विश्वविद्यालयले जोड दिएको छ । २०८० देखि ०९० को दशकलाई ‘अबको दशक, प्राज्ञिक र सृजनात्मक’ नारासहित विश्वविद्यालयले प्राज्ञिक कार्यलाई अगाडि बढाइरहेको जनाएको छ ।

विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् ।

लुम्बिनी, बुटवल, देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् । दाङ, काठमाडौं उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् । विश्वविद्यालयले सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धानलाई जोड दिने नीति १६ औं सभाको बैठकबाट लिएको छ । अनुसन्धान केन्द्रमार्फत बौद्ध अनुसन्धान तथा थुप्रै बौद्ध दर्शनका पुस्तक तथा जर्नलहरु प्रकाशित हुँदै आएका छन् ।

यसरी स्थापना भएको थियो विश्वविद्यालय ?

सन् १९९८ मा १६ राष्ट्रका प्रतिनिधिको सहभागितामा विश्व बौद्ध सम्मेलन लुम्बिनीमा सम्पन्न भएको थियो । सो सम्मेलनबाटै विश्वविद्यालय स्थापना गरिएको थियो । शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको भूमिमा आध्यात्मिक वातावरणमा बसेर उच्च तहको बौद्ध शिक्षा अध्ययन हुनुपर्छ भन्दै उच्च तहको बौद्ध विश्वविद्यालय आवश्यक छ भन्ने निष्कर्ष सम्मेलनको थियो, तर स्थापनाको झन्डै एक दशकसम्म यो विश्वविद्यालय गुमनाम जस्तै रह्यो । २०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयको ०६७ सालबाट मात्रै शैक्षिक कार्यक्रम सुरु भएको थियो । सुरुमा पिएचडीको कार्यक्रम सुरु भएको थियो ।

लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापना गर्ने भनियो, तर यसको केन्द्रीय कार्यालय काठमाडौंमा राखियो । लुम्बिनीमा सम्पर्क कार्यालयका रूपमा एउटा भवनमा सीमित गरियो । साढे दुई बिघा जग्गा छुट्याइयो । अन्य कामले गति लिन सकेन ।

अहिले कस्तो छ विश्वविद्यालय ?

अहिले तीनवटा संकाय सञ्चालनमा छन् । बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स । दुईवटा आंगिक क्याम्पस छन्  । केन्द्रीय क्याम्पसमा चालू शैक्षिक कार्यक्रममा स्नातकोत्तर तहमा बौद्ध अध्ययन, अक्र्यालोजी र म्युजोलोजी सञ्चालनमा छन् । त्यस्तै स्नातक तहमा भोट बौद्ध अध्ययन, ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट र बिए आरडीको अध्ययन हुँदै आएको छ ।

बौद्ध विश्वविद्यालयको बुटवलमा सिटी क्याम्पस सञ्चालनमा आएको छ । यहाँ बिए, एलएलबी र ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । बुद्धसँग सम्बन्धित देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्सअन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा रहेको छ । विश्वविद्यालयले आठ कलेजमा सम्बन्धन दिएको छ । पाँचवटा सहकार्यमा सञ्चालित क्याम्पस रहेका छन् । ३० शैक्षिक कार्यक्रम संचालन छन् ।

विश्वविद्यालयबाट ४० जनाले बौद्ध दर्शनमा पीएचडी (विद्यावारिधि) गरिसकेका छन् । विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यका अनुसार बौद्ध विश्वविद्यालयमा बौद्ध अध्ययन संकायअन्तर्गत विद्यावारिधि कार्यक्रम चालू रहेको छ भने शैक्षिक कार्यक्रमबाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानका कार्यक्रम भइरहेको छ । सबै कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालित छन् ।

साढे २ बिघा जमिनमा सुरु भएको विश्वविद्यालयको अहिले ११३ बिघा जमिन छ । विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलका अनुसार विश्वविद्यालय स्थापना गर्दा करिब साढे दुई बिघा जमिन थियो । तर, अहिले लुम्बिनीसहित विभिन्न स्थानमा विश्वविद्यालयको ११३ बिघा जमिन रहेको छ । विश्वविद्यालयको देवदहमा ९२ बिघा जमिन रहेको छ । बुटवल-१२ नयाँगाउँमा करिब ६ बिघा जमिन र लुम्बिनीमा करिब १५ बिघा जमिन रहेको छ ।

अहिले केन्द्रीय क्याम्पस, सिटी क्याम्पस, केन्द्रीय कार्यालय, केन्द्रीय पुस्तकालय, पदाधिकारी आवास, शिक्षक आवास, छात्रछात्रावास निर्माणका काम सम्पन्न भएका छन् । पदाधिकारीका लागि आवास गृहदेखि १६ जनाका लागि शिक्षक आवास भवन बनेको छ भने करिब सयजना विद्यार्थीका लागि छात्रावास बनेका छन् । त्यस्तै विश्वविद्यालयलाई अझ व्यवस्थित गर्ने क्रममा अनुसन्धान केन्द्र लुम्बिनी र देवदहमा प्रशासनिक भवन निर्माण कार्य जारी रहेको छ ।

अहिले ९३ पूर्णकालीन शिक्षक, कर्मचारी र पदाधिकारी कार्यरत छन् । विषयगत शिक्षक कम छन् । पूर्णकालीन शिक्षक कर्मचारी नहुँदा समस्या रहेको विश्वविद्यालयले जनाइको छ । विश्वविद्यालयले गति बढाउँकदै लगे पनि यहाँ पर्याप्त शैक्षिक जनशक्ति व्यवस्थापन हुन सकेको छैन । सरकारबाट दरबन्दी व्यवस्थापन हुन नसकेको र सीमित आर्थिक स्रोतसाधनबाट भए पनि गति बढाउँदै लगिएको विश्वविद्यालयका पदाधिकारी बताउँछन् । दरबन्दी व्यवस्थापनका लागि विश्वविद्यालय अनुदान आयोगमा, मन्त्रालयमा प्रस्ताव पेस गरिएको र विश्वविद्यालय सभाले २१९ जनाको दरबन्दी स्वीकृत गरेको छ ।

बौद्ध दर्शन अध्ययन केन्द्र बन्नेछ: रजिस्ट्रार डा. आचार्य

विदेशी विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गइरहेको यस विश्वविद्यालयलाई अझ व्यवस्थित गर्न विभिन्न योजना अगाडि सारेका छौं । अहिले आवश्यक स्रोतको व्यवस्थापन गर्न सकिए विदेशी विद्यार्थी थप आकर्षित हुनेछन् । अहिले विश्वविद्यालयले श्रीलंका, म्यानमार, भारत, चीन, अमेरिकासहितका विभिन्न देशबाट विज्ञहरू ल्याएर अध्ययनका काम अगाडि बढाउँदै आएको छ ।

स्थापनाको पहिलो दशकमा गति लिन नसके पनि पछिल्लो समयमा निकै महत्वपूर्ण काम भएका छन् । अहिले तीन वटा संकाय बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स सञ्चालनमा छन् ।

संसारभरका बौद्ध दर्शनमा ज्ञान राख्न चाहनेका लागि विश्वविद्यालय राम्रो अध्ययनको केन्द्र बनिरहेको छ । शैक्षिक कार्यक्रमबाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानका कार्यक्रम भइरहेका छन्न् । अनुसन्धान केन्द्रले बौद्ध दर्शनका पुराना ग्रन्थहरूको अनुवाद गरिरहेका छन् । पाली संस्कृतिमा रहेका बुद्धिजमसँग सम्बन्धित महत्ववपूर्ण ग्रन्थहरूको नेपालीकरण गरिएको छ । लगभग एक दर्जन तयार भएका छन् भने तीमध्ये केही प्रकाशितसमेत भएका छन् । नेपालका सातवटै प्रदेशमा रिसर्च सेन्टरहरूको स्थापनाका लागि अध्ययनका काम भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर