उपचुनावः आज मध्यरातबाट मौन अवधि, कस्तो छ दलहरुको आंकलन ? – Nepal Press

उपचुनावः आज मध्यरातबाट मौन अवधि, कस्तो छ दलहरुको आंकलन ?

काठमाडौं । स्थानीय तहको उपचुनावको मौन अवधि आज मध्यरातबाट लागू हुँदैछ । मौन अवधिअघि दल र नेता अन्तिम प्रचारमा जुटिरहेका छन् । मिसन ०८४ को अभियानमा रहेका ठूलादेखि नयाँ राजनीतिक दलहरूले मंसिर १६ लाई शक्ति परीक्षणसहित रणनीतिक रूपमा लिएका छन् ।

रिक्त ४४ पदमध्ये कांग्रेसबाट ओखलढुंगा जिसस प्रमुखमा टेकराज भट्टराई र कैलालीमा टीकाकुमारी चौधरी निर्विरोध भइसकेका छन् । भने पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती पनि सर्वसम्मत भइसकेका छन् ।

बाँकी ४१ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदको निर्वाचनलाई राजनीतिक दलहरूले प्रतिष्ठाको रूपमा लिएर मैदानमा उत्रिएका छन् ।

अहिलेको निर्वाचनमा केही क्षेत्रबाहेक ठूला दलहरूले चुनावी तालमेल गरेका छैनन् । एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले सबै दलहरूले आफ्नो जनमत परीक्षण गर्ने अवसर लिएका छन् । शहरी क्षेत्रको जनमत कीर्तिपुरको मेयर, वडा नम्बर १ र ४ र काठमाडौं महानगरपालिकाका १६ को परिणामले प्रतिविम्बित गर्नेछ ।

काठमाडौंबाहेक दलहरूको ध्यान जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, महाबु गाउँपालिकाको अध्यक्ष, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा हुन लागेको निर्वाचनमा छ ।

यस्तो थियो ०७९ को गणित

०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुरसहित ग्रामथान, स्वामीकार्तिक खापर, नलगाड, महाबु र गौरीशंकरले कांग्रेसले जितेको थियो भने, माओवादीले सर्केगाड र पुथा उत्तरगंगा जितेको थियो । उपनिर्वाचन हुनेमध्ये २६ पद कांग्रेस, एमाले र माओवादी ८/८, जसपा नेपाल र स्वतन्त्र उम्मेदवारले जितेको एक/एक सीटमा शक्ति परीक्षण हुँदैछ ।

गएको निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित भएका थिए । त्यहाँ एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०८, माओवादीका शिवशरण महर्जनले ४ हजार ९०, एकीकृत समाजवादीका वटुकृष्ण थापाले १ हजार १५३, राप्रपाका जितबहादुर विष्टले ५७२ मत ल्याएका थिए ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा ०७९ को चुनावमा कांग्रेसबाट जयप्रकाश गच्छदारले ७ हजार ६०५ मत ल्याएर विजयी भएका थिए । त्यहाँ एमालेका शिवनारायण माझीले ६ हजार ९३, माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७ मत ल्याएका थिए ।

दोलखाको गौरीशंकर गाउँपालिकामा भने गएको निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवार श्यामसुन्दर तामाङलाई सघाएको थियो। कांग्रेसका तामाङ ४ हजार ७४१ मत ल्याएर विजयी हुँदा एमालेका मुना शिवाकोटीले ३ हजार २८१ मत ल्याएकी थिइन् । अहिले यहाँ मुख्य तीन दलले नै आआफ्नो उम्मेदवार अघि सारेका छन् ।

जाजरकोटको नलगाड नगरपालिका उपमेयरमा माओवादीको समर्थनमा कांग्रेसकी सरिता सिंहको ५ हजार ४०६ मत ल्याएर विजयी भएकी थिइन् भने एमालेकी सुनीता बोहरा ३ हजार ३९३ मा रोकिएकी थिइन् ।

महाबु गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका लक्ष्मण गुरूङ २ हजार ९७९ मत ल्याएर विजयी भएका थिए । भने एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका थिए ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी मैना जोशी १८ सय १० मत ल्याएर विजयी भएकी थिइन् भने एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७, माओवादीका सुरेशबहादुर रोकाया १२ सय १३ मत ल्याएका थिए ।

माओवादीको गढ मानिएको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढा ४ हजार ५९ मत ल्याएर विजयी हुँदा कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १०, एमालेका धर्म घर्ती बुढा १ हजार ८१२ मत ल्याएका थिए। तर, अहिले माओवादीलाई हराउन एमाले र कांग्रेसबीच चुनावी तालमेल भएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकामा कांग्रेसको समर्थनमा माओवादीका चन्द्रसिंह कार्की ३ हजार २६९ मत ल्याएर विजयी भएका थिए । भने एमालेकी जुन कुमारी फडेराले १ हजार ६४ मत ल्याएकी थिइन् ।

यो निर्वाचनमा एक्लै चुनावमा गएकाले कांग्रेस र माओवादीलाई आफ्नो विरासत जोगाउन चुनौती देखिन्छ । भने, एक्ला एक्लै चुनाव लडेको फाइदा लिएर एमालेले सीट थप्ने दाउमा छ । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले केही क्षेत्रमा चुनावी तालमेल समेत गरेका थिए ।

अहिले समाजवादी मोर्चामा आबद्ध माओवादी, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव पक्षीय नेपाल समाजवादी पार्टीसँग पनि सहकार्य गरेको छ। यद्यपी, अधिकांश ठाउँमा आफ्नै उम्मेदवारी दिएको छ ।

उपनिर्वाचनको केन्द्रबिन्दु भने अहिले कीर्तिपुर बनेको छ । यहाँ कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । माओवादीका उम्मेदवार महर्जनलाई एकीकृत समाजवादीले पनि सघाएको छ । उनी गएको निर्वाचनमा तेस्रो भएका थिए ।

तीन ठूला दलबाहेक स्वतन्त्र उम्मेदवार राजमान महर्जनको पनि राम्रो चर्चा छ । लामो समयदेखि सरसफाइ अभियन्ता रहेका महर्जनको पक्षमा धरानका मेयर हर्क साम्पाङले खुलेरै भोट मागेपछि उनको पक्षमा लहर देखिन थालेको समर्थकको दाबी छ ।

प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले पनि पहिलो पटक स्थानीय तहमा यही उपनिर्वाचनबाट आफ्नो शक्ति परीक्षण गर्दैछ । तर, कीर्तिपुरमा आफ्नो उम्मेदवार नउठाएपनि स्वतन्त्र उम्मेदवार महर्जनलाई नै समर्थन गर्नसक्ने बताइएको छ । भलै, निर्णय भने गरिसकेको छैन ।

राप्रपाले पनि गएको निर्वाचनमा भन्दा जनमत सुधार गरेको दाबी गर्दै शक्ति परीक्षण गर्दैछ ।

बिहीबारको चुनावी सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कांग्रेस, एमाले र माओवादीले बन्धक बनाएको भन्दै जनताले भोटमार्फत् विकल्प खोज्नुपर्ने बेला आएको बताए ।

उनले भने, ‘यो पटक मन त मत परिवर्तन गरौं, राप्रपाले यो देशमा आफूलाई नयाँ विकल्पको साथ अगाडि उभ्याएको छ । प्रष्ट दृष्टिकोणका साथ अघि बढेको छ। यो पार्टीलाई मतदान गरेर देश बचाउने र बनाउने अभियानमा सहयोग गर्न अपिल गर्छौँ ।’

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशभर नै माओवादीको लहर देखिएको दाबी गरे ।

उनले भने, ‘यो चुनाव सुशासन सामाजिक न्यायको पक्षधरमा कि त्यसको विरोधमा भन्ने सन्देश दिन्छ । त्यसको प्रतिनिधित्व कीर्तिपुरले गर्दैछ । जनताले भ्रष्टाचारविरोधी अभियानलाई साथ दिएर हामीलाई जिताउँछन् ।’

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि कांग्रेस एमाले मिलेर सरकारबाट हटाएको जनताले बुझेको उनको जिकिर छ । माओवादीले यो उपनिर्वाचनमा सुशासनको मुद्दालाई एजेण्डा बनाएको छ । हिजो अध्यक्ष प्रचण्डले पनि एक भिडियो सन्देश जारी गर्दै भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्नको लागि साथ दिन अपिल गरेका थिए ।

माओवादी केन्द्रको सचिव लीलामणि पोखरेल पनि यो उपनिर्वाचनमा आफ्नो पार्टीले जितेको सीट सुरक्षित गरेर केही थप गर्ने दाबी गर्छन् ।

उनले भने, ‘म अहिले मधेश प्रदेशमा छु, यहाँ सात वटा वडाध्यक्षको निर्वाचन हुँदैछ । त्यहाँ हामीले तीन वटामा हामीले जित्ने आधार देखेका छौं । अहिले हाम्रो देशव्यापी रुपमा सुधार भएको छ । पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको कामले जनताको आकर्षण बढेको छ। यो चुनावी माहोलले पनि देखाएका छ । अहिले हामीले जितेका ८ क्षेत्रमा चुनाव हुन लागेको हो । त्यसमा हामीले केही सीट थप्ने निश्चित भइसकेको छ। हाम्रो एक ठाउँमा त सर्वसम्मत भइसकको छ ।’

उनले मधेशमा एक क्षेत्र जितेको ठाउँमा तीन ठाउँमा जित्ने सुनिश्चित भइको जिकिर गर्दै त्यही रेसियोमा देशभर नै जाने जिकिर गरे । एक्ले लडेपनि गएको निर्वाचन जितेको क्षेत्रमा जित सुनिश्चित गरेर केही सीट थप गर्नसक्ने दाबी गरे ।

माओवादीका नेताहरूले दाबी गरेपनि एक्लै लड्दा आफूले जितेको सीट सुरक्षित गर्न नै सहज छैन । यो कुरा कांग्रेसको हकमा पनि लागू हुन्छ । तर, कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पहिला जितेको भन्दा धेरै यो निर्वाचनमा जित्ने आधार देखिएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘अहिले अधिकांश ठाउँमा हामीले जितेको ठाउँमा चुनाव हुँदैछ । हामीले पहिला जितेको भन्दा धैरै ठाउँमा जित्ने आधार बनाइसकेका छौं । हामीले विगतमा जितेको ठाउँमा जसरी पनि जित्नुपर्छ भनेर लागिरहेका छौं । हामीले उत्तेजित नभइ सभ्य ढंगले भोट मागेका छौं, मागिरहेका छौं । प्रतिस्पर्धीसँग हार्दिकताको साथ अघि बढिरहेका छौं ।’

सबै दलहरूले चुनावी गठबन्धन नगरेकाले एक्लाएक्लै लड्दा आफूले जितेको क्षेत्रमा सुरक्षित गर्न सहज हुने उनको विश्वास छ ।

उनले थपे, ‘हामीले कीर्तिपुर जितेका थियौं, त्यहाँ जित्छौं, काठमाडौं १६ पनि हामीले जितेका थियौं भोटेका अन्तर कम थियो । तर, हामीले अहिले सुधारेका छौं । हामीले निर्वाचन हुने मुख्य पदहरूमा मेहनत गरिरहेका छौं । अन्यन्त्र हाम्रो कमजोर भएको ठाउँमा पनि एक्लै लडेर कोसिस गरिरहेका छौं ।’

उनले यो निर्वाचनमा केही क्षेत्रबाहेक मुख्य प्रतिस्पर्धी सत्ता सहयात्री दल एमाले नै भएको बताए ।

उनले थपे, ‘यो उपनिर्वाचनले गठबन्धनमा कुनै प्रभाव नपार्ने भएकाले, प्रतिनिधिसभाको निर्वाचन भएको भए समस्या हुनसक्थ्यो । तर, यो निर्वाचनले कुनै असर नगर्ने भएकाले हामीले मित्रवत् प्रतिस्पर्धा गरौं, तिक्तता नगरौं भन्ने कुरामा सहमत छौं ।’

एक्लाएक्लै लड्दा कांग्रेस एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती भइरहेको बेलामा एमाले पनि उत्साहित छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मतदाताको घरदैलोमा जाँदा एमालेप्रति जनताको विश्वास बढेको पाइएको बताए ।

उनले भने, ‘हामीले कीर्तिपुरको मेयर, काठमाडौं १६ सहित निर्वाचन हुने बहुमत क्षेत्रमा जित्ने रणनीतिका साथ हामी सुरूदेखि नै लागेका हौं । हामीले जितेको त ८ ठाउँमा मात्रै चुनाव हुन लागेको हो । हामीले आफ्नो सीट सुरक्षित गरेर उपनिर्वाचन हुनेमध्ये बहुमत क्षेत्रमा जित्ने आधार देखेका छौं । जित्छौं पनि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *