मौद्रिक नीतिको समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गर्‍याे: सिबिफिन – Nepal Press

मौद्रिक नीतिको समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गर्‍याे: सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले मौद्रिक नीतिको समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको बताएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाबारे टिप्पणी गर्दै सिबिफिनले पर्ख र हेरको रणनीति अवलम्बन गरेको जनाएको हो ।

अर्थतन्त्रका बाह्य सूचकहरूमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको परिप्रेक्ष्यमा अर्थतन्त्रका आन्तरिक सूचकहरू भने झन् शिथिल हुँदै गएको परिसंघकाे भनाइ छ ।

तत्कालीन परिस्थिति र आम अपेक्षाहरूलाई सुक्ष्मरुपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यवसायीक एवं बैंकिङ गतिविधिहरूलाई जीवन्त बनाउनका लागि लचकता अपनाएको थियो ।

मौद्रिक नीतिले आमरुपमा आशा र उत्साह जगाएकोमा परिसंघले समयसापेक्ष मौद्रिक नीतिको स्वागत गर्दै आगामी निर्देशन तथा समीक्षाहरूमार्फत समयानुकुलरुपमा थप नीतिगत सहजता हुनुपर्ने आवश्यकता बोध गरेको जनाएको छ ।

‘मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरू कार्यान्वयनबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरूको खराबरनिष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररुपमा वृद्धि भइरहेको, अपेक्षाकृतरुपमा कर्जा लगानी हुन नसकेको, आर्थिक एवं बैंकिङ गतिविधिहरूले समेत गति लिन नसकिरहेको, आन्तरिक मागमा कमी आइरहेको, सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको र निजी क्षेत्रको मनोबल समेत खस्किरहेको वर्तमान परिस्थितिकावीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरूलाई नीतिगत सम्बोधन गर्नुपर्ने अवस्थामा विगत कै कार्यदिशालाई मात्र निरन्तरता दिइनुले मौद्रिक नीतिले लिएका लक्ष्यहरूको प्राप्ति र आर्थिक क्रियाकलापहरूले आशातितरुपमा गति नलिने हो कि भन्ने चासो बढाएको छ’, सिबिफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता रही न्यून ब्याजदर कायम भएको छ । सार्वभौम साख मूल्याङ्कनमा नेपालले हालैमात्र प्राप्त गरेको सन्तोषजनक नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पुँजी परिचालनको लागि ठूलो अवसर सृजना भएको समेत सिबिफिनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर