यु-१९ एसिया कपः श्रीलंकासँग नेपाल ५५ रनले पराजित
काठमाडौं । युएईमा जारी यु-१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।
श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटियो । नेपालका मायन यादवले सर्वाधिक ६१ रन बनाए ।
आकाश त्रिपाठीले १९, उत्तम मगरले १४, नरेन भट्टले १७ र अर्जुन कुमालले १२–१२ रन बनाए । बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो । श्रीलंकाका शरुजन शणमुगनाथनले सर्वाधिक ६२ र लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले ।
बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ४, युवराज खत्रीले २, कप्तान हेमन्त धामी र नरेन साउदले एकएक विकेट लिएका थिए । नेपालले अव दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।