बीआरआईमा हस्ताक्षरकाे साइत: कांग्रेससँग सहमति जुट्दा एमाले नेता उत्साहित
काठमाडौं । आइतबार बिहानै एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा खुशी व्यक्त गरे । बिहान आठ बजे ज्ञवालीले ट्विट गरे, ‘फ्रेमवर्क अन बीआरआई कोअपरेसनमा सहमति निर्माण गर्न सफल हुनु भएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेका सभापति माननीय शेरबहादुर देउवालाई बधाई ।’
चीनसँग जोडिएको मुद्दामा एक देखिएका दुई दलहरूको बारेमा उत्साहित देखिएका ज्ञवालीले थप लेखेका छन्, ‘यो चीनसँग नेपालको विकास साझेदारी नयाँ उचाइमा उठाउने र बाह्य सम्बन्धमा सिङ्गै राष्ट्रको एकीकृत धारणा निर्माण गर्ने महत्त्वपूर्ण प्रस्थानबिन्दु हो ।’
बीआरआईमै हस्ताक्षर गरेर आएका डा. प्रकाशरण महतले पनि ऋण भर्सेस अनुदानको कोणमा बोल्न थाल्दा कांग्रेस बीआरआई विरोधी जस्तो प्रतित भइरहेकाे थियो । एमाले नेताहरुले भने बीआरआईकाे पक्षमा बाेलिरहेका थिए । देशी विदेशी मिडियाहरूमा त्यही कोणका खबर आइरहेका थिए । ठीक त्यसैबेला देशका दुई ठूला दल निष्कर्षमा पुगेपछि उत्साहित भएका देखिन्छन् एमाले नेताहरू ।
त्यसमा एक हुन् पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली । नेपाल प्रेससँग कुरा गर्दै ज्ञवालीले भने, ’एमाले र कांग्रेस आकारका मात्रै ठूला दलहरू होइनन् । यी भूमिकाका पनि ठूला दलहरू हुन् । नेपालको इतिहासमा विदेश मुद्दामा दुई ठूला दलहरूले एक ठाँउमा आएर साझा धारणा बनाएको यो सुन्दर उदाहरण हो ।’
ज्ञवालीले यस्तै धारणा नेपालले आफ्नो देशको हितमा हुने र सम्बन्धमा लाभकर हुने खालका भारत, अमेरिकी र अरू मुलुकका सहयोगका हकमा पनि लागु गर्न सक्ने आधार खुलेको बताए ।
उनले भने, ‘नेपालका दलहरूका आफ्ना आफ्ना विदेश नीति भए देशको भएन भन्ने आलोचनालाई यस्ता अभ्यासले चिर्ने काम गर्छन् ।’
एमाले र कांग्रेसले फ्रेमवर्कमा साझा धारणा बनाएपछि अब अरू कुरा त्यसै अनुसार हुने ज्ञवालीले बताए ।
उनले भने, ‘फ्रेमवर्क भनेको नीतिगत कुरा र प्रतिबद्धताका कुरा हुन् ।’
नीतिगत कुरा भित्रै सबै कुरा अट्ने भन्दै ज्ञवालीले भने, ‘बीआरआई ऋण भर्सेस अनुदान जस्तो गरेर गिजोल्न खोजिएको थियो । बीआरआई ऋण मात्रै होइन ।’
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका अघिल्ला कार्यकालका परराष्ट्र सल्लाहकार तथा एमाले नेता राजन भट्टराईले पनि ज्ञवालीले जस्तै उत्साह देखाए । नेपाल प्रेससँग बोल्दै भट्टराईले बीआरआई लोन मात्रै बुझ्नु नै समस्या भएको बताए । तर, दुई ठूला दल एक ठाउँमा आएर सकारात्मक सन्देश दिएको भन्दै भट्टराईले अब बीआरआई अन्तर्गत रहेरै किमाथांका र केरुङ क्षेत्रमा नेपाल चीन हिमालय सीमापार प्रशारण लाइन जोड्ने बाटो खुलेको बताए ।
उनले भने, ‘भारतले चिनियाँ लगानी भएको मात्रै होइन चिनियाँ ठेकेदार जोडिएको बिजुली पनि नकिन्ने नीति लिएकोले अपर तामाकोशीको बिजुली किन्ने काम भएन । अब केरुङ र किमाथांका क्षेत्रमा नेपाल चीन हिमालय सीमापार प्रशारण लाइन बनेपछि नेपालको बिजुली निर्यातको उत्तरी ढोला खोलिन्छ ।’
नेपालले चीनमा बिजुली निर्यात गर्ने खालका प्रशारण लाइन बनेपछि नेपाल सन २०१६ पछि पारवाहन सम्झौता गरेर भूपरिवेष्टित देशबाट भूजडित देश भएजस्तै बिजुली व्यापारमा नयाँ प्रशारण लाइनले नयाँ ढोका खोल्ने भट्टराईले बताए ।
उनले प्रधानमन्त्रीको चीन भ्रमणमै यी र यस्ता योजनामा सम्झौता हुने संकेत गरे ।