सेबोनका अध्यक्षले गरे उच्च पदस्थको जिम्मेवारी हेरफेर, प्रवक्ताबाट हटाइए अधिकारी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन् । श्रेष्ठ अध्यक्ष बनेलगतै कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् । कार्यकारी निर्देशक विनयदेव आचार्यलाई व्यवस्थापन तथा कानून विभागमा सरुवा गरिएको छ ।
यसअघि आचार्य सुपरिवेक्षण विभागमा थिए । यस विभागको जिम्मेवारी कृष्णराज पोखरेलले पाएका छन् ।
अध्यक्ष श्रेष्ठले प्रवक्ताको जिम्मेवारीमा रहेका बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीबाट सो जिम्मेवारी खोसेका छन् । उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई बोर्ड प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
अधिकारी गत जेठ १७ गतेदेखि प्रवक्ताको भूमिकामा थिए । अधिकारीलाई नीति, अनुसन्धान तथा तालिम विभागमा सरुवा गरिएको छ ।
स्मरण रहोस्, अधिकारी तीनै व्यक्ति हुन् जो सेबोनको अध्यक्ष बन्ने दौडमा थिए । अध्यक्ष नियुक्तिका लागि बनेको सिफारिस समितिले अधिकारीको नाम पनि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।