कोशी कांग्रेसमा फेरि विवाद : प्रदेश अधिवेशनको मुखमा शेखर समूहको प्रशिक्षण – Nepal Press

कोशी कांग्रेसमा फेरि विवाद : प्रदेश अधिवेशनको मुखमा शेखर समूहको प्रशिक्षण

विराटनगर । यही मंसिरको २२ गते नेपाली कांग्रेस कोशीले प्रदेश सम्मेलनको तयारी गरेको छ । बिहीबार भएको पत्रकार सम्मेलनमा प्रदेश सभापति उद्धव थापाले सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने बताए ।

उनले सम्मेलनमा पाटीका केन्द्रीय पदाधिकारी सहित पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति सहभागी हुने बताए ।
उनका अनुसार सम्मेलनमा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर गाउँ कार्यसमिति सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूको सहभागी रहने छन् ।

पाटीको संस्थापन पक्षले प्रदेश सम्मेलनको तयारी गरिरहँदा कांग्रेसको फरक समूहका नेता डा. शेखर कोइराला पक्षले मंसिरको १८ गते नै अर्को कार्यक्रमको तयारी गरेको छ ।

विराटनगरमा उद्घाटन गरेर बेलबारीमा समापन हुने कार्यक्रममा प्रदेशका १३७ वटा पालिकाका सभापति र ६ वटा महानगरका सभापतिहरू सहभागी हुने छन् । मोरङका १७ वटा पालिकाको आयोजनामा डा शेखर समूहले प्रदेशभरिका सबै पालिकाका सभापति र महानगर सभापतिहरूको भेला र प्रशिक्षण राखेको हो ।

मोरङका १७ वटै पालिकाका आयोजक भनिए पनि विराटनगर महानगरका सभापति दीपक चापागाईँलाई कार्यक्रमको संयोजक तोकिएको छ । उप संयोजक भने बेलबारी नगरपालिकाका सभापति छत्र लिम्बु रहेका छन् ।

प्रदेशको सम्मेलन अगावै गर्न लागिएको प्रशिक्षण कार्यक्रमले काँग्रेस भित्र चरम विवाद उत्पन्न भएको छ । संस्थापन पक्ष र इतर पक्षले केही दिनको फरकमा दुई फरक भेला आयोजना गर्दा काङ्ग्रेसभित्रका गुटगत प्रतिस्पर्धा चरोमउत्कर्षमा पुगेको देखिएको छ ।

कार्यक्रमलाई लिएर काँग्रेस भित्रै आरोप प्रत्यारोप चलेको छ । संस्थापन पक्षले सम्मेलन असफल बनाउन सभापतिहरूको प्रशिक्षण आयोजना गरिएको भन्दै शेखर पक्षको आलोचना गरेका छन् ।

शेखर पक्षले भने सम्मेलन सफल बनाउन नै प्रशिक्षण पनि राखिएको भन्दै कार्यक्रमको बचाउ गरिरहेका छन् । प्रदेश अधिवेशनको तयारीमा रहेको संस्थापन पक्षका नेताहरूले शेखर पक्षले पार्टीको कार्यक्रम असफल पार्न उस्तै समय पारेर समानान्तर भेला गर्न लागेको संस्थापन पक्षका एक नेताले बताए ।

प्रदेश सभापति थापाले बिहीबार भएको पत्रकार सम्मेलनमा पालिका सभापतिहरूको प्रशिक्षणका विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताए । उनले भने, ‘हामी अहिले प्रदेश अधिवेशनको तयारीमा छौ । प्रशिक्षणका बारेमा थाहा छैन ।’

प्रदेशका पालिकाका सभापतिहरूको प्रशिक्षण कार्यक्रममा देशका सबै महानगरका सभापतिहरू पनि आउने कार्यक्रमका संयोजक तथा विराटनगर महानगर समितिका सभापति दीपक चपाँगाईले बताए । विराटनगरमा शनिवार भएको पत्रकार सम्मेलनमा चापागाईँले प्रदेशमा रहेका १३७ वटा पालिका मध्ये ११३ वटा पालिकाका सभापतिहरू कार्यक्रममा आउने पक्का भएको जानकारी दिएका छन् । उनले भने, ‘सङ्घीयता आयो तर कांग्रेसका पालिका सभापतिहरूको क्षेत्र अधिकारको बारेमा अझै स्पष्ट भएको छैन । स्पष्टताका लागि प्रशिक्षण कार्यक्रम राखिएको हो ।’

पालिकाका सभापतिहरूको अधिकार के हो ? काँग्रेसको विधानमा पालिकाका सभापतिहरूको अधिकार र काम कर्तव्य के हो ? यसमा स्पष्टता ल्याउन प्रशिक्षण कार्यक्रम राखिएको हो । यो कुनै गुटको भेला होइन । पाटी बलियो बनाउने काम हो । चापागाईँले पत्रकार सम्मेलनमा भने, ‘हामीले सबैलाई बोलाएका छौ । यो कसरी गुटको भेला भयो ?’

उनले प्रशिक्षणको प्रमुख वक्ता डा. शेखर कोइराला हुने बताए । कार्यक्रममा नेताहरू एनपी साउद, डिना उपाध्याय, मिनेन्द्र रिजाल गुरुराज घिमिरे आउने बताए । उनले भने, ‘हामीले प्रदेशका पदाधिकारी, १४ वटै जिल्लाका पाटी सभापतिहरूलाई पनि निम्तो गरेका छौ । उहाँहरू पनि आउनु नै हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर