घिमिरे १५ दिनका लागि मात्रै सचिवमा बढुवा – Nepal Press

घिमिरे १५ दिनका लागि मात्रै सचिवमा बढुवा

काठमाडौं । सरकारले १५ दिनका लागि मात्रै सहसचिव रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेलाई प्राविधिकतर्फ इन्जिनियरिङ सेवाको सचिवमा बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि पहिलो नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दिनानाथ मिश्र, दोस्रो नम्बरमा खानी विभागका महानिर्देशक घिमिरे र तेस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगत रहेको बुढी गण्डकी जलविद्युत आयोजनाको आयोजना प्रमुख रहेका सहसचिव मधुप्रसाद भेटवालको नाम सिफारिस गरेको थियो ।

बरिष्ठताका आधारमा मिश्र सचिवमा बढुवा हुनुपर्ने भए पनि सरकारले १५ दिनपछि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका दोस्रो नम्बरमा सहसचिव घिमिरेलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले ३ जनाको नाम बढुवाका लागि सिफारिस गर्ने गरेकोमा प्रायजसो मन्त्रिपरिषद्ले बरिष्ठताका आधामा भन्दा पनि अनिवार्य अवकाशको मुखैमा पुगेकालाई बढुवा गर्ने गरेको छ ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा गएसँगै प्राविधिकतर्फ एक सचिवको पद रिक्त भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर