महँगा विदेशी स्टार नचल्दा पनि कर्णालीको मजबुत स्कोर, अन्तिम १२ बलमा जोड्यो ४३ रन
गुल्शन, अर्जुन र सोमपाल ब्याटिङमा चम्किए
काठमाडौं । एनपीएलको पहिलो संस्करणमा सबैभन्दा मजबुत टीम मानिएको कर्णाली याक्सले ब्याटिङमा आफ्नो शक्ति देखाएको छ । ठूला विदेशी स्टार ब्याट्सम्यानहरु फ्लप भए पनि कर्णालीले १४१ रनको बलियो स्कोर खडा गर्न सफल भयो ।
ब्याटिङका लागि कठिन देखिएको पीचमा नेपालका तीन ब्याट्सम्यान गुल्शन झा, अर्जुन घर्ती र सोमपाल कामीले टीमलाई उकासेका थिए । जनकपुर बोल्ट्सको धारिलो आक्रमणलाई निस्तेज पार्दै उनीहरुले त्रिवि मैदानमा चौका छक्काको वर्षा गरे ।
एक समय कर्णालीलाई १०० रन कटाउन पनि मुस्किल पर्ला जस्तो देखिएको थियो । प्रतिखेल ३० हजार डलरमा भित्र्याइएका शिखर धवन १४ बलमा त्यति नै रन बनाएर आउट भए । अन्य तीन विदेशी ब्याट्सम्यान चाडविक वाल्टन, जिसन मक्सुद र बाबर हायातले पनि कुनै चमत्कार गर्न सकेनन् । कर्णालीले ७.४ ओभरमा ३५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो ।
गुल्शन झासँग राम्रो पार्टनरसीप गरिरहेका बाबर पनि पाँचौं विकेटका रुपमा आउट भएपछि अब सबै भार नेपाली ब्याट्सम्यानहरुमाथि पर्यो । गुल्शन झाले जनकपुरका बलरलाई काउन्टर दिँदै २७ बलमा ३६ रन बनाए जसमा तीन छक्का र १ चौका सामेल थिए । यस एनपीएलमा कुनै पनि नेपाली ब्याट्सम्यानको पहिलो ठोस इनिङ यही थियो । गुल्शनले प्रमाणित गरे पनि एनपीएलको अक्सनमा उनलाई लिन किन सबै फ्रेन्चाइजहरु मरिहत्ते गरिरहेका थिए ।
आजको खेलको अनपेक्षित इनिङ चाहिँ अर्जुन घर्तीको ब्याटबाट निस्कियो । उनले २२ बलमा ३३ रन हाने, जसमा २ चौका र २ छक्का समावेश थिए । अर्जुन घर्ती र कप्तान सोमपाल कामीबीच बीच २८ बलमा ५६ रनको विस्फोटक साझेदारी भएको थियो । उनीहरुले अन्तिम दुई ओभरमा ४३ रन जोड्दै कर्णालीको संकटमोचन गरेका थिए ।
१९ औं ओभरमा अर्जुनले भारतीय मूलका क्यानेडियन ब्याट्सम्यान हर्ष ठाकरलाई निशाना बनाए । शिखर धवनलाई बोल्ड गरेका हर्षलाई चौथो ओभरमा चुट्दै अर्जुनले हर्ष मनाउने मौका दिएनन् । उनले हर्षको बलमा लगातार दुई छक्का र दुई चौका प्रहार गरेका थिए ।
यस्तै अन्तिम ओभरमा सोमपाल कामीले न्यूजिल्यान्डका स्टार अलराउन्डर जेम्स निसाममाथि खनिए । यो ओभरमा अर्जुन रनआउट भए पनि सोमपालले तीन चौका र एक छक्का हान्दै २१ रन बटुलेका थिए ।
कर्णालीले बनाएको १४१ रन एनपीएलको अहिलेसम्मको सर्वाधिक उच्च स्कोर हो ।