एमालेले दानमा पाएको जग्गाको मुद्दा न्यायाधीश शर्मा र पाण्डेयको इजलासमा पेशी तोकियो
काठमाडौं । नेकपा (एमाले)ले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गा सम्बन्धी विवादको मुद्दाको पेशी तोकिएको छ ।
मङ्गलवार सर्वोच्च अदालतले न्यायाधीश मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा पेशी तोकेको सर्वोच्च अदालतले जनाएको हो ।
व्यवसायी गुरुङले एमालेलाई जग्गा दान दिएपछि यसविरुद्ध अधिवक्ता डा. ज्ञानबहादुर बस्नेत सहित ३ जनाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
गत कात्तिक १२ मा अल्पकालीन अन्तरिम आदेश जारी भएपछि यो मुद्दामा ६ पटक सुनुवाइको पेसी तोकिए पनि हेर्न नभ्याइनेमा रहँदै आएको छ ।
अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेकोमा दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो ।
दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो । दुवै न्यायाधीशको इजलासमा आज उक्त पेशी भन्दा अघि नै २० वटा पेशी तोकिएकाले सुनुवाइ हुने सम्भावना एकदमै कम रहेको छ ।
यस अघि दुई पटक तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेय, नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा एक पटक, प्रधान न्यायाधीश प्रकाशनमानसिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा एक पटक, सपना प्रधान मल्ल र अब्दुल अजीजमुसलमानको इजलासमा एक पटक र कुमार चुडाल र शारंगा सुवेदीकोका इजलासमा एक पटक पेशी तोकिएर पनि हेर्न नभ्याइनेमा परेको थियो ।