कोशीको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बेरुजू
विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख रूपैयाँ बेरुजू देखिएको छ ।
स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रूपैयाँ बेरुजू भएको बताए । उनले सोमध्ये ३ करोड ५ लाख १ हजार रूपैयाँ असुली गर्नुपर्ने देखिएको जानकारी दिए ।
मन्त्री राईका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा मात्रै १२ करोड ५ लाख बेरुजू भएको छ । आर्थिक वर्ष २०७९/८० मा ११ करोड २७ लाख रूपैयाँ बेरुजू देखिएको थियो । उनले बेरुजुमध्ये नियमित गर्नुपर्ने बेरुजू ३७ करोड ६२ लाख ७८ हजार रूपैयाँ रहेको बताए । मन्त्रालयमा पेस्की बेरुजू भने ७१ लाख ३३ हजार रूपैयाँ छ । मन्त्री राईले मन्त्रालयको बेरुजू कम गर्नका लागि प्रयास भइरहेको जानकारी दिए ।
धेरै जसो दरबन्दी रिक्त
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मातहतका धेरैजसो पद रिक्त रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ११ तह ५ वटा दरबन्दी नै रिक्त रहेको छ ।
यस्तै कोशी प्रदेशमा दरबन्दी रहेका कन्सल्टेन्ट,वरिष्ठ कन्सल्टेन्ट अव्सट्रेटिसियन एण्ड गाइनोकोलोजिष्ट पद पनि सबै रिक्त रहेको मन्त्रालयले जनाएको छ । यस्तै नवौँ,दशौँ तहका वरिष्ठ पेडियाट्रिसियन,जनरल फिजिसियन,वरिष्ठ कन्सल्टेन्ट प्याथोजिष्ट,वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टका सबै पद रिक्त रहेको छ ।
मन्त्रालय अन्तर्गतका विभिन्न पदमा ३७१ वटा दरबन्दी खाली रहेको मन्त्रालयले जनाएको छ। दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवामा समस्या देखिएको मन्त्री राईले बताए ।
प्राविधिक दरवन्दीहरु सबै खाली रहेकाले पनि स्वास्थ्य क्षेत्र अस्तव्यस्त रहेको बताउँदै उनले सरकार र प्रदेश लोकसेवा आयोगसँग समन्वय गरेर छिट्टै पदपूर्ति गर्ने तयार मन्त्रालयको रहेको बताए ।