दीपेन्द्र नेतृत्वको सुदूरपश्चिम रोयल्स कति बलियो ? – Nepal Press
एनपीएल टीम रिभ्यू ८

दीपेन्द्र नेतृत्वको सुदूरपश्चिम रोयल्स कति बलियो ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टीम हो, सुदूरपश्चिम रोयल्स । सुदूरपश्चिम रोयल्सले प्रतिनिधित्व मात्रै गरेको छैन, टीमका थुप्रै खेलाडी सुदूरपश्चिम प्रदेशका छन् । मार्की प्लेयर दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खडक बोहरा र भोजराज भट्ट सुदूरपश्चिमका हुन् ।

दीपेन्द्र राष्ट्रिय टोलीकै उत्कृष्ट खेलाडी मानिन्छन् । आइसिसी टी–२० वरियतामा अलराउन्डतर्फ दोस्रो स्थानमा रहेका दीपेन्द्र सुदूरपश्चिमका मेरुदण्डका रुपमा रहनेछन् । अनुभवी क्रिकेटर विनोद विकेटकिपिङ ब्याटर हुन् । उनले राष्ट्रिय टोलीबाट समेत ओपनिङ गर्ने गर्थे । लामो समयदेखि उनी टोलीबाट बाहिर छन् । विनोद र नरेशले सन् २०१४ मा भएको टी–२० विश्वकप खेलेका थिए ।

नरेश क्यानडामा स्थानीय क्लवबाट खेल्दै आएका छन् । उनी टपअर्डर ब्याटर हुन् । नरेन, खडक र भोजराज घरेलु क्रिकेट सुदूरपश्चिम प्रदेशका खेल्दै आएका छन् । खडक टपअर्डर ब्याटर, भोजराज बलर र नरेन अलराउन्डर हुन् ।

यीबाहेक सुदूरपश्चिममा राष्ट्रिय टोलीबाट खेलिसकेका अविनाश बोहरा, आरिफ शेख, इशान पाण्डेसहित यु–१९ टोलीबाट खेलिसकेका अमित श्रेष्ठ र अर्जुन कुमाल अनुबन्ध भएका छन् । डेथ ओभर स्पेशलिस्ट बलरको रुपमा चिनिने अनिवाशले राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । आरिफ भरपर्दा ब्याटर हुन् । विकेट गइराखेको अवस्थामा टिमलाई सम्हालेर प्रदर्शन उकास्न सक्ने खेलाडीमा पर्छन् उनी ।

राष्ट्रिय टोलीबाट ओपनिङ गर्ने अवसर पाएका इशान खासै जम्न सकेनन् । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका अमित टपअर्डर ब्याटर हुन् । उत्कृष्ट लयमा रहेका अर्जुन अहिले यु–१९ टोलीका उपकप्तान हुन् । उनी ओपनिङ भूमिकामा खेल्ने गर्छन् ।

सन्तुलित स्वदेशी खेलाडी भित्राएको सुदूरपश्चिम रोयल्सले ४ विदेशी खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । इंग्ल्यान्डका सेफ अलि जेब, न्युुजिल्यान्डका स्कट कुगेलेइन, स्कटल्यान्डका ब्रैंडन मैकमुलेन र युएईका रोहन मुस्ताफा सुदूरपश्चिममा अनुबन्ध भएका छन् ।

इङ्गल्यान्डका जेब ब्याटिङ अलराउन्डर हुन् । इङ्गल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने अवसर नपाएका जेबले द हन्ड्रेड, भाइटालिटी ब्लास्ट जस्ता लिग खेलिसकेका छन् । २६ वर्षीय जेबले ७४ टी–२० क्रिकेटमा एक हजार २६६ रन र १२ विकेट लिएका छन् । मिडलअर्डरमा ब्याटिङ गर्ने उनी स्पिन बलिङ गर्ने गर्छन् ।

सुदूरपश्चिममा अनुबन्ध भएका स्कटल्यान्डका मैकमुलेन पनि ब्याटिङ अलराउन्डर हुन् । स्कटल्यान्डका लागि टपअर्डरमा ब्याटिङ गर्ने उनी तीव्र गतिमा बलिङ गर्छन् । स्कटल्यान्डबाट १६ टी–२० आई खेलेका मैकमुलेनले ४ सय ९७ रनसहित २ विकेट लिएका छन् ।

उनले सन् २०२३ मा जमर्नीविरुद्धको खेलमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । मैकमुलेन स्कटल्यान्डको ओडिआई टिमको पनि हिस्सा हुन् । उनले २६ ओडिआई खेलमा ३ शतक र २ अर्धशतक बनाएका छन् ।

तीव्र गतिका बलर कुगेलेइन न्युजिल्याण्डबाट टेष्ट, ओडिआई र टी–२०आई खेलिसकेका छन् । १८ टी–२० आई खेलमा उनले १६ विकेट र ७६ रन लिएका छन् । ३२ वर्षीय कुगेलेइनले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । उनले सन् २०१९ मा भएको आइपिएलमा चेन्नई सुपर किंग्सबाट खेलेका थिए । तीव्र गतिका बलर कुगेलेइनले लोअर्डरमा ब्याटिङ गर्ने गर्छन् ।

सुदूरपश्चिममा अनुबन्ध हुने युएई मुस्ताफा नेपाली क्रिकेटका परिचित नाम हुन् । उनले नेपालका विभिन्न लिगसमेत खेलिसकेका छन् । युएईको कप्तानीसमेत गरिसकेका मुस्ताफा टी–२० क्रिकेटमा उत्कृष्ट अलराउन्डर हुन् ।

उनले युएईका लागि ५८ टी–२०आई र ८१ ओडिआई खेलेका छन् । ५८ टी–२०आईमा मुस्ताफाले १ हजार ६ रनसहित ६१ विकेट लिएका छन् । एकै ओडीआईमा शतक प्रहार गर्नुका साथै ५ विकेट लिने दुर्लभ कीर्तिमान पनि उनको नाममा छ । टपअर्डरमा ब्याटिङ गर्ने उनले स्पिन बलिङ गर्छन् ।

सुदूरपश्चिमलाई ओपनिङका लागि धेरै विकल्प छन् । राष्ट्रिय टोलीबाट ओपनिङ गरिसकेका विनोद भण्डारी, इशान पाण्डेसहित अमित श्रेष्ठ, नरेश बुढाएर र अर्जुन कुमालमध्येबाट ओपनिङ जोडीको रुपमा रहनेछन् । सुदूरपश्चिमले विदेशी खेलाडीलाई पनि ओपनिङको रुपमा रोज्न सक्छ । युएई मुस्ताफा र स्कटल्यान्डका मैकमुलेन त्यसको विकल्पको रुपमा रहनेछन् ।

ओपनिङ विकल्पमा नपरेका ब्याटरले टपअर्डरमा खेल्नेछन् । मार्की प्लेयर दीपेन्द्र आवश्यकताअनुसार टपअर्डर, मिडलअर्डर जहाँ पनि खेल्न सक्नेछन् । मिडलअर्डरमा इङ्गल्यान्डका जेबसहित आरिफ, खडक रहनेछन् । लोअर्डरमा कुगेलेइनसहित नरेन, भोजराज छन् ।

फास्ट बलिङ अविनाश र न्युजिल्यान्डका कुगेलेइनले सम्हाल्नेछन् । स्पिनतर्फ दीपेन्द्र, नरेन, भोजराजसहित युएईका मुस्ताफा र इंग्ल्यान्डका जैव रहनेछन् । अनुभवी र भरपर्दा विशेषज्ञ बलर नहुँदा सुदूरपश्चिमको बलिङ डिपार्ट अलराउन्डरले सम्हाल्नुपर्नेछ ।

सुदूरपश्चिमको टोली

स्वदेशी खेलाडी : आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, नरेश बुढाएर, इशान पाण्डे, अर्जुन कुमाल, अमित श्रेष्ठ, नरेन साउद, खडक बोहरा, भोजराज भट्ट

विदेशी खेलाडी  : ब्राण्डन मैकमुलेन(स्कटल्यान्ड), सैफ अली जैब (इंग्ल्यान्ड), स्कट कुगेलेइन(न्युजिल्यान्ड), रोहन मुस्ताफा(युएई)

मार्की प्लेयरः दीपेन्द्रसिंह ऐरी

मुख्य प्रशिक्षकः जगत टमाटा

सुदूरपश्चिमको खेल तालिका

सुदूरपश्चिम रोयल्सले एनपिएलको पहिलो खेल मंसिर १८ गते विराटनगर किंग्ससँग खेल्नेछ ।

दोस्रो खेल मंसिर २० गते काठमाडौं गुर्खाज, तेस्रो खेल मंसिर २२ गते लुुम्बिनी लायन्स, चौथो खेल मंसिर २३ गते चितवन राइनोजसँग खेल्नेछ ।

सुदूरपश्चिमले पाचौं खेल मंसिर २६ गते जनकपुर बोल्ट्स, छैटौं खेल मंसिर ३० गते पोखरा एभेन्जर्स र सातौं खेल पुस १ गते कर्णाली याक्ससँग खेल्ने तालिका छ ।

याे पनि पढ्नुस्:

१) विराटनगर किङ्स : बलिङमा सन्दीप र ब्याटिङमा गप्टिलको भर

२) अनिल र आसिफको ओपनिङ जोडीसहित बलियो ब्याटिङ लाइनअपमा उभिएको जनकपुर बोल्ट्स

३) बलियो मध्यक्रममा टिकेको चितवन राइनोजको आशा

४) इङ्ल्यान्डका तीन खेलाडी भित्र्याएको काठमाडौं गुर्खाज कति बलियो ?

५) महँगो टोली पोखराः अलराउन्डरले सुसज्जित, विदेशी खेलाडी दह्रा

६) अक्सनमा ‘भाग्यमानी’ लुम्बिनीको बलियो ब्याटिङ लाइनअप

७) कर्णाली याक्सको अभेद्य ब्याटिङ, बलिङ पनि छैन कम

८) दीपेन्द्र नेतृत्वको सुदूरपश्चिम रोयल्स कति बलियो ?

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *