केन्द्रको सर्कुलरविपरीत शक्ति जाँच गर्दै महाधिवेशनको दौडमा लम्किए शेखर – Nepal Press

केन्द्रको सर्कुलरविपरीत शक्ति जाँच गर्दै महाधिवेशनको दौडमा लम्किए शेखर

मुख्यसचिव कृष्णप्रसाद पौडल भन्छन्- त्यो भेला पार्टीको विधानविपरीत हो, शेखर दाइले सोच्नुपर्थ्यो

काठमाडौं । १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित डा. शेखर कोइरालाले १५औं महाधिवेशनको दौड सुरु गरिसकेका छन् । इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले महाधिवेशन केन्द्रमा राखेर आफ्नो शक्ति परीक्षण गर्न सातै प्रदेशमा पालिका सभापतिहरुको भेला राख्ने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालयका निर्देशनविपरीत हिजो विराटनगरमा कोशी प्रदेशस्तरीय स्थानीय तह (पालिका)का सभापतिहरुको भेला राखेर आफ्नो शक्ति जाँच सुरु गरिसकेका छन् । कांग्रेसको विधानअनुसार २०८२ मंसिरभित्र महाधिवेशन गरिसक्नुपर्नेछ ।

विधानलाई नै टेकेर एक वर्ष कार्यकल थप गर्ने र संवैधानिक व्यवस्थाअनुसार साढे पाँच वर्षसम्म कार्यकाल लम्याउनसक्ने सुविधा देउवासँग छ । देउवाले कार्यकाल लम्बाउनसक्ने भएकाले निर्धारित समयभित्रै महाधिवेशन गराउन दबाब दिन पनि कोइरालाले आफू निकटको भेला राख्न थालेका हुन् ।

कोशी प्रदेशस्तरीय भेलामा केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, सरिता प्रसाईं, किरण यादव, राजीव कोइराला, चन्द्रमोहन यादव र रुक्मिणी कोइरालालगायत नेताहरु सहभागी थिए ।

भेलालाई सम्बोधन गर्दै कोइरालाले १५औं महाधिवेशन निर्धारित समयमा हुनेमा आशंका व्यक्त गर्दै दबाब दिन आफू निकट नेताहरुलाई निर्देशन दिए ।

कोइरालाको भनाइ थियो, ‘महाधिवेशन हुन एक वर्षमात्रै बाँकी छ । यही ढंगले नेतृत्व अघि बढे अधिवेशनहरु नै हुने सम्भावना छैन । अहिले पनि सदस्यता नवीकरणको काम हुन सकिरहेको छैन । २०८३ को मंसिरमा महाधिवेशन गर्नुपर्छ, तर हामीले त्यस्तो सम्भावना देखिरहेका छैनौं ।’

उनले १५औं महाधिवेशनबाट पार्टीभित्र हुने गलत कुरा अन्त्य हुने भन्दै कसैको धाक धम्कीदेखि नडराइ अघि बढ्न आग्रह गरे । उनले पार्टीको मात्रै होइन, कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको सरकारको पनि आलोचना गरे ।

उनले भने, दुई ठूला दल मिलेर संविधानमा सुधार, सुशासन र आर्थिक सुधारको कुरा गरेर अगाडि बढेको छ । यो सरकारलाई असफल हुने छुट छैन, तर चार महिना भइसक्यो, संविधानको विषयमा छलफल नै सुरु भएको छैन । कसले रोकेको छ ? सरकारको ध्यान अहिले त्यता छैन ।’

उनले संविधान संशोधनको विषयमा अन्य दलसँग पनि छलफल गरेर सहमतिमा अघि बढ्नुपर्नेमा जोड दिए ।

शेखर पक्षले यो भेला राखेपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार कोशीका १४ वटै जिल्ला समितिलाई २२ गतेअघि पार्टीको कुनै कार्यक्रम नभएको पत्रसमेत पठाएका थिए ।

पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको वैधानिक प्रावधानअनुरूप सबै तहको सम्मेलन गर्ने प्रक्रिया प्रारम्भ भएको छ । पार्टीको जुन तहको कार्यसमिति हो, त्यस्तै त्यही तहभित्रकै कार्यक्रम आयोजना, समन्वय र नेतृत्व गर्ने वैधानिक व्यवस्था रहेको छ । यस क्रममा कोशी प्रदेशको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने गरी प्रदेश समितिको आयोजनामा कार्यक्रम निर्धारित छ ।’

शेखर पक्ष भन्छ- भेला विधानसम्मत

तर भेलामा सहभागी कांग्रेस नेता गुरुराज घिमिरेले पालिका सभापतिहरुको मागअनुसार नै पार्टीको विधानअनुसार नै भेला राखेको दाबी गरे ।

उनले भने, ‘पालिका सभापतिहरुले पहिलादेखि नै विधानमा हाम्रो अधिकारलाई न्यूनीकरण गरियो । पार्टीका आधारभूत संरचनाहरुलाई नेतृत्व गरेर बस्ने तह हो । योअन्तर्गत वडा र टोल कार्यसमिति हुन्छन् । वडाध्यक्षदेखि पालिका अध्यक्षसम्मको टिकट वितरण क्षेत्रीय कार्यसमितिले गर्छ । त्यसमा पनि हाम्रो भूमिका भएन । पालिकाको कुनै कार्यकारी अधिकार भएन भनेर भेला माग गरिराख्नुभएको थियो । त्यसैले यो भेला भएको हो ।’

उनले यस्ता भेला पार्टीमा अहिलेबाट मात्रै नभई सुशील कोइरालाको पालादेखि नै सुरु भएको स्मरण गरे ।

उनले थपे, ‘केन्द्रले आफ्नो अनुकूल हेरेरमात्रै अनुमति दिने परिपाटी छ । आयोजक मोरङ जिल्ला समिति हो । विराटनगर उपमहानगरसहित १७ वटा पालिका आयोजक हुन् । विधानको व्यवस्थाअनुसार नै पालिकाहरुले कार्यक्रम राखेका हुन् । केन्द्रले अनुमति दिएन भन्ने प्राविधिक विषय ल्याएर भेला वैधानिक होइन भन्न मिल्दैन । वैधानिक तहका साथीहरुले एक ठाउँमा जुटेर भेला भए, छलफल गरे, यहाँ अवैधानिकको कुरा कहाँबाट आयो ?’

केन्द्रीय कार्यालयका मुख्यसचिवले पत्र काटेको भए पनि कार्यक्रम नगर्न भन्ने कुनै निर्देशन नआएको उनको भनाइ छ ।

नेता घिमिरेले भने, ‘मुख्यसचिवले यसलाई लक्षित गर्दै विज्ञप्ति निकालेको भए पनि नगर्न भन्ने कुनै चिठ्ठी पनि आएको छैन, कुनै निर्देशन पनि आएको छैन । पार्टीको विधानमा गोष्ठी, भेला, प्रशिक्षण गर्न, भ्रमण आदानप्रदान गर्न, पार्टी हितको पक्षमा अभियान चलाउन विधानको धारा ९ ले स्पष्ट दिएको छ ।’

उनले भेलामा कोशीका १३६ मध्ये १३३ पालिकाका प्रमुख सहभागी भएको बताए ।

नेता घिमिरेले थपे, ‘महाधिवेशनको तयारीका लागि यस्ता भेलाहरु गिरिजाबाबु, सुशील दाइ, शेरबहादुर दाइले पनि गर्नुभएको थियो । अहिले शेखर दाइले पनि चलेकै चलन गर्नुभएको हो । विगतको निरन्तरता हो, नौलो कुरा होइन । अर्को यो भेलाको उद्देश्य भनेको महाधिवेशन निर्धारित समयमा गराउन पनि हो ।’

‘तीन वर्षमा पार्टी झन् अव्यवस्थित बन्यो’

१४औं महाधिवेशनपछिको तीन वर्षमा पार्टी झन् अव्यवस्थित बनेको शेखर निकट अर्का एक नेताले आरोप लगाए ।

ती नेताले भने, ‘अब महाधिवेशनको वर्षमा प्रवेश गर्दैछौं, तर महाधिवेशनको कुनै पूर्वाधार अहिलेसम्म बनेका छैनन् । क्रियाशील सदस्य वितरणदेखि नवीकरणको कुनै काम अहिलेसम्म प्रकाशन गरेको छैन । यसबाट पार्टी नेतृत्वले चार वर्षभित्र महाधिवेशन गर्दैन भन्ने प्रस्ट देखिएको छ । पार्टी नेतृत्वदेखि पार्टीका सबै भ्रातृ संस्थाहरु पनि अव्यवस्थित छन् । यो तीन वर्षमा पार्टी झन् अव्यवस्थित भएको छ ।’

नेतृत्वले निर्वाचन समयमा महाधिवेशन गर्न कुनै चासो नदिएको भन्दै शेखर कोइरालाले नेतृत्वको तयारी थालेको उनले बताए ।

ती नेताले थपे, ‘महाधिवेशन निर्धारित समयमा नै गराउन दबाब दिन भेला सातै प्रदेशमा हुँदैछ । हामीले तयारी गर्दैछौं, तर कहिले कहिले भन्ने टुंगिएको छैन । साथीहरुले भेला राख्छौं, आइदिनुपर्‍यो भनिराख्नुभएको छ । आगामी दुई महिनाभित्र सबै प्रदेशमा भेला भइसक्छ ।’

शेखरसँगै महामन्त्री गगन थापाले पनि नेतृत्वको तयारी थाल्दैगर्दा नयाँ समझदारी हुनसक्ने उनले दाबी गरे ।

ती नेताले भने, ‘नेतृत्वबारे सहमति र समझदारी अन्तिममा हुने हो । गगनजी संसदीय दलको नेता लड्दा एक पटक समझदारी भएको छ । त्यसमा विश्वप्रकाश र प्रदीपजी पनि आएर समर्थन गरेर अर्को खालको वातावरण बनेको थियो । त्यही समझदारीमा अघि बढ्छ कि नयाँ ध्रुवीकरण हुन्छ भन्ने अहिले भन्न सकिँदैन ।’

मुख्यसचिव भन्छन्- भेला विधानविपरीत

कोइराला पक्षले भेला विधानअनुसार नै राखेको भने पनि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भेला विधानविपरीत भएको दाबी गरे ।

उनले भने, ‘यो भेलाको विषयमा अब शीर्ष तहमा छलफल हुन्छ । मैले विधानभन्दा बाहिर कसैले केही गर्न मिल्दैन भनेर निकालेको हुँ । हिजो जुन भेला गरियो, त्यो विधानविपरीत हो । त्यसकारण मैले विधानविपरीत नभनी २२ गते कोशी प्रदेशको सम्मेलन हुँदैन । सोभन्दा अगाडि कुनै आधिकारिक पार्टीको कार्यक्रम नभएको जानकारी गराउँछु भन्ने सूचना निकालेको थिएँ ।’

पार्टीले विधानविपरीत भनेको भेला गर्ने बेलामा शेखर कोइरालाले पनि सोच्नुपर्ने उनको भनाइ छ ।

उनले थपे, ‘यो विषयमा शेखर दाइले पनि विचार गर्नुपर्थ्यो । उहाँ पार्टीको नेता हो । पार्टीको विधान शेखर दाइले मात्रै होइन, शेरबहादुर दाइ, गगनजी सबैले मान्नुपर्छ नि ! मैले त्यहीअनुसार विज्ञप्ति निकालेको हो ।’


प्रतिक्रिया

One thought on “केन्द्रको सर्कुलरविपरीत शक्ति जाँच गर्दै महाधिवेशनको दौडमा लम्किए शेखर

Leave a Reply

Your email address will not be published. Required fields are marked *