निर्जीवन बीमा व्यवसाय : सगरमाथा लुम्बिनी ‘नम्बर वान’, कसले कति गरे काराेबार ? – Nepal Press

निर्जीवन बीमा व्यवसाय : सगरमाथा लुम्बिनी ‘नम्बर वान’, कसले कति गरे काराेबार ?

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।

चालू आवको साउनदेखि कात्तिक मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । जसका लागि उनीहरूले ८ लाख ९७ हजार २३५ वटा बीमा लेख बिक्री गरेका छन् ।

निर्जीवन बीमा व्यवसायमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ‘नम्बर वान’ बनेको छ । यस कम्पनीले चार महिनामा एक अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जसका लागि यस कम्पनीले ९१ हजार ७७३ वटा बीमा लेख बिक्री गरेको छ ।

त्यस्तै, दोस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ९९ हजार ४२४ वटा बीमा लेख ब्रिकी गरेर एक अर्ब ४६ करोड २६ लाख बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा रहेको शिखर इन्स्योरेन्सले एक अर्ब ४१ करोड ३ लाख बीमा शुल्क संकलन गरेको छ ।

यस अवधिमा अन्य तीन बीमा कम्पनीहरूले पनि एक अर्बमाथिको व्यवसाय गरेका छन् । जसमा नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड २७ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १४ करोड ९८ लाख र आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले एक अर्ब १३ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

‘लास्ट’ बन्यो नेशनल इन्स्योरेन्स

बीमा व्यवसायको दौडमा नेशनल इन्स्योरेन्स कम्पनी ‘लास्ट’ बनेको छ । चालू आवको चार महिनामा यस कम्पनीले ४९ करोड ३ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको हो । जसका लागि यस कम्पनीले ९ हजार ४६७ वटा बीमा लेख जारी गरेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ भने प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले ७८ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा युनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड १ लाख संकलन गरेको छ । यसका साथै दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ शुल्क संकलन गर्दा एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख बीमा शुल्क संकलन गरेको छ ।

लघु बीमाले उठाए २६ करोड

चालू आर्थिक वर्षको चार महिनामा लघु बीमा व्यवसाय गर्ने चार कम्पनीले २६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसका लागि यी कम्पनीहरूले एक लाख एक हजार ३६१ वटा बीमा लेख जारी गरेका छन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी ७ करोड ९० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ४१ लाख संकलन गरेको छ ।

त्यस्तै, स्टार माइक्रोले ५ करोड ८९ लाख बीमा शुल्क संकलन गरेको छ । चार महिनामा ट्रस्ट माइक्रो इन्स्योरेन्सले २० हजार ९९२ वटा बीमा लेख बिक्री गरेर ५ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर