दैलेखको उपनिर्वाचन : दुवै स्थानमा एमालेको विजय
सुर्खेत । दैलेखमा सम्पन्न उपनिर्वाचनमा दुवै स्थानमा नेकपा एमालेले जित हासिल गरेको छ। महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गरे ।
माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत ल्याउँदा रास्वपाका प्रकाशकुमार बुढाले ११२ मतमा सीमित रहे ।
यो जित एमालेका लागि विशेष रहेको छ, किनभने यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षको पदमा उपनिर्वाचन हुँदै एमालेले कब्जा जमाएको हो ।
शाही यसअघि एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य र दैलेख जिल्ला अध्यक्ष थिए। तर, उपनिर्वाचनअघि एमालेमा फर्किएर उम्मेदवारी दिएका थिए ।
त्यस्तै, दुल्लु नगरपालिका वडा नम्बर १३ मा पनि एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत प्राप्त गरे ।
यसरी, दैलेखको उपनिर्वाचनले कर्णालीमा एमालेको शक्ति थप बलियो बनाएको छ ।