माउन्टेन इनर्जीले १५.७९ प्रतिशत लाभांश दिने
काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्न लागेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।