मदिरा तस्करको गाडीको ठक्करबाट सशस्त्रका सई यादव मृत्यु प्रकरण: सिरहामा राजमार्ग अवरुद्ध – Nepal Press

मदिरा तस्करको गाडीको ठक्करबाट सशस्त्रका सई यादव मृत्यु प्रकरण: सिरहामा राजमार्ग अवरुद्ध

जनकपुरधाम । मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि सिरहाको लहानमा आन्दोलन चर्किएको छ । मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

उनीहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि अहिले पूर्वपश्चिम राजमार्ग ठप्प छ । जसले गर्दा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

भारतसँग सीमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका- १ कचनारीमा ड्युटीमा रहेका बेला सई यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएके छ । उनले तस्करहरुको गाडी रोक्न खोजेका थिए, तर उल्टै गाडी ठक्कर दिएर भारततर्फ भागेको बताइन्छ ।

मृतक सई यादव बीओपी बरहरीमा कार्यरत थिए । उनीसँगै अन्य चार सशस्त्र प्रहरी पनि ड्युटीमा थिए । मृतक सई यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

मृतक सईका दाइ नाता पर्ने पाण्डव यादवले प्रहरी प्रशासनकै कमजोरीले घटना घटेको आरोप लगाए । प्रदर्शनमा सहभागी उनले भने, ‘मेरो भाइसँगै अन्य चार जना प्रहरी ड्युटीमा थिए, तर गाडी ठक्कर दिएर भागेपछि उनीहरुले किन गोली चलाएनन् ? यो त चरम लापरबाही हो नि ’’

आन्दोलनमा उत्रिएकाहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर