ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी
अमरगढी । काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताइन् ।
अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी हुन् ।
मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताइन् । सत्र वर्षको उमेरमा बिहे गर्नुभएकी उहाँले चार वर्ष धेरै सङ्घर्ष गरिन् । छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गरिन् । उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उहाँले बचत पनि गरिन् ।
श्रीमानले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै हुन्छिन् । सबै सामान आफैँले जुटाउँछिन् । अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ ।