असुलीका सम्पूर्ण औजार प्रयोग गर्दासमेत निष्क्रिय कर्जा बढ्यो : कर्णाली डेभलपमेण्ट बैंक – Nepal Press

असुलीका सम्पूर्ण औजार प्रयोग गर्दासमेत निष्क्रिय कर्जा बढ्यो : कर्णाली डेभलपमेण्ट बैंक

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकले कर्जा असुलीका सम्पूर्ण औजार प्रयोग गर्दासमेत निष्क्रिय कर्जा बढेको जनाएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै कर्जा असुलीमा समस्या भएको जानकारी दिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस बैंकबाट कर्जा असुलीका सम्पूर्ण औजार प्रयोग गर्दासमेत आर्थिक मन्दी, घर, जग्गा कारोबारमा आएको मन्दी अवाञ्छित कार्य गर्ने समूहको अवरोध आदिका कारण केही कर्जा असुली हुन नसकेकोले निष्क्रिय कर्जा बढेका कारण नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली २०७४ बमोजिम निष्क्रिय कर्जा असुली गरी सुधार गर्नका लागि कर्जा तथा बचतमा पर्याप्त सीमाभित्र रही कारोबार गर्ने गरी शीघ्र सुधारका लागि कारबाही गरिएको हो ।’

हाल आर्थिक गतिविधिमा सुधार आएसँगै २०८१ असार मसान्तसम्ममा निष्कृय वर्गमा रहेका कर्जाहरू २०८१ को असोज मसान्त सम्ममा असुल उपर भइ निष्क्रिय कर्जा २९.४९ प्रतिशत कायम राखिएको समेत बैंकले दाबी गरेको छ । अन्य निष्क्रिय कर्जाहरू केही निकट भविष्यमा नै असुल उपर हुने प्रक्रियामा रहेको हुँदा छोटो अवधिमा नै सुधार गरी कारबाही फुकुवा प्रक्रियामा जाने बैंकले जनाएको छ ।

राष्ट्र बैंकको कारबाहीले बैंकका ग्राहकहरूको नियमित बैंकिङ काम कारबाहीमा असर नगर्ने, निर्बाध कारोबार गर्न सक्ने र बैंकको सिडी रेसियो समेत कम्फर्टेबल रहेको हुँदा भुक्तानीमा समस्या नरहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर