एमाले-कांग्रेसको संयन्त्र केन्द्रदेखि जिल्लासम्म, भागवण्डा पुर्‍याउन कि सरकारलाई प्रभावकारी बनाउन ? – Nepal Press

एमाले-कांग्रेसको संयन्त्र केन्द्रदेखि जिल्लासम्म, भागवण्डा पुर्‍याउन कि सरकारलाई प्रभावकारी बनाउन ?

रुपन्देही । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले केन्द्र, प्रदेश हुँदै जिल्ला तहमा संयन्त्र बनाएर जान थालेका छन् ।

लुम्बिनी प्रदेशमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्र बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामहरुको वारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ्ग गरेका थिए ।

एमाले–कांग्रेस संयुक्त सरकाले अघि सारेका कामहरु सहि दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी गराएका थिए ।

बैठकमा संसदीय क्षेत्रमा भएका कामहरुको बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव राखेका थिए ।

प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरु संकलन गर्ने निर्णय गरेको छ ।

यस्तै मंसिर २० गते एमाले–कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।

एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहेका छन् । यस्तै कांग्रेसबाट संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र बिष्णु खनाल मुस्कान रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर