तीनै तहबीचको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताएका छन् ।
बिहीबार मोरङको रंगेली नगरपालिका ३ मा रहेको रत्न माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गर्दै विकासका लागि सबै सरकारको सहकार्य हुन पर्ने बताए ।
उनले शिक्षा क्षेत्रको विकासमा पनि सहकार्य आवश्यक रहेको औंल्याए । सिमित श्रोत रहेका कारण एक्लैले विकास गर्न सक्ने अवस्था समेत नरहेको उनले प्रस्ट्याए । अहिले केन्द्र तथा प्रदेशमा नयाँ सरकार आएपछि केही उत्साह देखिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘अहिलेको सरकार आएपछि केही उत्साह देखिएको छ, अब सबै मिलेर काम गरौँ ।’
उनले आर्थिक अवस्था खस्किएकोले विकासको काम सोचेजति हुन नसकेको बताउँदै भने, ‘अब प्रदेशले आर्थिक अवस्था सुधार गर्दै छ, अब काम हुन्छ ।’
मुख्यमन्त्री कार्कीले गत वर्षको तुलनामा यो वर्ष प्रदेशमा १८ प्रतिशत राजश्व बढेको बताए ।
कार्यक्रममा बोल्दै सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले विद्यालय सुधारका लागि समुदाय नै जागरुक हुनु पर्ने बताए । उनले शिक्षामा सुधार गर्न सरकारले सहयोग गर्ने बताए । यस्तै रंगेली नगरपालिकाका मेयर दीलिप बगडियाले बिधालयमा यातायातका लागि बसको व्यवस्था साथै प्रविधिक शिक्षाका लागि सहयोग गर्न प्रदेश सरकार र संघ सरकारसँग माग गरे ।
मुख्यमन्त्री कार्कीले रंगेली नगरमा भएका अन्य विकास निर्माणका कामको समेत अवलोकन गर्नुभएको थियो । सिंचाइ, कृषि बजार र कृषि भवनको अवलोकन गरे ।