सागसब्जी र बेर्ना बेचेरै वार्षिक २६ लाख आम्दानी
वालिङ । स्याङ्जाका एक किसानले व्यवसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर २६ लाख रुपैयाँ आम्दानी गरेका छन् । वालिङ नगरपालिका- ६ लालुपातेका किसान रेशम रेग्मी मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका हुन् ।
उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी भएको बताए ।
उनले खेत तथा बारीमा काउली, बन्दा, गोलभेंडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आएका छन् ।
विसं २०५२ बाट व्यवसाय थालेका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गरे । व्यवसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गरेको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिएका छन् ।
‘२०स रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चार वटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु’, उनले भने ।
यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उनले बताए ।
कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले व्यवसाय सञ्चालनमा सहज भएको उनी बताउँछन् । कृषि कर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उनले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाएका थिए ।