सरुभक्तसँग हिजो आजका कुरा
साहित्यकार सरुभक्त बिहान सबेरै उठ्छन् । आधा घण्टादेखि एक घण्टासम्म मर्निङ वाकमा निस्कन्छन् । मर्निङ वाकमा पनि उनको हातमा कुनै न कुनै पुस्तक हुन्छ । प्रायः छोरी सरस्वती प्रतीक्षाकै घरमा रहन्छन् । शनिबार बिहान चाहिँ आफ्नै घरमा आउँछन् । घरमा माइला भाइको छोरी बुहारी बस्छन् ।
पोखरालाई नै कर्मथलो बनाएका सरुभक्त उमेरले ७० आसपासका भए । तर, लेखनमा उस्तै सक्रिय छन् । दर्जनौं कविता संग्रह ल्याइसकेका छन् । दर्जनौं नाटक लेखिसकेका छन् । नाटक निर्देशन र अभिनय गरेका छन् । आजभन्दा ३३ वर्षअघि २०४८ सालमा ‘पागल बस्ती’ उपन्यासमार्फत् मदन पुरस्कार जितेका उनका ‘तरुनी खेती’, ‘चुली’ लगायत किताबहरू चर्चित छन् ।
सरुभक्तहरूले पोखरेली युवा सांस्कृतिक परिवार स्थापना गरे । २०३५ सालमा चर्चित कवि तथा गीतकार हरिभक्त कटुवाललाई अतिथि बनाएर सरुभक्तहरूले आजभन्दा ४६/४७ वर्षअघि टिकटमा मुक्तक कार्यक्रम चलाए । यही कार्यक्रममा अरुण थापाले पहिलोपटक गीत गाए, ‘जति माया लाए पनि, जति कसम खाए पनि’ । विनोद गौचनले लेखेको यो गीत कालान्तरमा रेडियो नेपालमा रेकर्ड भयो, अनि चर्चित भयो । यही कार्यक्रममा अर्जुनजंग शाहीले सरुभक्तको नाटकमा अभिनय गरे । अलि पछि उनी शाही नेपाली चलचित्र संस्थानमा गएर नायक भए ।
पोखरेली युवा सांस्कृतिक परिवार सुरू गर्दाताका साहित्यकार, कलाकर्मीहरूमध्ये प्रकट पंगेनी शिव, विनोद गौचन, विजय बजिमय, सरोजगोपाल बज्राचार्यहरू दिवंगत भइसके । ‘आँखाको निद खोसी लाने’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’ जस्ता गीत लेख्ने विक्रम गुरुङ युकेतिर छन् । साहित्यकार उषा शेरचन कहिले अमेरिका, कहिले नेपाल गरिरहन्छिन् । संस्थाको दोस्रो अध्यक्ष वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्सायन पोखरामै सक्रिय छन् ।
‘हङकङ पोखरा’, ‘चाइना कम्पनी’, ‘भेडी गोठैमा’ जस्ता चर्चित गीतसमेत लेखेका सरुभक्तलाई हामीले पोखरामै भेट्यौं । अनि लेखन र अध्ययनका कुरा गर्यौं । हिजो र आजका कुरा गर्यौं । जीवनका कुरा गर्यौं ।
– अहिले सम्झँदा ५० वर्षअघिको पोखरेली सांस्कृतिक परिवार कस्तो लाग्छ ?
हामी केटाकेटीले केही गरौं भनेर पहल गरेको हो । यो संस्था यति दीर्घायू होला भनेर हामीले सोचेकै थिएन । त्यो उमेरमा सोच्ने कुरा पनि भएन । संस्थागत क्रियाकलाप गरौ भन्ने भावनाले प्रेरित भएर संस्था खोलेका थियौं । नाटकको मेकअप दुर्गा बराल वात्सायन दाइले गरिदिनुहुन्थ्यो । मेकअप गर्ने आइडिया हामीलाई थिएन । उहाँले नै सेट डिजाइन पनि गरिदिनुहुन्थ्यो ।
-‘पागल-बस्ती’ उपन्यासको सन्दर्भमा जाऔं न !
२०३८ सालतिर नाटक खेल्ने शंकरराजा श्रेष्ठ भन्ने भाइ र घान्द्रुक घुम्न गयौं । घान्द्रुकबाट फर्कँदा नौडाँडाँ भन्ने ठाउँ छ । त्यहाँ आएपछि वरिपरिको परिवेश रमाइलो लाग्यो । शंकर भाइलाई भनेँ, ‘आज यहीँ बसौं ।’ अनि त्यहीँ बस्यौं । साँझतिर यसो चिया पसलतिर गएका थियौं । त्यहाँ भर्खरैको केटो माग्न आइरहेको थियो । अनि साहुजीले उता जा भनेर लखेटिरहेको थियो । त्यो दृश्यले मलाई स्ट्रइक गर्यो, ‘भोक लागेर आएको होला, पागल त होइन होला त्यो केटो ।’
भोलिपल्ट घर आएँ । सानो कपी लिएँ । र ‘पागल-बस्ती’ लेखेँ । अब चाहिँ उपन्यास लेख्छु भन्ने आँट आयो । त्यहीबेला केही च्याप्टर लेखेँ । एक ठाउँमा गएर अड्कियो । लामो समयसम्म बन्द भयो । अनि २०४४ सालपछि उपन्यासलाई पूर्णता दिएँ ।
‘पागल-बस्ती’पछि ‘तरुनी खेती’ लेख्नुभयो है ?
‘पागल-बस्ती’ पछि केही समयसम्म मैले उपन्यास लेख्न सकिनँ । २०५३ सालतिर ‘तरुनी खेती’ छापियो । ‘पागल-बस्ती’को ढोकाभन्दा बाहिरको संसार कस्तो छ त भनेर ‘तरुनी खेती’ बाट चिहाएको हुँ । पुरुष प्रधान समाजमा पुरुषको हैकम चल्छ । नारी त वस्तुकरण मात्रै भएको छ । अत्याचार भएको छ । तर, नारी र पुरुषको सम्बन्धले गर्दा नै समाज अगाडि बढ्छ । सृष्टि चल्छ । यही कुरालाई ‘तरुनी खेती’मा राखेको हुँ ।
– तर, तपाईंले चाहिँ विवाह गर्नुभएन है ?
‘तरुनी खेती’ लेखेको मान्छे, त्यो खेतिपातीमा लाग्ने कुरा भएन (हाँसो) । किनभने त्यसमा मेरो विस्वास नै भएन । मलाई सबैले सोध्ने, मैले जवाफ दिन नसक्ने प्रश्न नै यही हो । तर, विवाह भन्ने संस्थाप्रति मेरो असम्मान चाहिँ छैन । म सधैँ के भन्छु भने कतिपय व्यक्तिहरू पनि विवाह गर्छन्, छोराछोरी पाउँछन्, डिभोर्स गर्छन् । कयौं विवाहेत्तर सम्बन्धमा जान्छन् । त्यस्ताहरूको संसार नै अलग छ । अनि उनीहरूले विवाह संस्थाको विरोध गर्छन् ।
– सबैले तपाईंले जसरी सोच्दै जाने हो भने त सृष्टि नै नचल्ने भयो नि !
मैले जिएको जस्तो जिन्दगी अरुले जिउनुपर्छ भनेर भन्दिनँ म । कस्तो जिन्दगी जिउने भन्ने कुरा निज व्यक्तिको आदर्श, नैतिकता र विश्वासको कुरा भयो । मान्छेलाई विवाह महत्वपूर्ण लाग्छ भने विवाह गर्ने हो । विवाहभन्दा अरु चिज महत्वपूर्ण लाग्छ भने अरु गर्ने हो ।
– यो उमेरमा आउँदा विवाह गरेको भए ठिक हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?
मलाई कहिल्यै पनि त्यस्तो लागेन । मलाई अलिकति चेतना पलाएको दिनदेखि मेरो प्राथमिकतामा विवाह कहिल्यै भएन । तर, म विवाह संस्थालाई किन इज्जत गर्छु भने मेरो बुवाआमाका कारण म यहाँ छु । मेरो बुवाआमा जीवनको अन्तिम अवस्थासम्म पनि उहाँहरू एक-अर्कालाई छाड्न सक्नुहुन्नथ्यो । मेरो बुवाको २०७१ सालमा मृत्यु भएपछि तीन वर्ष मेरी आमा बाँच्नुभयो । तर, त्यो तीन वर्ष एकदमै गाह्रोसँग बाँच्नुभयो । एकदमै लोनलीनेससित बाँच्नुभयो । त्यो उमेरमा पार्टनर गुम्दा डिसब्यालेन्स हुँदो रहेछ ।
– तपाईँलाई चाहिँ एक्लोपनले थिच्दैन ?
हामी वैज्ञानिक युगमा छौं । यो समयमा डेस्टिनी भन्ने कुरालाई मान्छु भन्दा अवैज्ञानिक भन्छन् । तर, कतिपय कुरामा चाहिँ डेस्टिनी हुँदो रहेछ भन्ने लाग्छ । मैले विवाह गर्ने मानसिकता कहिल्यै बनाइनँ । मलाई त्यसमा पछुतो पनि छैन । तर सौभाग्यले मैले छोरी पाएँ २०५५ सालमा । सरस्वती प्रतीक्षा त्यसबेला १५/१६ वर्षकी थिइन् । छोरी पाएपछि त्यसको १० वर्षपछि नाति पनि पाएँ । अहिले म छोरी र नातिमय जीवन बाँचिरहेको छु ।
२०३८ सालतिर नाटक खेल्ने शंकरराजा श्रेष्ठ भन्ने भाइ र घान्द्रुक घुम्न गयौं । घान्द्रुकबाट फर्कँदा नौडाँडाँ भन्ने ठाउँ छ । त्यहाँ आएपछि वरिपरिको परिवेश रमाइलो लाग्यो । शंकर भाइलाई भनेँ, ‘आज यहीँ बसौं ।’ अनि त्यहीँ बस्यौं । साँझतिर यसो चिया पसलतिर गएका थियौं ।
एक प्रकारको प्रारब्ध भनेको यी चिज नै होलान् । यदि मैले छोरी नपाएको भए, नाती रहितको जीवन भए कस्तो हुन्थ्यो, म त्यो सोच्न सक्दिनँ ।
– तर, जीवन गुजार्ने त तपाईंले नै होला नि हैन र ?
एक्लोपन भनेर केलाई भन्ने ? बुढेसकालमा एकान्तिक्ताले सताउँछ भन्छौं । एक्लोपन भनेको कोही नहुनु हो । अब विवाह नगर्दा लोनलीनेस महसुस गर्नुहुन्छ कि हुन्न भनेर मलाई कसैले सोध्यो भने चाहिँ म महसुस गर्दिनँ । किनभने विवाह गर्नु मेरो जिन्दगीको मक्सद नै थिएन । अनि मैले स्वास्नी भइदिए हुन्थ्यो भनेर किन सोच्ने ? यस्तो खाले एक्लोपन ममा छैन ।
किनभने यो मेरो रोजाइ थियो । मलाई नरोजेका सुखहरू भन्दा रोजेको दुःख प्रिय छ । जुन चिज मैले रोज्दै रोजिनँ, जति राम्रो भए पनि रोजिनँ ! अब बजारमा कति मीठो परिकारहरू छन्, खल्तीभरि पैसा छ । तर, मैले किनिनँ त ! त्यो खान पाएको भए भनेर किन सोच्छु ?
मसँग किन्ने क्षमता पनि छ । तर, किनिनँ । एकदमै सुन्दर बाटो छ, तर म गइनँ त त्यो बाटो ! सामान्य गोरेटोमा गएँ म । उकालो ओह्रालो भचएको भीर बाटोमा हिँडे । अब राजमार्ग हिँड्न नपाएको एक्लोपन मलाई किन आउँछ ?
जुन भावना र चेतनासँग मैले जीवन बिताएँ । त्यसैकारण मैले विवाह गरिनँ । अब त गर्ने कुरा पनि हुँदैन होला । एक्लोपनलाई मनोवैज्ञानिक रुपमा हेर्ने हो भने घर परिवार, सन्तान भएको मान्छे पनि एक्लोपनमा हुन्छ । भिडमा बसेरै एक्लो हुनसक्छ । त्यसैले कसैले विवाह नगर्दैमा मात्रै एक्लोपन हुन्छ भन्ने हुँदैन । कतिपय साथीहरुले मलाई भन्थे, ‘यो ढोंगी हो ।’ कसैलाई देखाउनका लागि किन बाँच्ने ? कसैलाई देखाउनलाई दुई दिन पो बाँच्ला ! तर, सिंगै जीवन त बाँच्दैन नि त ।
– शारीरिक आवश्यकताका कुराहरू पनि होलान् नि ?
तपाईंले त्यो चिज नै नचाहनु भएपछि किन चाहियो ? प्रत्येक व्यक्तिमा भोक लागेको बेला खाने आवश्यकता हुन्छ । तर, कोही व्यक्ति खानै चाहँदैन त कुरै सक्कियो ! तर समाजले भन्छ, ‘यसले ढाँट्यो ।’ तर, त्योभन्दा बढी अरु कुनै कुरामा विश्वास गर्नुहुन्छ भने त्यसको आवश्यकता नै पर्दैन ।
– अचेल स्वास्थ्य कस्तो छ ?
म ७० वर्ष टेकेँ । शारीरिक रूपले समस्या आउँछ । तर, मानसिक रूपले चाहिँ ठीक छु । शरीरमा हुने परिवर्तन त भइरहन्छ ।
– मदिरा पिउनुहुन्छ कि हुन्न ?
म ड्रिंक्स गर्दिनँ । मेरो साथीहरू सबै पिउँथे । म दूध चिया धेरै पिउँथे । पछि स्वास्थ्यका कारण छाडेँ । धुम्रपान चाहिँ २०५०/५२ सालसम्म गरेँ । पछि प्रेसरको समस्या भएपछि डक्टरलदे ‘छाड्’ भने, छाडिदिएँ ।
– त्यसबेलाका साथीहरू तितरबितर भए । तपाईंका कतिपय साथीहरू विनोद गौचन, प्रकट पंगेनी शिव, विजय बजिमय, सरोजगोपाल लगायत दिवंगत भए । साथीहरू बित्दा कस्तो अनुभूति हुने रहेछ ?
साह्रै दुःख लाग्छ । नजिकका साथीहरू जाँदा एक प्रकारको एक्लोपन महसुस हुन्छ । जमानादेखि सँगै हिँडेको, खाएको, काम गरेको सम्झना आउँछ । उमेर बढ्दै गएपछि पुराना स्मृति, पुराना साथी र कामहरुको आउने रहेछ । जुन चिज आफूबाट छुट्यो, नचाहँदा नचाहँदै छुट्यो । उनीहरूको बोलीचाली, भावभंगी अहिले पनि सँगै छ जस्तो महसुस हुन्छ ।
– छोरी सरस्वती प्रतीक्षासँग कसरी भेट भयो ?
मेरी छोरीसँग २०५५ वैशाख २० गते मेरो भेट भएको हो । घरमा आएकी थिइन् । भानुभक्त क्याम्पस पढ्ने रैछिन् । अलिअलि साहित्यिक रुचि भएको, कविताहरू लेख्ने रैछिन् । अहिलेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पीएन क्याम्पसमा विद्यार्थी राजनीति गर्थे । मलाई दाइ भन्थे । एक दिन उनले फोन गरे, ‘दाइ एकजना नवोदित कवि दाइलाई भेट्न इच्छुक छिन् ।’
एक्लोपन भनेर केलाई भन्ने ? बुढेसकालमा एकान्तिक्ताले सताउँछ भन्छौं । एक्लोपन भनेको कोही नहुनु हो । अब विवाह नगर्दा लोनलीनेस महसुस गर्नुहुन्छ कि हुन्न भनेर मलाई कसैले सोध्यो भने चाहिँ म महसुस गर्दिनँ । किनभने विवाह गर्नु मेरो जिन्दगीको मक्सद नै थिएन । अनि मैले स्वास्नी भइदिए हुन्थ्यो भनेर किन सोच्ने ?
मैले भनेँ, ‘लिएर आऊ न त ।’ धनराज भाइले लिएर आए । अनि काम छ भनेर छाडेर गए । सरस्वती आउँदाखेरि नै छोरी आएको आभास भएको थियो । पारिवारिक जीवन नभए पनि छोरीको चाहना थियो ।
हाम्रो कुराकानी भयो । उनको साहित्यिक अभिरुचि बुझ्दै गएँ । राम्रो लाग्यो । अनि ‘छोरी बनाउँछु म तिमीलाई’ भनेँ । उनले पनि ‘ओके’ भनिन् । उनको बु्वाआमाकहाँ पनि गएँ । उहाँहरूले पनि स्वीकार गर्नुभयो । त्यहाँबाट हाम्रो बुवाछोरीको औपचारिक सम्बन्ध जस्तो सुरू भयो ।
– उनको लेखन कस्तो लाग्छ ?
उनी सुरू सुरूमा धेरै नै कविता लेख्थिन् । कविताका पाण्डुलिपिहरू मकहाँ अहिले पनि दुईचारवटा छन् । पछि टीयूबाट इकोनोमिक्समा मास्टर्स गरिन् । केही समय लोकल रेडियोमा न्युज रिडरको रूपमा काम गरिन् । उनको विवाह पनि मैले घरबाटै गराएको हो । अहिले फुल टाइम लेखककै रूपमा उनी अगाडि बढेकी छन् ।
मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य नै यही होकि मैले छोरी पाएँ । एउटा छोरी पाउनु सौभाग्य थियो । अर्को चाहिँ असाध्यै प्रतीभाशाली छोरी पाएँ । दोहोरो सौभाग्य भयो ।
उनको पहिलो कवितासंग्रम काठमाडौंमै विमोचन भएको थियो । त्यसबेला मैले भनेको थिएँ, ‘आज मेरी छोरी मेरो नामले चिनिन्छे, भोलि म उसको नामले चिनिन्छु ।’ अहिले खुसी लाग्छ, म चिनिँदैछु ।