पितृको नाममा छरियाे शतबीज (तस्बिरहरु) – Nepal Press

पितृको नाममा छरियाे शतबीज (तस्बिरहरु)

काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति लगायत देशभरका शिवालयहरुमा शतबीज छरिएको छ ।

रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका हुन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका हुन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको थियो । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका थिए। शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ ।

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर