ग्रामथानमा बढ्न थाल्यो मतदाताको चहलपहल, अहिलेसम्म १५ प्रतिशत मतदान
विराटनगर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा अहिलेसम्म १५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाटै मतदान शुरू भएपनि मतदान केन्द्रमा मतदाताको उपस्थिति भने न्यून छ । साँझ ५ बजेसम्म मतदान जारी रहने छ ।
१० बजे पछिबाट भने बिस्तारै मतदाता आउने क्रम बढेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । भट्टराईले मतदानस्थल र केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको र मतदानका क्रममा कुनै समस्या नरहेको जानकारी दिए । ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ ।
ग्रामथानको अध्यक्ष चयनका लागि उपनिर्वाचनअन्तर्गत मतदान चलिरहेको हो । ७ वटा वडा रहेको ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाताले मतदानमा सहभागी हुन पाउने छन् ।
ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि नयाँ अध्यक्ष चुन्न उपनिर्वाचन भएको हो ।
निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएका कारण निर्धक्कसाथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । निर्वाचनका लागि ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको छ ।