एन्फा एकेडेमीका ६ किशोर खेलाडीको न्यायका लागि ‘मेची-महाकाली हस्ताक्षर अभियान’ सुरु
भक्तपुर । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका फुटबल खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान सुरु गरिएको छ । उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै मेची–महाकाली हस्ताक्षर अभियान सुरु भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)कै कमजोरीका कारण उक्त घटनामा अभिभावकले आफ्ना अवोध बच्चाहरू गुमाएको र खेल क्षेत्रले भविष्यका होनहार खेलाडी गुमाएको भन्दै ‘हामो अभियान नेपाली फुटबलमा आमूल परिवर्तन’ले हस्ताक्षर अभियान शुरु गरेको हो ।
अभियानका संयोजक राम प्रजापतिले देशव्यापी हस्ताक्षर संकलन गरी जिल्ला प्रशासन कार्यालय र प्रतिनिधिसभाका सभामुखलाई बुझाउने कार्यक्रम रहेको बताए ।
उनले हस्ताक्षर अभियान एक महिनासम्म सञ्चालन गरिने र प्रत्येक जिल्लामा पुग्ने जानकारी दिए ।
हस्ताक्षर अभियानले गत असोज १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका- ३ स्थित वात्सल्यदेवी स्कुलमा पहिरोमा परी एन्फा सिस्नेरी एकेडेमीमा रहेका ६ किशोर खेलाडीको ज्यान गएको विषयमा उच्चस्तरीय संसदीय छानबिन समिति गठन माग गरेको छ ।
उक्त घटनामा एकेडेमीमा रहेका किशोर खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योञ्जनको ज्यान गएको थियो । कुलेखानीको ड्याम खोलेपछि पानीले बगाउने हल्ला र त्रासले बच्न निस्केका किशोर खेलाडीहरुको पहिरोमा परी ज्यान गएको थियो ।
पीडित परिवारले यसअघि राजधानीमै पत्रकार सम्मेलन गरी घटनाको छानबिन हुनुपर्ने माग राखेको भए पनि सुनुवाइ नभएको गुनासो गर्दै आएका छन् । यस्तो घटना भइसक्दा पनि एन्फाले कुनै छानबिन नगरेको र नेतृत्वले ज्यान गुमाउनेका आफन्तलाई थप पीडा दिएको परिवारजनको आरोप छ ।